नेपालमा भित्रियो ‘ओमिक्रोन’, विदेशबाट आएका दुईजनामा संक्रमण पुष्टि, लक्षण देखिएन

Read Time = 11 mins

काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले नेपालमा पनि ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

एकजना ६६ वर्षीय विदेशी नागरिक र उहाँसँग सम्पर्कमा रहेका ७१ वर्षीय अर्का नेपाली नागरिकमा यही मंसिर १९ गते ओमिक्रोन संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उहाँहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो । दुवैजनाले कोरोना भाइरसविरुद्धको खोप पनि लगाएका थिए । गत मंसिर ३ गते नयाँ भेरियन्ट पुष्टि भएको देश हुँदै ६६ वर्षीय विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गर्नुभएको थियो । नेपाल आउँदा नियमानुसार पिसिआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेको पाइएको थियो । तर, कोभिड-१९ सँग मिल्दाजुल्दा लक्षणहरू देखिएको थियो । त्यसपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ विधिबाट परीक्षण गर्दा मंसिर १९ गते ओमिक्रोन नेपालमा पहिलोपटक पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो भेरियन्ट पहिलोपटक २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको थियो । हालसम्म यो भेरियन्ट विश्वका ३५ देशहरूमा फैलिसकेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यी देशहरूमा सोमबारसम्म ओमिक्रोनबाट ५७४ जना संक्रमित देखिएका छन् । विश्व स्वास्थ्य संगठनले गरेको प्रारम्भिक आँकलनअनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख छ । दक्षिण एसियाका केही देशहरूमा समेत यो भेरियन्ट पुष्टि भइसकेको छ । यो भाइरस सर्ने दर र संक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा बैज्ञानिक तथ्यहरूको खोज भइरहेको छ । यसको जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले पनि विभिन्न प्रयासहरू जारी राखेको छ ।

 ६६ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा नतिजा नेगेटिभ

अहिले संक्रमित दुवैजना सरकारले तोकेको मापदण्डअनुसार आइसोलेसनमा हुनुहुन्छ । हाल उहाँहरूमा कुनै लक्षणहरू नदेखिएको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ । उहाँहरूसँग सम्पर्कमा आएका ६६ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा सबैको नतिजा नेगेटिभ आएको र सबै स्वस्थ रहेको पाइएको छ । ओमिक्रोनको संक्रमण फैलिने जोखिम भएपछि नेपालले पनि स्वास्थ्य सतर्कतामा जोड दिएको छ । नेपालले अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकाहरूमा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगेटिभ पिसिआर रिपोर्ट अनिवार्य गरेको, खोपको विवरण लिने गरेको, लक्षण तथा चिन्हहरूको जाँच गर्ने व्यवस्था गरेको तथा हवाई र स्थल नाकाहरू भई प्रवेश गर्ने पूर्ण मात्रा खोप नलगाएका र शंकास्पद सबै यात्रुहरूको एन्टिजेन परीक्षण गर्ने गरिएको छ । एन्टिजेन परीक्षणमा पोजेटिभ फेला परेकाहरूको नमुना संकलन गरी पिसिआर गर्ने र शंकास्पद नमुनाहरूको जिन सिक्वइन्सिङ गर्ने गरिएको छ । यसका साथै विगत एक महिना अगाडिदेखि पोजेटिभ भएका नमुनाहरूको थप परीक्षण गर्ने गरिएको छ ।

यस्तै, मन्त्रालयले कोभिड-१९ का अरू भेरियन्ट जस्तै ओमिक्रोनको संक्रमणबाट बच्न पनि जनस्वास्थ्यका सबै मापदण्डहरूको पालना (मास्कको सही प्रयोग, भौतिक दूरी कायम गर्ने, भिडभाड नगर्ने तथा हात धुने कार्य, हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने) र खोपको प्रयोग महŒवपूर्ण हुने भएकाले सबैमा मापदण्डको पालना गर्न र खोप अभियानमा सहभागिता हुन अनुरोध गरेको छ ।

