19th December | 2018 | Wednesday | 1:13:10 AM

पुलिसलाई पराजित गर्दै संकटा दोस्रोमा उक्लियो

हिमालय टाइम्स   POSTED ON : Wednesday, 05 December, 2018 (2:05:19 PM)

पुलिसलाई पराजित गर्दै संकटा दोस्रोमा उक्लियो

काठमाडौं । नेपाल पुलिस क्लबलाई पराजित गर्दै संकटा क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा संकटाले पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो । 

संकटाको जितमा सरोज दाहाल र दिपेश खाले मगरले गोल गरेका थिए । खेलको २९औं मिनेटमा सरोजले लक्ष्मण रुचालको कर्नरमा सुरुवाती अग्रता दिलाएका थिए भने ३७औं मिनेटमादिपेश आले संकटाको अग्रता दोब्बर पारेका थिए । लगत्तै पुलिसका अभिषेक रिजालको पासमा रवी पासवानले पेनाल्टी एरियाबाट गोल गर्दै हारअन्तर घटाएका थिए । 

६ खेल खेलिसक्दा संकटा लिगमा पाँचौं जित दर्ता गर्दै १५ अंकसहित दोस्रो स्थानमा उक्लिएको हो । शीर्षको मनाङसँग बराबरी अंक भए पनि गोलअन्तरका आधारमा संकटा दोस्रो स्थानमा छ । पुलिसको भने ६ खेलमा ३ जित, १ बराबर र २ हारसँगै १० अंक भएको छ । ऊ पाँचौं स्थानमा छ । 

इस्तै मंगलबार बिहान भएको खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले न्यूरोड टिम (एनआरटी) लाई २–१ गोलअन्तरले पराजित गरेको हो । जारी प्रतियोगितामा एपीएफको यो दोस्रो जित हो । यस जितसँगै एपीएफले सात अंक जोड्दै अंक तालिकाको सातौं स्थानमा उक्लेको छ । 

यसअघि खेलको पाँचौं चरणको खेलसम्म विभागीय टोली एपीएफले लिगमा एकमात्र जित दर्ता गरेकोथियो भने एकमा बराबरी र तीनवटा खेलमा पराजित भएको थियो । एपीएफको जितमा युवराज लामा र सुदीप शिखरकारले एक–एक गोल गरे । युवराजले खेलको पहिलो हाफमा एक गोल गरे भने सुदीपले दोस्रो हाफमा गोल गरे । 

खेल सुरुवातीको पाँचांै मिनेटमा युवराजले गोल गर्दै एपीएफलाई पहिलो अग्रता दिलाए । उनले गोल गरेको १० मिनेट पनि बित्न नपाउँदै एनआरटीका राजेश परियारले एक गोल फर्काए । तर एनआरटीले त्यो एक–एक गोलको बराबरीलाई कायम गर्न सकेन । 

खेलको ७३औं मिनेटमा सुदीपले एक गोल थप्दै एपीएफका लागि विजयी गोल गरे । यता जारी लिगमा एनआरटीले अहिलेसम्म जित निकाल्न सकेको छैन । लिगको पहिलो खेलमा एनआरटीले विभागीय टोली आर्मीलाई बराबरीमा रोक्दै उत्कृष्ट सुरुवात गरेपनि त्यसपछिका सबै खेलमा पराजित हुँदै एक अंकका साथ लिगको पुछारमा छ । 

अंक तालिकामा मनाङ मस्र्याङ्दी क्लब लिगको पहिलो स्थानमा छ । त्रिभुवन आर्मीलब ५ खेलमा ४ मा जित र एकमा बराबरीसहित १३ अंकसाथ तेस्रोमा छ ।


Views: 38