रुपन्देहीमा १० काँग्रेस ३ एमाले १ जसपा, १ लोसपा र १ जनता प्रगतिशिल बिजयी

Read Time = 5 mins

-चन्द्रकान्त खनाल
रुपन्देही । १६ पालिका (स्थानीय तह) रहेको रुपन्देहीमा दशवटा पालिकाको प्रमुख पद नेपाली काँग्रेसले जितेको छ । त्यस्तै एमालेले तीन वटा तथा जसपा, लोसपा र जनता प्रगतिशिल पार्टीले एकएक पालिका जितेका छन् । पाँच दलीय गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) रुपन्देहीमा शुन्य भए ।

एक उपमहानगरपालिका र ५ नगरपालिका रहेको रुपन्देही जिल्लाका बुटवल उपमहानगरपालिका सहित तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका गरी पाँचवटा नगरपालिका काँग्रेसले जितेको छ ।
मेयरमा काँग्रेसले जितेका पाँचवटै नगरपालिकाको उपमेयरमा भने एमाले उम्मेदवार विजयी भएका छन् । त्यसबाहेक नेपाली काँग्रेसले सुद्धोधन, सियारी, कञ्चन, सम्मरीमाई र मायादेवी गाउँपालिका जितेको हो ।

एमालेले देवदह नगरपालिका, ओमसतीया र गैडहवा गाउँपालिका जितेको छ । एक/एक पालिका जितेका जनता समाजवादी पार्टी (जसपा)ले रोहिणी गाउँपालिका, जनता प्रगतिशिल पार्टीले मर्चवारी गाउँपालिका र लोकतान्त्रिक समाजवादी पार्टीले कोटहीमाई गाउँपालिका जितेको हो ।
काँग्रेसले जितेको बुटवल उपमहानगरपालिकाको मेयरमा खेलराज पाण्डेय र उपमेयरमा एमालेकी साबित्रा अर्याल, तिलोत्तमा नगरपालिकाको मेयरमा रामकृष्ण खाँण र एमालेकी जागेश्वरीदेवी चौधरी, सैनामैना नगरपालिकामा फाणेन्द्र शर्मा र उपमेयरमा एमालेकी विना राना, सिद्धार्थनगर नगरपालिकाको मेयरमा ईस्तियाक अहमद खान र उपमेयरमा एमालेकी उमा अधिकारी तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा सजरुद्धिन मुसलमान र उपमेयरमा एमालेकी कल्पना हरिजन निर्वाचित हुनु भएको छ ।

त्यस्तैगरी काँग्रेसले जितेका गाउँपालिकाहरु सुद्धोधन गाउँपालिकाको अध्यक्षमा विष्णुप्रसाद बस्याल र उपाध्यक्षमा एमालेकी शान्तादेवी चौधरी, सियारी गाउँपालिकाको अध्यक्षमा थानेश्वर घिमिरे र उपाध्यक्षमा पनि काँग्रेसकै तारा थारु, कञ्चन गाउँपालिकामा नवराज ढकाल र उपाध्यक्षमा काँग्रेसकै मौषमी थापा, सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा विनोदप्रसाद श्रीवास्तव र उपाध्यक्षमा काँग्रेसकै कुमारी प्रियंका शाही तथा मायादेवी गाउँपालिकाको अध्यक्षमा नारायण चौधरी र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीकी नर्वदादेवी उपाध्यायमा निर्वाचित हुनु भएको छ ।

त्यस्तै एमालेले जितेको देवदह नगरपालिकाको मेयरमा र उपमेयरमा पनि एमालेकै विद्यालक्ष्मी गुरुङ, ओमसतीया गाउँपालिकाको अध्यक्षमा मञ्जितकुमार यादव र उपाध्यक्षमा काँग्रेसकी सुनिता चौधरी तथा गैडहवा गाउँपालिकाको अध्यक्षमा सुरेन्द्र पौड्याल र उपाध्यक्षमा एमालेकै माधुरी जैसवाल विजयी हुनु भएको छ ।

रोहिणी गाउँपालिका जितेको जनता समाजवादी पार्टीबाट अध्यक्षमा विद्याप्रसाद यादव र उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी शिवकान्ती चमार, मर्चवारी गाउँपालिका जितेको जनता प्रगतिशिल पार्टीबाट अध्यक्षमा गयाप्रसाद बरई र उपाध्यक्षमा सोही पार्टीकी आशा सिंह तथा कोटहीमाई गाउँपालिका जितेको लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्षमा बालकृष्ण त्रिपाठी र उपाध्यक्षमा सोही पार्टीकी सुशिलाकुमारी यादव विजयी हुनुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?