फेरि बढ्दै कोरोना संक्रमितको ग्राफ

Read Time = 13 mins

काठमाडौं । विश्वका विभिन्न मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमण दर तीव्र रूपमा बढिरहेको बेला नेपालमा यसको जोखिम बढेको छ । नेपालमा पनि यो हप्ता संक्रमितको संख्या बढ्दै गएको छ । आइतबारयता दिनदिनै संक्रमितहरूको संख्या उच्च देखिएको हो । बिहीबार कोरोना संक्रमितको संख्या उच्च देखिएको छ । पछिल्लो तीन महिनायताकै बढी संख्यामा संक्रमित भेटिएका हुन् । 

बिहीबार सात हजार २०९ जनाको पिसिआर परीक्षण गर्दा ४७८ र चार हजार ८९० जनाको एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या विगत तीन महिनायताकै उच्च हो । गत कात्तिक १० गते ५८२ संक्रमण पुष्टि भएको थियो ।

बुधबार पनि यो विगत दुई महिनायताकै उच्च संख्यामा संक्रमित थपिएका थिए । मन्त्रलायको तथ्यांकअनुसार बुधबार ४३५ जनामा कोरोना पुष्टि भएको थियो ।

मंगलबार ३९३ जना र सोमबार ३२६ जनामा कोरोना पुष्टि भएको थियो । आइतबार देशभरि कोरोना संक्रमितको संख्या ३८२ रहेको थियो । शनिबार २३५जनामा मात्रै संक्रमित पुष्टि भएको थियो । यसअघि हरेक दिन २०० देखि २५० जनाको संख्यामा संक्रमित थपिने गरेकोमा यो हप्ता संक्रमणको ग्राफ उच्च देखिएको छ । मन्त्रालयले बिहीबार २७१ जना कोरोनाबाट निको भएको जनाएको छ । देशभरि निको हुनेको संख्या आठ लाख १३ हजार ४४७ पुगेको छ । 

हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ४३१ रहेको छ । कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ । प्रति १० लाख जनसंख्यामा मृत्युदर ३८१ दशमलव नौ रहेको छ । 

पछिल्लो समय भेन्टिलेटरमा रहनेको संख्या जम्मा १४ र आइसियुमा ७९ जना छन् । होम आइसोलेसनमा पाँच हजार ६९, संस्थागत आइसोलेसनमा ३६२ र क्वारेन्टिनमा ११३ छन् । पछिल्लो समय देशभरमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा काठमाडौं, ललितपुर र भक्तपुर रहेका छन् भने २०० भन्दा बढी उपचारार्थ संक्रमित रहेका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली छन् । शून्य संक्रमित रहेका जिल्लामा रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र मुगु छन् ।

उपत्यकाका तीन जिल्लामध्ये पछिल्लो समय काठमाडौंमा एक हजार ३०२, ललितपुर ६२१ र भक्तपुरमा ५५३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

कोरोनाको साइड इफेक्ट : प्रधानमन्त्रीको भारत भ्रमण रद्द, प्रचण्ड आइसोलेसनमा

पछिल्लो समय बढ्दै गएको कोरोना भाइरसका कारण राजनीतिक र कूटनीतिक गतिविधिहरूमा समेत असर गरेको छ । कोरोना संक्रमण बढेकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ । यही पुस २५ गते उहाँ भारत भ्रमणमा जाने तय भएको थियो । 

प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उहाँको गृहराज्य गुजरातमा यही पुस २६ देखि २८ गतेसम्म आयोजना हुने भनिएको ‘गुञ्जायमान गुजरात’ विषयको विश्वस्तरीय सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम थियो । 

कोरोनाका कारण नै प्रधानमन्त्रीको भारत भ्रमण रद्द भएको उहाँको स्वकीय सचिव भानु देउवाले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘अहिलेको असहज परिस्थितिका कारण गुजरात ग्लोबल समिट स्थगन गरिएको जानकारी प्राप्त भएकाले सम्माननीय प्रधानमन्त्रीको भारत भ्रमणको कार्यक्रम रद्द भएको छ,’ प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले भन्नुभएको छ ।

कोरोना बढेपछि सम्मेलनलाई स्थगित भएको छ । १० जनवरीमा आयोजना गर्न लागेको १०औँ भाइब्रेन्ट गुजरात लगानी सम्मेलन स्थगित भएको घोषणा गरेको हो । कोभिड संक्रमण बढेको भन्दै गुजरात सरकारले सो सम्मेलन स्थगित गरेको हो । 

सम्मेलनमा भाग लिने नेपालसहित विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता हुने कार्यक्रम थियो । सम्मेलनमा रसियाली प्रधानमन्त्री, मोजाम्बिकका राष्ट्रपति, मौरिससका प्रधानमन्त्री र स्लोभानियाका प्रधानमन्त्री सहभागी हुने कार्यक्रम तय भएको थियो । त्यस्तै, विभिन्न देशका मन्त्री र कम्पनीका सिइओ पनि सहभागी जनाउने बताइएको थियो । 

