औद्योगिकीकरणमा हेटौंडा कपडा उद्योगको देन, पुनर्सञ्चालनका चुनौती

Read Time = 29 mins

✍️ नारायणबहादुर गुरुङ

नेपाल सरकारले २०८०/०८१ को बजेटमा बन्द भएका उद्योगहरू पुनर्सञ्चालन गर्ने निर्णय गरेको छ । यस निर्णयमा २०५६ सालदेखि बन्द भएको हेटौंडा कपडा उद्योग पनि परेको रहेछ । यसअघि धेरै पटक पुनर्सञ्चालन गरिने भन्ने सुनिएको हो । यसै विषयलाई लिएर हेटौंडा कपडा उद्योगको परिचय, कपासदेखि धागो बनाउने, कपडा बुन्ने र ती कोरा कपडालाई कसरी प्रशोधन गरेर रंगीबिरंगी कपडा उत्तपादन गर्ने प्रविधि बारे संक्षिप्त जानकारी, नेपालको औद्योगिकीकरणमा यो उद्योगले खेलेको भूमिका र पुनर्सञ्चालनका चुनौती बारे केही लेख्ने प्रयास गरेको छु ।

एउटा देशमा रोजगारी सिर्जना गर्न, जनताको जीवनस्तर बढाउन, आर्थिक विकास गर्न र आधार वस्तुहरूमा आत्मनिर्भर हुनका लागि औद्यौगिक विकास अत्यावश्यक छ । कृषिप्रधान देश भनेर चिनिएको हाम्रो देश मलको बेलैमा आपूर्ति नभएको गुनासाहरू सुनिएको सुनियै छन् । खाध्य सुरक्षासँग जोडिएको कृषकप्रति देखिएको सरकारी उदासिनता उदेकलाग्दो छ । यस्तो अवस्थामा बन्द भएका उद्योगहरू पुनर्सञ्चालन गर्ने कुराले केही आशा देखाएको छ ।

(१) परिचय :

हेटौंडा कपडा उद्योग मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको आर्थिक प्राविधिक सहयोगमा स्थापना गरिदिएको एकीकृत कपडा उद्योग हो । २०३५/२०२३६ सालदेखि व्यावसायिक कपडा उत्पादान सुरु गरेको यो कारखाना चिनियाँ सरकार र जनताबाट नेपाल र नेपालीहरूको औद्योगिक विकासका लागि दिइएको अनुपम उपहार हो । त्यो समय चीन आफैं एकदम नराम्रो आर्थिक कठिनाइबीच गुज्रिरहेको अवस्थामा हामीजस्ता गरिब पिछिडिएका देशहरूलाई आफ्नै खुट्टामा उभिउन भन्ने उद्देश्य राखेर हामीबाहेक यस्ता कारखाना श्रीलंका, माली, सेनेगाल, अल्बानिया आदि देशहरूमा स्थापना गरिदिएका थिए । यी कारखानाहरूको भौतिक संरचना, मेसिनरीहरू अधिकांश चीनमा भएका कपडा उद्योगभन्दा नयाँ र अधुनिक थियो ।

बीस करोड रुपैयाँ लगानी गरेको यो कारखानामा पन्ध्र हजार स्पिन्डलको धागो बनाउने मेसिन, चार सय अड्चालीसवटा कपडा बुन्ने मसिन अटोमेटिक सटल बदल्ने लुमहरू छन् । गुणस्तरीय धागो बनाउन र त्यस्तै गुणस्तरीय कपडा बुन्न अनि प्रतिमेसिनको उतपादकत्व बढाउन तापक्रम र आर्द्रताले ठूलो प्रभाव पार्दछ । २२ डिग्रीको तापक्रम र ६५ प्रशितको आद्रर्ता एकदम अनुकूल मानिन्छ । त्यस कारण धागो बनाउने र कपडा बुन्ने यी भागलाई एकदम राम्रो सुन्दर चारैतिर बारिएको कारखाना घरभित्र राखिएको छ । आवश्यक तापक्रम र आद्र्राता कायम गर्न एअरकन्डिसनको व्यवस्था भएकाले कामदार र कर्मचारीलाई काम गर्ने आरामदायक वातावरण छ ।

