नेपालमा विदेशी संस्कृतिको प्रभुत्व बढाउने कुचेष्टा भइरहेको छ : प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा विदेशी संस्कृतिको प्रभुत्व बढीरहेको भन्दै दुःख व्यक्त गर्नुभएको छ ।

आईतवार तामाङ समुदायको पर्व ल्होछारको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विगतमा सामन्ती,एकात्मक र अधिनायकवादी शासनबाट नेपालभित्रै भएका जातजाति, भाषा, संस्कृतिमाथि दमन गर्ने एउटा प्रक्रिया चलेको र अहिले विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जगेर्ना हुन नदिने, प्रवद्र्धन हुन नदिने कुचेष्टा भइरहेको बताउनु भयो ।

उहाँले अहिले पनि सामन्ती, एकात्मक र हस्तक्षेपबिरुद्धको लडाईं जारी रहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले नेपालको राष्ट्रिय संस्कृतिको जगेर्ना गर्ने, ऐतिहासिक संस्कारलाई विकसित गर्ने दायित्व सबैको काँधमा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विगतमा एकातिर सामन्ती,एकात्मक र अधिनायकवादी शासनबाट नेपालभित्रै भएका जातजाति, भाषा, संस्कृतिमाथि दमन गर्ने एउटा प्रक्रिया चल्यो भने आजभोलि विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जगेर्ना हुन नदिने, प्रवद्र्धन हुन नदिने चेष्ठा भइरहेको छ । हामी एकातिर सामन्ती, एकात्मक र हस्तक्षेपबिरुद्धको लडाईं जारी छ भने वैदेशिक सांस्कृतिक हस्तक्षेपका कारणले पनि नयाँ परिस्थितिमा छौँ । त्यसकारण हामीले नेपालको राष्ट्रिय संस्कृतिको जगेर्ना गर्ने, हाम्रा ऐतिहासिक संस्कारलाई विकसित गर्ने दायित्व हामी सबैको काँधमा छ ।’

प्रधानमन्त्री दाहालले उत्पीडित जातिहरुलाई भाषिक, सांस्कृतिक र राजनीतिक अधिकार दिलाउन आफूहरुले ठूलो लडाईं गरेको बताउनु भयो । नेपालमा परिकल्पना गरिएको संघीयताको सही तरिकाबाट अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले माघ १५ गतेदेखि नेपाल टेलिभिजनबाट तामाङ भाषामा समाचार प्रशारण हुने बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?