आमुख :
वैदिक संस्कृतिको बृहतम् अध्ययनबाट के बुझ्न सकिन्छ भने नेपाल राष्ट्रको परिचय वैदिककालीन सभ्यतासँग अभिन्न ढंगले जोडिएको छ । नेपालले आफ्नो चौकिल्ला, सिमाना ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक सत्यतथ्यपूर्ण आधारमा हेर्दा नदीलाई मुख्य आधार बनाइएको छ । कृते सत्यवती यत्र त्रेतायां तु तपोवनम् । द्वापरे मुक्तिसोपानं कलौ नेपालकापुरी ।। (नेपाल महात्म्य ) ‘कृते सत्यपुरी ज्ञेया वेताल च तपोवनी : । द्वापरे मुक्तिका नाम कली नेपालीकापुरी ।। (पशुपति महिमा १६२ अध्याय) आजको नेपाललाई सत्ययुगमा सत्यवतीपुरी, त्रेतायुगमा तपोवन, द्वापरयुगमा मुक्तिसोपान र कलियुगमा आइपुग्दा यो ठाउँको नाउँ नेपाल नामबाट चिनिन थालेको हो ।
नेपालको उषाकालदेखिको ज्युँदो इतिहास वैदिक सभ्यताको शाश्वत दस्तावेजीकरणको मानकबाटै पुष्टि हुँदै आएको छ । नेपाल पुनःएकीकरणका नायक पृथ्वीनारायण शाहको नेतृत्वमा आधुनिक नेपाल निर्माणको महायज्ञमा कालु पाँडे, बहादुर शाह, भीमसेन थापा, भक्ति थापा, अमरससंह, बलभद्रलगायत हजारौं नेपाली वीर सपूतहरूको योगदान छ । ऋषि ज्ञान विचार दर्शन शास्तास्त्र, सशस्त्र ज्ञान विज्ञान र चातुर्यको कला कौशलको जगमा र चमचम गर्ने खुकुरी नचाउँदै सतलजसम्म पुग्ने अमरसिंह थापालगायतका वीरहरूको देशभक्तिपूर्ण राप र तापले सिर्जना गरेको टिष्टादेखि काँगडासम्मको भूमि नेपाल आज पनि नेपाली जनताको स्मरणमा ताजै छ ।
यसरी हेर्दा नेपालको पश्चिम सिमाना जमुना नदीलाई आधार बनाएर कस्मिरसँग सीमा बाँधेको र कस्मिरले सालाना नेपाललाई उपहार दिएको घटनाबाट स्पष्ट भएको छ । त्यस्तै, नेपालको पूर्वी सिमाना ब्रहृमपुत्र नदी र त्यसवरिपरि नेपालीभाषी आवादी रहेको दार्जिलिङ, सिक्किम, भुटान, नागाल्याण्ड, मणिपुर, मेघालय, मिजोरम, आसाम क्षेत्रमा विद्यमान नेपाली जाति र तिनको धार्मिक, सांस्कृतिक मूल्यबोधबाट पनि नेपालको पूर्वोत्तर सिमाना जगजाहेर छ ।
नेपालको उत्तरी सिमाना मानसरोवर उद्गमस्थल बनाई प्रवाहित ब्रहृमपुत्र नदी तथा हिमालपारिका मनाङ, मुस्ताङ, माथिल्लो डोल्पामा बसोवास गर्ने नेपाली जाति तिब्बती पठार क्षेत्रमा विद्यमान नेपाली बस्तीबाट पनि नेपालको उत्तरी सीमा छर्लंग हुन्छ । नेपालको दक्षिणी सिमाना गङ्गाको मैदानमा नेपाल पुनः एकीकरणका अभियन्ताहरूले खुँडा पखालेर साँध बसालेको दृष्टान्तबाट पुष्टि हुन्छ । नेपालको वास्तविक ऐतिहासिक सिमानाका मुख्य आधारगंगा, ब्रहृमपुत्र र जमुना नदीहरू नै हुन् । यी ऐतिहासिक सिमाना सुगौली सन्धिजस्तो कीर्ते सन्धिका कारण खुम्चिन पुगेको दुर्भाग्यबाट अहिले नेपालको पूर्व-पश्चिम सिमाना मेची–महाकाली नदी नै मूल सिमानाका रूपमा रहिआएको छ ।
विषय विस्तार :
यतिबेला सन् १८१६ को सुगौली सन्धिले निर्धारण गरेको नेपालको चौकिल्ला सिमाना रक्षा इतिहासको महत्वपूर्ण कार्यभार बनेको छ । पछिल्लो समय भारतले सुगौली सन्धिले निर्धारण गरेको नेपाली भूमि नेपालको ७१ भन्दा बढी स्थानमा सिमाना मिची अतिक्रमण गरेको छ । झण्डै ६० हजार हेक्टर बढी नेपाली भूमि भारतले अतिक्रमण गरेको छ । यतिबेला हामी हाम्रा वीर पुर्खाहरूको रगत पसिनाद्वारा सिर्जित नेपाली भूमिको रक्षाका लागि शौर्य उर्जाका साथ चनाखो र गतिशील बन्नु छ । नेपाली भूमिमाथिको भारतीय अतिक्रमण सुस्ता महेसपुर क्षेत्रको अलावा खास गरेर पश्चिम दार्चुला क्षेत्र बढी पेचिलो बनेको छ ।