यस कारखानामा तीन किसिमका कपडाहरू सर्टिङ, सिटिङ र ड्रिल बनाइन्छ । सर्टिङ र सिटिङका कोरा कपडालाई प्रशोधन गरेर सेतो, रंगीचंगी र बुट्टे तयारी कपडा बनाइन्छ जसलाई लुगादेखि तन्ना, पर्दा विभिन्न रूपमा प्रयोग गर्न सकिन्छ ।

धागो बनाउने मेसिनलाई स्पिनिङ मेसिन भनिन्छ जसमा दुईपट्टि गरेर ५०४ वटा स्पिन्डल हुन्छन् । प्रत्येक स्पिन्डल एक मिनटमा १५ हजार फन्का मार्छन् । यो भनेको हाम्रो परम्परागत चर्खामा धागो कात्ने एकजना सिल्पीको पाँच सय चारगुणा हो भने स्पिड त कैयौं गुणा बढी हो । यो मेसिनमात्र भएर धागो बनाउन सकिँदैन यसभन्दा अगाडि तीनदेखि चार भिन्न प्रकारका मेसिन हुने गर्दछन् । कपडा बुन्ने लुमभन्दा अघिपछि अरू मेसिन हुनेगर्दछन् । कारखानाको डिजाइन गर्दा तीन सिफ्टले वर्षमा एक करोड २० लाख मिटर कपडा उत्पादन गर्नु हो ।

यस कारखानामा तीन किसिमका कपडा सर्टिङ, सिटिङ र ड्रिल बनाइन्छ । सर्टिङ र सिटिङका कोरा कपडालाई प्रशोधन गरेर सेतो, रंगीचंगी र बुट्टे तयारी कपडा बनाइन्छ जसलाई लुगादेखि तन्ना, पर्दा विभिन्न रूपमा प्रयोग गर्न सकिन्छ । कोरा ड्रिल कपडालाई पनि प्रशोधन गरेर सेतो, रंगीचंगी र बुट्टे तयारी कपडा बनाइन्छ । यो मुख्य रूपमा पाइन्ट, सुरक्षाकर्मीहरूको बर्दी बनाउन प्रयोग गरिन्छ । सेनाले प्रयोग गर्ने हरियो खाकी र क्यामा फ्लोज यसै ड्रिलबाट तयार गरिन्छ । धागो बनाउने विभागलाई स्पिनिङ डिपार्टमेन्ट र कपडा बुन्ने विभागलाई विभिङ डिपार्टमेन्ट भनिन्छ ।

कोरा कपडालाई प्रशोधन गरेर सेतो, रंगीबिरंगी, बुट्टा बनाउन प्रविधिलाई वेट प्रोसेसिङ पनि भन्निन्छ डाइङ प्रिन्टिङबाहेक । यसका लागि प्रशास्त चिसो, तातो पानी, विभिन्न किसिमका केमिकल, रंगहरूको आवश्यकता पर्छ । विभिन्न किसिमका प्रोसेसिङका लागि भिन्नभिन्न किसिमका मेसिन भएको एउटा छुट्टै कारखाना घर जसलाई डायिङ एण्ड प्रिन्टिङ डिपार्टमेन्ट भनिन्छ जुल मूल कारखानाभन्दा केही तल छ । सामान ओसारपसार गर्दा सजिलाका लागि खोलाजस्तै एकतर्फी बग्ने सिद्धान्त अनुसार यो पुछारमा बनाइएको छ । विभिन्न प्रशोधनलाई चाहिने तातो पानीका लागि र प्रशोधित कपडालाई सुकाउनका लागि एउटा ठूलो ब्वाइलर छ ।

ब्वाइलरमा पानीलाई बाफ बनाएर पाइपहरूबाट ती मेसिनमा पुर्‍याइन्छ । यो ब्वाइलर चलाउन हवाईजहाजलाई चाहिने इन्धन एभिएसन ग्यास चाहिन्छ । कपडा प्रशोधन गरेर निस्केको पानीमा वातावरणलाई र प्राणीलाई हानी गर्ने रसायन हुने गर्दछन् । त्यसैले विनाट्रिटमेन्ट गरेर त्यतिकै त्यो पानी फाल्न मिल्दैन । त्यतिबेला बस्ती कम भएकाले सोझै कर्रा खोलामा जान्थ्यो र राप्ती नदीमा मिसिन्थ्यो । कपडा उद्योगभन्दा माथि छाला कारखाना छ जसबाट निस्कने पोहोर पानी अझै दूषित हुनेगर्छ । केही वर्षअघि त्यसरी निस्कने फोहोर पानीलाई प्रशोधन गर्न वाटर ट्रिटमेन्ट प्लान्ट बनाइएको छ ।