विज्ञहरू भन्छन् : त्रसित नबनौँ, सजग रहौँ

ओमिक्रोन भेरियन्ट कोभिड-१९ कै एक उत्परिवर्तितस्वरूप भएकाले स्वास्थ्य मापदण्डको पालना नै यसबाट जोगिने उपाय भएकोे विज्ञहरूले बताएका छन् । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार ओमिक्रोन पनि जोगिनसक्ने संक्रमण भएकाले पहिलेका दुईवटा लहरमा अपनाइएका उपायहरू नै फलो गर्नुपर्छ । कोभिड-१९ विरुद्धको खोपले पनि सिकिस्त हुनबाट जोगाउने भएकाले सरकारले खोप कार्यक्रमलाई तीव्रता दिनुपर्नेमा डा. पुनको जोड छ । 

जनस्वास्थ्य अनुसन्धानकर्ता डा. समिरमणि दीक्षितले पनि कोभिडको जनुसुकै भेरियन्ट आए पनि जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नु र खोपको दायरा बढाउनु नै जोगिने उपाय भएको धारणा राख्नुभयो । ‘सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्‍यो, सरकारले बढीभन्दा बढी खोप वितरण गर्नुपर्‍यो जनुसुकै भेरियन्ट आए पनि त्यसबाट जोगिने उपाय यिनै हुन्’ उहाँले भन्नुभयो । जोखिम वर्गमा परेका दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई बुस्टर डोज पनि दिएर जोगाउन सकिने डा. दीक्षितको भनाइ छ । सरकारले पूर्ण खोप लगाएका सबैलाई बुस्टर डोज दिने निर्णय गरिसकेको छ । प्राथमिकता क्रम छुट्याएर बुस्टर डोज खोप दिने सूची छिट्टै सार्वजनिक गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताउनुभएको छ ।

तत्काल लकडाउन हुँदैनः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिर हल्ला फैलिएजस्तो लकडाउनबारे निर्णय नभएको जनाएको छ । सोमबार ओमिक्रोनका दुईजना संक्रमित भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जनाएको हो । झण्डै ४० देशमा देखा परिसकेको यो भेरियन्ट संक्रामक पनि मानिएको छ । ओमिक्रोन फैलनसक्ने भन्दै सामाजिक सञ्जालमा चासो र चिन्ता बढेपछि सरकारले सचेत गराउँदै लकडाउनबारे निर्णय नगरेको जनाएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारले लकडाउनबारे केही निर्णय नगरेको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘लकडाउन हुँदैन । यसबारे सरकारले केही निर्णय गरेको छैन ।’ उहाँका अनुसार ओमिक्रोनको निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङ कार्यलाई थप प्रभावकारी बनाइएको छ । उहाँले जनस्वास्थ्यका मापदण्ड सबैले पालना गर्न र आफ्नो पालोमा खोप लिनुपर्ने बताउनुभयो । नेपालमा पनि ओमिक्रोन देखिएपछि धेरैले सरकारले अब लकडाउन गर्नसक्ने भन्दै चासो र चिन्ता व्यक्त गर्न थालेका छन् । तर, सरकारी अधिकारीहरूले अहिले लकडाउनबारे कुनै निर्णय नगरेको जनाएका छन् । तर, स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई सचेत गराएका छन् ।

 थप २६५ जनामा कोरोना संक्रमण, दुईजनाको मृत्यु

सोमबार थप २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय गरिएको सात हजार ११४ पिसिआर र एक हजार ५०३ जनाको एन्टीजेन परीक्षणका क्रममा २६५ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कुल संक्रमितको संख्या आठ लाख २२ हजार ८३० जना पुगेको छ । कुल संक्रमितमध्ये ६ हजार ३८६ जना सक्रिय संक्रमित छन् । यस्तै, सोमबार थप ३५७ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या आठ लाख चार हजार ९०१ पुगेको छ ।

सोमबार थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५४३ पुगेको छ । पछिल्लो समय ९८ जना क्वारेन्टिनमा छन् । ११४ जना आइसियु र ३२ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?