बेगखोलामा पक्की पुल निर्माणको काम धमाधम

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । मुस्ताङसँग यातायातमार्फत काठमाडौंलगायत देशका विभिन्न ठाउँसँग जोड्ने एउटै मार्ग बेनी–जोमसोम सडकखण्डको बेगखोलामा पक्की पुल निर्माणको काम तीव्र रूपमा भइरहेको छ । जोमसोम-कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा मोटरेबल पुल निर्माणको कामले तीव्रता पाएको हो । पुल नहुँदा तीर्थयात्री, पर्यटक, उत्तरी म्याग्दी र मुस्ताङका स्थानीयवासी जोखिम लिएर यात्रा गर्न बाध्य थिए ।

सडक विभागमार्फत योजनाको ठेक्का लिएका निर्माण व्यवसायीले निर्धारित समयभन्दा अगावै योजना सम्पन्न गर्नेगरी निर्माण कार्यलाई गति दिएका हुन् । २०७३ साल भदौ १७ गतेको बाढीले बेगखोलामा रहेमो बेलिब्रिज र झोलुंगे पुलसहित बस्ती नै बगाएको थियो । खोलामा पक्की पुल नहुँदा म्याग्दीको उत्तरी भेगका स्थानीय र मुस्ताङको भ्रमणमा आउने पर्यटक, तिर्थयात्री र सर्वसाधारणहरूले वर्षातका समयमा आउने बाढीका कारण विगत ६ वर्षदेखि सास्ती भोग्दै आएका थिए ।

बेगखोखोलामा सडक विभागअन्तर्गत रहेको पुल महाशाखा काठमाडौंले ७० मिटर लामो र ११ मिटर चौडाइ भएको डबल स्पामको पुल निर्माण गर्न लागेको हो । विभागसँग बिओकेआई–हिमालयन जेभीलेसँग भ्याटसहित आठ करोड ३० लाख रुपैयाँमा २०७८ असार २९ गते ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौतालगत्तै ठेकेदार कम्पनी कार्यक्षेत्रमा खटिएर निर्माणमा जुटेको थियो । पुल निर्माणका लागि सम्झौता गरेको निर्माण कम्पनीले उल्लेख्य मात्रामा मजदुर र उपकरण परिचालन गरेर निर्माण कार्यलाई तीव्रता दिएको छ । योजनाको अनुगमन र सुपरिवेक्षणको जिम्मा पाएको पुल सेक्टर पोखराका इञ्जिनियर आशिक रिजालले तोकिएको समयभित्र पुल निर्माण सम्पन्न गर्न कार्यालयका तर्फबाट नियमित रूपमा निर्माण कम्पनीलाई ताकेता गरिएको बताउनुभयो ।

निर्माण कम्पनीले उपकरणसहित मजदुर जुटाएर पुल निर्माणलाई गति दिएका पाइएको उहाँले बताउनुभयो । वर्षातका समयमा बेगखोलामा पुल नहुँदा सर्वसाधरणहरूले निकै सास्ती र दुःख भोगेका कारण पुल समयमै सम्पन्न गर्न कार्यालयले प्राथमिकताका साथ काम गरेको उहाँको भनाइ छ । अहिलेसम्म करिब ४५ प्रतिशत भौतिक प्रगति भएको छ । पुलको जग बसाल्ने, वारिपारिका दुईवटा र बीचको गरी तीनवटा पिल्लर उठाइसकिएको इञ्जिनियर रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार अबको एक हप्ताभित्र पिल्लरमाथि क्याब निर्माण गरिनेछ । चालु आर्थिक वर्षभित्रै पुलको मुख्य संरचना निर्माण सक्नेगरी काम अगाडि बढाइएको इञ्जिनियर रिजालको भनाइ छ

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?