माथि वर्णन गरिएका तीनवटा विभाग उत्पादन विभाग हुन् । त्यसबाहेक उतपादनमा सहयोग पु¥याउने अन्य भौतिक संरचना र औजारको राम्रो बन्दोबस्त छ । कर्रा खोलाबाट तानिएको पानी बोइलर र कपडा प्रशोधनका लागि सोझै प्रयोग गर्न मिल्दैन । त्यसलाई प्रशोधन गर्ने वाटर ट्रिटमेन्ट प्लान्ट, पार्टपुर्जा मर्मत गर्न अधुनिक वर्कसप, कपास गोदाम, तयारी कपडा गोदाम, रंग र केमिकल राख्ने गोदाम, कास्टिक सोडा प्लान्ट, विद्युत् स्टेसन, प्रशासनिक भवन सबै त्यही बीस करोडको लगानीभित्र चिनियाँबाट निर्माण गरिएका हुन् ।

अधिकांश उच्च प्राविधिकले चीन सरकारको छात्रावृत्तिमा चीनमा अध्यन गरेका हुन् । मझौला प्राविधिक, मेकानिक्स, मजदुरलाई कारखानामै चिनियाँबाट तालिम गराइएको थियो । धागो बनाउन चाहिने कपास आपूर्तिका लागि व्यावसायिक रूपले कपासखेती गर्न चिनियाँ सहयोगबाट नेपालगञ्जमा सरकारी स्वामित्व भएको कपास विकास केन्द्रको स्थापना गरेर खेती पनि गरिएको थियो । वार्षिक २ हजार ६ सय टन कपासको सानो हिस्सामात्र त्यहाँबाट आपूर्ति हुन्थ्यो त्यसैले भारत र पाकिस्तानबाट कपास आयात गर्नुपथ्र्यो । बेला–बेला कपास आयातमा भारतको अडचन पनि सहनुपथ्र्यो ।

हेटौंडा कपडा उद्योग नेपाल सरकारको पूर्णस्वामित्व भएको ‘क’ वर्गको संस्था हो । धागो बनाउनेदेखि कपडा बनाउने र त्यसलाई प्रशोधन गरी रंग्याउने छपाउने एउटै कम्पाउण्डभित्र पूरा गर्ने यस्तो कारखाना नेपालको पहिलो र एकमात्र कारखाना हो । नेपालमा अति पहिलेदेखि नै कपास, भेडाका ऊन र अल्लोबाट महिलाहरूले घरघरमा कपडा, राडी कम्बल बुन्दै आएका छन् । पहाडतिर गुरुङ महिलाले जंगली वनस्पति अल्लोको बोक्राबाट धागो बाटेर गुरुङ पुरुषको परम्परागत भेषभूषामा प्रयोग हुने भाङ्ग्रा र ऊनबाट हातैले धागो कातेर कपडाहरू, राडीपाखी बुन्थे र यो चलन फाट्टफुट्टा अझै छ ।

काठामाडौंका नेवारहरूले कपासबाट सुती धागो कात्ने, कपडा बुन्ने, रंगाई छपाइ गर्थे । घरेलु लुम आएपछि ढाकाको टोपी, पश्मिना पनि घरेलु उद्योगको रूपमा अघि बढ्यो । त्यसपछि केही उद्यमीहरूले केही थानदेखि ६०/७० वटा आधुनिक पुराना सटल लुमहरूमा आयत गरेको सुती धागोबाट कपडा बुन्न सुरु गरे । कतिपय त्यस्ता कारखानामा काम गर्ने दक्ष मजदुर भारतबाटै काम चलाउँथे । नेपालीहरूले रोजगारी पाउने सीप सिक्ने मौका पाउँदैनथे ।