प्रचण्डको भेटघाट बन्द

कोरोना संक्रमणकै कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक भेटघाट बन्द गर्नुभएको छ । आठौँ महाधिवेशन सकेर पदाधिकारी चयनमा रहेको माओवादी केन्द्रका विभिन्न नेताहरूलाई संक्रमण पुष्टि भएपछि प्रचण्डले भेटघाट बन्द गर्नुभएको हो । कार्यालयका सबै कर्मचारीलाई कोरोना भएपछि प्रचण्डले भेटघाट बन्द गरेर आइसोलेसनमा बस्न लाग्नुभएको छ । कार्यालयका सचिव डोरप्रसाद उपाध्याय, एविन्द्र पराजुलीसहितलाई कोरोना भाइरस संक्रमण भएपछि अध्यक्ष प्रचण्डले बिहीबारबाट नै भेटघाट बन्द गर्नुभएको हो । 

नेकपा माओवादी केन्द्रीय कार्यालयका दुई जनाबाहेक सबैलाई कोरोना भाइरस संक्रमण भएको छ । मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेलबाहेक केन्द्रीय कार्यालयका सबैलाई कोरोना संक्रमण भएको हो । 

भेटघाट बन्द भएको जानकारी दिँदै प्रचण्डको सचिवालयले भनेको छ, ‘कतिपय सम्वाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत सहजीकरण गर्नेछौं । केन्द्रीय कार्यालयका कतिपय जिम्मेवार कमरेडहरूलाई समेत कोभिड संक्रमण पुष्टि भएकोले कार्यालयमा हुने भिडभाडमा पनि उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैमा हार्दिक अनुरोध गर्दछौँ ।’

राष्ट्रपति र प्रधानमन्त्रीबीच कोरोना नियन्त्रणको बारेमा छलफल

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच कोरोना भाइरस नियन्त्रणका विषयमा छलफल भएको छ । बिहीबार राष्ट्रपति भण्डारीसँगको शिष्टाचार भेटका लागि प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय शीतलनिवास जानुभएको थियो । 

नियमित भनिएको यस भेटमा समसामयिक विषयमा पनि कुराकानी भएको थियो । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले उक्त भेटका क्रममा बढ्दो कोरोना महामारीका विषयमा कुराकानी भएको बताउनुभयो । 

उहाँका अनुसार सो भेटमा राष्ट्रपति भण्डारीले नेपालमा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण एवं कोरोनाविरुद्धको खोप उपलब्धताको अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । भेटमा प्रधानमन्त्री देउवा कोरोना नियन्त्रणका लागि सरकारले गरेका कामहरूको बारेमा जानकारी गराउनुभएको थियो ।

भारत र अमेरिकामा बढी प्रभाव

कोरोनाले भारत र अमेरिकालगायत देशमा बढी प्रभाव पारेको छ । भारतमा पछिल्लो समय कोरोना भाइरसबाट थप ९० हजार ९२८ संक्रमित भएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ४९ लाखभन्दा बढी संक्रमित भएका छन् । सोही अवधिमा थप ३२५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या दुई लाख ८५ हजार ४१० छ । 

भारतमा कोरोना सुरु भएदेखि हालसम्म ६८ करोड ५३ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि पछिल्लो समयसम्म एक अर्ब ४८ करोड ६७ लाखभन्दा बढी डोज खोप लगाइएको जनाइएको छ । 

यस्तै, भारतमा ओमिक्रोनबाट पहिलो मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको घातक भनिएको ओमिक्रोन भेरियन्टबाट एकजनाको ज्यान गएको जनाएको छ । ती व्यक्ति मधुमेहका दीर्घरोगी रहेका र उनी ओमिक्रोनको उपचारका क्रममा रहेका पनि सो मन्त्रालयले जनाएको छ । यो नै भारतमा ओमिक्रोनबाट भएको पहिलो मृत्यु हो ।

अमेरिकाको अवस्था पनि नाजुक देखिएको छ । जनवरी महिना सुरु भएयताको चार दिनमा मात्र कोरोना भाइरसको प्रकोपका कारण तीन हजारभन्दा बढी विद्यालय बन्द भएका बताइएको छ । न्युजर्सीमा मात्र कम्तीमा पनि ३२ प्रतिशत विद्यालय बन्द भएका बताइएको छ ।

त्यस्तै, एटलान्टा, मेरिल्याण्ड तथा न्युयोर्कमा महामारीका कारण विद्यालयहरू बन्दै गरिएका बताइएको छ । गएको ११ दिनयता यहाँ कोरोनाका संक्रमितहरू दोब्बरभन्दा पनि बढी देखिएका छन् । कोरोनाका कारण अमेरिका विश्वकै सबैभन्दा बढी प्रभाव परेको देश हो । अमेरिकामाले अहिले पनि लाखौँ संक्रमित भेटिने गरेका छन् । अन्य युरोपेली मुलुकहरूमा पनि संक्रमण तीव्र रूपमा फैलिरहेको छ । 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?