22nd September | 2018 | Saturday | 6:28:26 PM

विश्वकप फुटबल आजदेखि

हिमालय टाइम्स   POSTED ON : Thursday, 14 June, 2018 (5:44:26 PM)

विश्वकप फुटबल आजदेखि

काठमाडौं । विश्व फुटबलको कुम्भमेला ‘फिफा विश्वकप’ को २१औं संस्करण आज रसियामा सुरु हुँदैछ । मस्कोको लुजनिकी स्टेडियममा नेपाली समयानुसार बेलुका सवा ८ बजे विश्वकप प्रतियोगिता उद्घाटन हुनेछ । दुई नयाँ देशसहित ३२ राष्ट्र यसपटकको विश्वकपमा सहभागी हुँदैछन् । पानामा र आइसल्यान्ड पहिलोपटक विश्वकपमा सहभागी हुन लागेका हुन् । 

आगामी जुलाई १५ सम्म चल्ने प्रतियोगितामा सहभागी टोलीहरूलाई ८ वटा समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा चार टोली छन् । बिहीबार प्रतियोगिताको पहिलो खेलअन्तर्गत समूह ‘ए’ का रसिया र साउदी अरेबिया प्रतिस्पर्धामा उत्रिँदैछन् । उक्त खेल नेपाली समयानुसार राति ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

उद्घाटन समारोहमा बेलायतका गायक रोबी विलियम्सको विशेष प्रस्तुति रहने छ । उनलाई रसियाकी गायिका सोप्रानो अइडा गारिफुलिनाले साथ दिने भएकी छिन् ।

सन् १९३० मा सुरु भएको विश्वकप हालसम्म ८ वटा देशले मात्रै जितेका छन् । ब्राजिलले अहिलेसम्म सबैभन्दा बढी पाँच पटक विश्वकपको उपाधि जितेको छ । यस्तै जर्मनीले चार पटक, अर्जेन्टिना र उरुग्वेले दुई–दुई पटक विश्वकप जितेका छन् । फ्रान्स, इंग्ल्यान्ड र स्पेनले एक–एक पटक विश्वकपको उपाधि हात पारेका छन् । 

यसपटक विश्वकपको मुख्य उपाधि दाबेदार टोलीका रूपमा ब्राजिल, जर्मनी, अर्जेन्टिना, फ्रान्स र स्पेनलाई लिइएको छ । जर्मनी अघिल्लो विश्वकपको विजेता हो भने अर्जेन्टिना उपविजेता हो । यस्तै ब्राजिल अघिल्लो संस्करणको सेमिफाइनलबाट बाहिरिएको थियो । स्पेनले २०१० को विश्वकप जिते पनि उसको प्रदर्शन २०१४ मा भने सम्झनलायक रहेन । 

यस विश्वकपमा सबैको ध्यान खिच्ने खेलाडीमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका लियोनल मेस्सी, ब्राजिलका नेमार, जर्मनीका थोमस मुलर र इजिप्टका मोहम्मद सलाह छन् । रोनाल्डो र मेस्सी पाँचपटक विश्वका सर्वोत्कृष्ट खेलाडी भइसकेका हुन् । नेमार विश्वकै सबैभन्दा महँगा खेलाडी हुन् भने मुलर २०१० को विश्वकपका गोल्डन बुट विजेता हुन् । यस्तै सलाह यस सिजनमा अफ्रिका र प्रिमियर लिगका उत्कृष्ट खेलाडी चुनिएका थिए ।

फिफाले प्रत्येक वर्षको विश्वकपमा आफ्नो २११ वटै सदस्य राष्ट्रलाई छनोटको मौका दिने गर्छ । नेपालले भने अहिलेसम्म ७ पटक विश्वकपको छनोट खेले पनि पहिलो चरणबाट बाहिँरिदै आएको छ । नेपाल पहिलोपटक सन् १९८६ मा विश्वकप छनोटमा प्रतियोगितामा सहभागी भएको थियो । 

यस वर्षका विश्वकपको छनोटको पहिलो लेगमा नेपाल भारतसँग २–० ले पराजित भएको थियो भने दोस्रो लेगमा गोलरहित बराबरी खेलेको थियो । 


Views: 0