विराटनगरको रघुपति जुटमिल र विराटनगर जुटमिलमा सनपाटबाट जुटका बोरा बनाउन मेसिनबाट जुटको धागो बनाउन थाले पनि कपासबाट सुतीको धागो बनाउने कारखाना हेटौंडा कपडा पहिलो हो । त्यसपछि निजीक्षेत्रमा सिमरामा ज्योति स्पिनिङ र पछि बुटवल धागो कारखाना स्थापना भयो । मेसिनमा आधुनिक प्रविधिबाट कपडा प्रशोधन गर्ने, रंग्याउने, छपाउने पनि हेटौंडा कपडा उद्योग पहिलो हो । यसअघि सबै हातैले गरिने गरिन्थ्यो । कपडा बुन्न र प्रशोधन गर्ने कारखाना सानो, थोरै लगानीले पनि स्थापना गर्न सकिन्छ तर धागो कारखाना सानो र थोरै लगानीले स्थापना गर्न सकिँदैन । हेटौंडा कपडाको धागो बनाउने विभाग मझौला र सानो स्केलको बीचतिर पर्छ ।

(२) कपडा बनाउने प्रविधिबारे संक्षिप्त जानाकारी :
कपासबाट कसरी सुती धागो बनाइन्छ, कपडा कसरी बुनिन्छ र ती कपडालाई कसरी रंगीबिरंगी, बुट्टेदार बनाइन्छ भन्ने बारे संक्षिप्त वर्णन गर्नु सान्दर्भिक होला । कपास सुती कपडाको कच्चा पदार्थ हो । यो प्राकृतिक वनस्पति हो । यसबाट बनेका लुगाहरू पसिना सोस्न सक्ने गुण भएकाले आरामदायी हुन्छन् । यो बोटमा सेतो गुच्छाको रूपमा फुल्छ । कपासको बोट न देखेका जर्मनहरूले रूखमा उम्रने ऊन भन्ठानेका रहेछन् र कपासलाई जर्मन भाषामा अहिले पनि रूखमा उम्रने ऊन भनेर नामाकरण गरेका छन् । हात वा मेसिनबाट टिपिएको कपासलाई बियाँ, पात पतिंगरबाट अलग गर्न प्रारम्भिक प्रशोधन गरिन्छ जसलाई जिनिङ भनिन्छ । त्यसरी प्रशोधित कपासलाई कसेर ठूलठूला ढुंगाजस्तो सारो, गरुंगो भारी बनाएर धागो कारखानालाई बेच्छ ।

त्यो कपासको भारी धागो कारखानामा पुगेपछि ढुंगाजस्तो सारो र जोगीको लट्टा जस्तो जेल्टिएर बसेको कपासलाई विभिन्न मसिनको समूहबाट खुकुलो पार्ने, त्यहाँ बाँकी भएको बिउहरू, पात पतिंगरहरू हाटाउने, मिसाउने गरेर त्यसभन्दा पछाडिको प्रशोधनका लागि ल्याप तयार गरिन्छ । यसलाई स्कचिङ, ब्लोइङ भनिन्छ । त्यसपछि काँडैकाँडा भएको कार्डिङ मेसिनमा लगेर कोरिन्छ । बाँकी भएको फोहोर मैला, ससाना भुवालाई कोरेर फालिन्छ र महिलाको चुल्टोजस्तो लहरा बनाइन्छ । यहाँ कपास कोरेसा सोझिन्छन् र एकैपट्टि फर्किन्छ । यसलाई स्लाइभर भनिन्छ र ठूला ड्रमहरूमा जम्मा गरिन्छ ।

त्यसपछि ६ देखि आठवटा यस्ता स्लाइबर लाइड्रइन्ङ मसिनमा लगेर तन्काई एउटै लहरा बनाइन्छ । यसो गर्दा धागो मोटो मसिनो एक्नास बन्न जान्छ । अलि उच्चस्तरको कपडा बनाउने हो भने यो मेसिनभन्दा अगाडि कम्बिङ मेसिनबाट प्रशोधित गर्ने गरिन्छ । हेटौंडामा यो प्रक्रिया गरिँदैन । हेटौंडामा उत्पादित सुती धागोलाई कार्डेडयार्न भनिन्छ । अघि तन्काएको स्लाइबरलाई रोबिङ मेसिनमा लगेर तन्काएर अलि मसिनो बनाइन्छ र ठूलो बबिनमा बेरिन्छ । त्यो बबिन जसलाई रोभ भनिन्छ यसलाई धागो बनाउने स्पिनिङ मेसिनमा लगेर आफूले चाहे अनुसारको मोटो, मसिनो धागो बनाइन्छ । यो मेसिनमा धागो बनाउने प्रक्रिया हाम्रो हातले बनाएजस्तै तन्काउने, बटार्ने र त्यसरी बनेको धागोलाई बबिनमा बेर्ने हो ।

एउटा बबिनमा १२० ग्रामदेखि २ सय ग्राम धागो बेरिन्छ । तयारी भएको धागो बेच्नलाई लक्षी बनाउने मेसिनमा पठाइन्छ भने कपडा बुन्न तानका लागि प्रयोग हुने धागोलाई वाइन्डिङ मेसिनमा लगेर ठूलो कोन बनाइन्छ । तानमा लगाउने धागोलाई वार्फर बानापट्टि प्रयोग हुने धागोलाई वेफ्ट भनिन्छ । यसको बबिन अलि सानो हुन्छ र सोझै लुममा पठाइन्छ । हेटौंडामा एकजना दक्ष महिला मजदुरले दुईवटा मेसिन चलाउँथे अर्थात् १,००८ वटा स्पिन्डल एक्लै हेर्थे । हातले धागो कातेको भन्दा हजारौं गुणा धेरै ।

कपडा बुन्न तानका लागि बिम बनाइन्छ । एउटा तानका लागि चारदेखि ६ वटा बिम मिसाएर बन्छ । बिम बनाउने मसिनलाई वार्पिङ भनिन्छ । कपडा बुन्दा निकै बल प्रयोग हुन्छ र बुन्ने क्रममा नछिनोस् भनेर चंगामा माँड लगाएजस्तै साइजिङ मेसिनमा लगेर माँड लगाएर, सुकिसकेको धागोलाई तानका लागि बिम बनाइन्छ, झाँपर काँइयोमा डिजाइन अनुसार धागो छिराएपछि लुममा चडाइन्छ । एउटा लुमले २.५ देखि पाँच मिटर कपडा प्रतिघण्टा बुन्छ । अटोमेटिकस टललुम भएकोले एकजना महिला कामदारले एक्लै १६ देखि २४ वटा लुम हेर्न सक्छन् । हेटौंडामा अधिकांशले १६ वटा लुम हेर्न सक्ने दक्षता भएका कामदार थिए भने एक-दुईजना २४ वटा पनि हेर्न सक्थे ।

लुममा बुनेको कपडाको एकरोलमा ४० देखि ६० मिटर हुनेगर्छ । त्यसलाई इन्सपेक्सन गरेर मर्मत गर्नुपरे गरेपछि एबिसि ग्रेडमा छुट्याइन्छ । कोरा कपडालाई प्रशोधन गर्न रंगाई छपाइ विभागमा पुगेको कपडाका थानलाई सिलाउने मेसिनले गाँसे र चारवटा ग्यासको ज्वालाबाट सिनजिङ गर्न प्रतिमिनेट ६० मिटरको दरले दौडाइन्छ, त्यसपछि डिसाइजिङ गर्न माँड पखाल्ने, पहाडतिर खरानीले लुगा धोए जस्तै स्काउरिङ गर्ने अनि क्लोरिनबाट ब्लिचिङ गरेर सेतो पारिन्छ । यो सबै काम लगातार गरिन्छ । सुतीको कपडालाई रेशमको कपडाको जस्तो चमक दिन कास्टिक सोडामा डुबाएर थिचेर, तन्काएर, धोएर मर्सराइजिङ गरिन्छ ।

यो काम एक मिनेटमा ४० देखि ५० मिटरका दरले लगातर गरिन्छ । यसरी तयार भएको कपडालाई रंग्याउन छपाउन प्रयोग गरिन्छ । रंग्याउने बिधि पनि तीन किसिमका छन् रंग हेरिहेरी । कुनै-कुनै रंग लगातार हजारौं मिटर रंग्याउन मिल्छ भने कुनै रंग एक पटकमा ४०० देखि ६ सय मिटर करिब साढे तीन घण्टा लगाएर रंग्याइन्छ । आखिरमा फिनिसिङ गरेर पट्याएर भारी बनाएपछि बिक्रीवितरणका लागि तयारी कपडा बन्छ ।

(३) औद्योगिक विकासमा देन :
हेटौंडा कपडा उद्योगमा मजदुर र कर्मचारी गरेर करिब १२ सय जनाले रोजगारी पाएका थियो । तीमध्ये झण्डै ७० प्रतिशत महिला थिए । दिनरात तीन सिफ्टमा चल्दा कुनै अप्रिय घटना घटेन । मजदुरका लागि सेवासुविधा अरू कारखानाको भन्दा राम्रो थियो । मेकानिक्सदेखि अपरेटर, मझौला प्राविधिक सबै दक्षजनशक्ति यहीँबाट उत्पादित भएका हुँदा ज्योति स्पिनिङ र बुटवल धागो कारखानालाई दक्ष जनशक्ति आपूर्ति गर्न सजिलो भयो । ठूलठूला कपडा कारखानाका लागि बाटो खुल्यो । यहाँबाट उत्पादित गुणस्तरीय कपडा नेपालको साथसाथै सिमाना नजिकका भारतीय बजारमा उतिकै रुचाइए । स्वदेशमै गुणस्तरीय धागाको उपलब्धताले थोरै लुम राखेर कपडा बुन्न चाहने उद्यमीलाई सजिलो भयो ।

धागो बनाउन चाहिने कपास आपूर्तिका लागि व्यावसायिक रूपले कपासखेती गर्न चिनियाँ सहयोगबाट नेपालगञ्जमा सरकारी स्वामित्व भएको कपास विकास केन्द्रको स्थापना गरेर खेती पनि गरिएको थियो । वार्षिक २ हजार ६ सय टन कपासको हिस्सामात्र त्यहाँबाट आपूर्ति हुन्थ्यो ।

हेटौंडा कपडा उद्योगले सुरुको केही वर्ष लोडसेडिङको सामना गर्नुपर्‍यो । झ्यापझ्याप गइरहने बिजुलीले उत्पादन र गुणस्तरमा असर पर्‍यो । कमसलको प्रतिशत बढायो । जसका कारण अनावश्यक उत्पादन खर्च बढ्यो ।

(४) पुनर्सञ्चालनका चुनौती :
करिब २४ वर्ष बन्द भएको कारखाना पुनर्सञ्चालनको कुरा सुनिएको छ । त्यसका लागि केकस्तो तयारी भएको छ पंक्तिकार अनभिज्ञ छ । अनुभवको आधारमा आइपर्ने चुनौती बारे उल्लेख गर्नु सान्दर्भिक हुन्छ । अहिले भूराजनीतिकको कारण सप्लाई चेन बारे निकै चर्चा परिचर्चा सुनिन्छ । एउटा उद्योग सञ्चलन गर्न पनि सप्लाई चेनसँग जोडिएको हुन्छ । राम्रोसँग उद्योग चलाउन त्यससँग सम्बन्धित त्यहीको सिस्टम आवश्यकता पर्छ यसलाई सप्लाई चेन पनि भनिन्छ । यो उद्योग स्थापना गर्दा त्यस्ता सिस्टम निर्माण गरिएको थियो ।

त्यसलाई नै विकास गर्न सकिएको भए कतिपय सामान आपूर्ति गर्ने ससाना अरू उद्योगहरू पनि बढ्थे । यसरी एउटा प्रमुख उद्योगले अरू उद्योग बढाउन मद्धत पुग्थ्यो । अहिले त्यो इकोसिस्टम ध्वस्त भइसकेको छ । जनशक्ति, कच्चा पदार्थ कपासको आपूर्ति, पार्टपुर्जाको आपूर्ति, रंग, केमिकलहरूको आपूर्ति, सहायक कच्चा पदार्थ स्टार्च, एभिसन ओइल, नुन, तेल आदिको आपूर्ति बारे के तयारी छ ? लाग्छ हामीसँग अदक्ष जनशक्तिबाहेक केही छैन । जे जति जनशक्ति थिए ती थोरैमा ५५ वर्ष नाघिसकेका होलान् । अरू सबै आयत गर्नुपर्ने हुन्छ ।

बीसौं वर्ष नचलाइएका मेसिनलाई मर्मत सम्भार गर्ने जनशक्ति नै छैन भने हुन्छ । हामी कहाँ स्वदेशमै कच्चा पदार्थ पाइने, मेसिन थोरै, प्रविधि पनि तुलानात्मक रूपले सजिलो, मजदुर कर्मचारी संख्या कम चाहिने चिनी उद्योग, चुरोट उद्योग, कागज उद्योग सञ्चालन गर्न नसकेको बेला कपडा उद्योग चलाउन निकै चुनौतीपूर्ण देखिन्छ । के कति र कसले लगानी गर्ने हो र कसरी सञ्चालन गर्ने भन्ने बारे पनि के कति सोचिएको छ ?

मेसिनहरू राम्रो भएको, २३५ वटा सिलाउने मसिन राम्रो भएको, २० करोड रुपैयाँ लगानी गर्नुपर्ने, मेसिन किन्नुपर्ने र ६ महिनाभित्र सञ्चालन गर्न सकिने सिफारिश पुनर्सञ्चालन समितिले गरेको छ । सञ्चालनको जिम्मा सुरक्षा निकाय सेना, शसस्त्र प्रहरी, प्रहरीलाई दिने वा सेनालाई दिने भनेर नेपाल सरकारलाई सिफारिश गरिएको रहेछ ।

सरोकारवाला मन्त्रालयको उच्च पदीय अधिकृतको नेतृत्वमा तयार पारिएको प्रतिवेदन हेर्दा स्थलगत निरीक्षणविना अफिसमा त्यतिकै तयार पारिएको जस्तो लाग्छ । एकातिर सबै मसिनहरू ठीक भनेको छ भने २३५ वटा सिलाउने मसिन भनेको छ । कपडा उद्योगमा कहाँबाट आयो सिलाउने मसिनको कुरा । ती त गार्मेन्ट फ्याक्ट्रीमा प्रयोग गरिने मसिन हुन् । अर्को बजेटको कुरा गर्दा मसिनहरू किन्नका लागि भनेका छन् । सबै मसिन राम्रो अवस्थामा भएको भए त्यो नयाँ मेसिन किन्नु किन पर्‍यो ?

कलकारखाना उद्योग वाणिज्यको अंग हुन् र उद्योग वाणिज्य मन्त्रालय यसको नेतृत्वदायी सरकारी अंग हो । उद्योगको काम बजारलाई आवश्यक पर्ने वस्तुहरू उत्पादन गरेर बेच्नु हो नाफा कमाउनु हो । कसरी राष्ट्रिय सुरक्षा हेर्ने, आन्तरिक सुरक्षा हेर्ने अंगलाई सञ्चालन गर्न गरेको सिफारिस उदेक लाग्दो मात्र होइन गैरजिम्मेवारीको नमुना हो । त्यहाँबाट उत्पादित हुने कपडा सुरक्षाकर्मीको बर्दीलाई काम लाग्ने भएको भनेर भनिएको होला ।

सुरक्षाकर्मीको बर्दीमा प्रयोग हुने कपडाको उत्पादनले केबल १७ प्रतिशत ओगट्छ । अरू कपडाको बिक्रीवितरणामा सुरक्षाकर्मी लाग्ने कि देशको सुरक्षामा खटिने ? प्रश्न उठछ । मन्त्री, नेता, कर्मचारीहरूको यस्तो गैरजिम्मेवारीपन र गम्भिरताविहीन कार्यशैली देख्दा बन्द भएको उद्योग फेरि सञ्चालनमा आउन सक्नेमा शंका उठ्छ । देश हाँक्ने र जिम्मेवार पदमा बसेकाको चाला देख्दा तलको संस्कृतको श्लोकको

सम्झना भयो :
चिन्तनीया हि विपदाम् आदावेव प्रतिक्रियाः
न कूपखननं युक्तं प्रदीप्ते वहिृनना गृहे ।।
कुनै बिपत्ति आउनुअघि नै तयार भएर बस्नुपर्छ समस्या समाधान गरिनुपर्छ । बिपत्ति आइसकेपछि समाधान खोज्नुभनेको घरमा आगो लागिसकेपछि कुवा खन्नुसरह हो । हामीकहाँ जताततै घरमा आगो लागिसकेपछि कुवा खन्न लागेको जस्तो देखिन्छ । आशा छ यसपल्ट यसो नहोस् । (लेखक इन्जिनियर हुनुहुन्छ जो हाल चीनको संघाईमा बस्नुहुन्छ ।)

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Santa Kumar Gurug
Santa Kumar Gurug
2023-07-13 10:48 am

Nepal Army, Police and all Government and semi government, schools, colleges must compulsorily by fabrics from this factory always

रिलेटेड न्युज

छुटाउनुभयो कि ?