विगत लामो समय सन् १९६२ तिरबाट भारतीय अतिक्रमणमा परेको नेपालको दार्चुलाको कालापानी, लिपुलेक, लिम्पियाधुरा यतिबेला अन्तर्राष्ट्रिय बहसको विषय बन्न पुगेको छ । ४ मार्च १८१६ को सुगौली सन्धिको धारा ५ ले नेपालको पश्चिमी सिमाना महाकाली नदी मानिएको छ । त्यस्तै १९६१ अक्टोबर ५ मा नेपाल–चीन सीमा सन्धिको धारा १ को ९१० मा नेपाल र चीनको सीमारेखा काली नदी र टिंकर नदीको पानीढलोबाट प्रारम्भ हुने भनेर स्पष्ट भनिएको छ । यी दुवै सन्धि, सम्झौताबाट नेपालको पश्चिमी सिमाना महाकाली नदी र महाकाली नदीको मुहान पनि लिम्पियाधुरा नै हो ।
सन् २०१९ नोभेम्बर १ अथवा २०७६ कात्तिक १५ गते भारत सरकारका गृह मन्त्रालय र नापी विभागले जारी गरेको भारतको राजनीतिक नक्सामा दार्चुलामा पर्ने नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा राखेर सार्वजनिक गरेको विषय नेपाली राष्ट्रियतामाथिको ठाडो हस्तक्षेप हो । भारतको उत्तराखण्डस्थित दार्चुला क्षेत्रको पिथौरागढबाट पूर्व–पिथौरागढ नेपालको दार्चुलाको लिपुलेख हुँदै मानसरोवर जाने मार्ग निर्माणमा नेपालको भूमि अतिक्रमण गरी सडक निर्माण गर्न पुगेबाट नेपालको सार्वभौमिकता माथि ठाडो हस्तक्षेप भएको छ ।
यस सडकको निर्माणको पछिल्लो पृष्ठभूमि नियाल्दा सन् १९९९ मा अटल विहारी बाजपेयी सरकारका विदेशमन्त्री जसवन्त सिंहको चीन भ्रमणका बेला लिपु भञ्ज्याङलाई व्यापारिक नाका बनाउने समझदारी हुन गएबाट यसले परिचर्चा पाउन गएको हो । प्राप्त अर्को जानकारी अनुसार सन २००५ अप्रिल ९ -१२ मा भारतमा भएको चिनियाँ विदेशमन्त्री वु डाबे र भारतीय समकक्षी श्यामशरणबीच भएको सम्झौताहरूमध्ये ‘मोडालिटिज फर द इम्प्लिमेन्टेसन अफ कन्फिडेन्स बिल्डिङ मिजर्स इन द मिलिट्री फिल्ड एलङ त लाइन अफ एक्चुअल कन्ट्रोल इन द इण्डिया-चाइना बोर्डर एरियाज’ नामको उक्त सम्झौताको दफा ५ को उपदफा ९२० मा भनिएको छ, ‘मध्ये सेक्टरको लिपुलेकरच्याङ्ला भञ्ज्याङ र पूर्वी सेक्टरको किविथु-दामाईलाई संलग्न गरी सीमा बैठक बिन्दुहरूको संयन्त्र विस्तार गर्न दुवै पक्ष सिद्धान्ततः सहमत भएका छन् ।’
त्यस्तै सन् २०१४ सेप्टेम्बर १८ मा छिमेकी चीनका महामहिम राष्ट्रपति सि चिन फिङको भारत भ्रमणका बेला भारत र चीनका विदेश मन्त्रालयबीच कैलाश मानसरोवर यात्रा गर्ने भारतीय तीर्थयात्रीका लागि नयाँ रुट खोल्ने समझदारी भयो । त्यस समझदारी पत्रमा भारतीय विदेशमन्त्री सुषमा स्वराज र चिनियाँ विदेश मन्त्री वाङ यीले हस्ताक्षर गरे । उक्त समझदारी अनुसार लिपु भञ्ज्याङका साथै नाथुला, सिक्किममा पनि वार्षिक मानसरोवर यात्रा गर्न सकिने व्यवस्था समझदारीपत्रमा उल्लेख भएबाट नेपालको गम्भीर ध्यानाकर्षण हुन पुगेको वास्तविकता छिपाएर छिप्दैन । १५ मे २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीनको राजकीय भ्रमणको बेला मोदीजीले चिनियाँ समकक्षीसँग गरेको दुई पक्षीय समझदारीको २८औं बुँदामा सीमा व्यापार, दुवै देशका बासिन्दाको तीर्थाटन र अन्य आदानप्रदानका माध्यमबाट आपसी विश्वासलाई प्रभावकारी रूपमा प्रवद्र्धन गर्न सकिने कुरामा दुई पक्ष सहमत भए भन्ने उल्लेख छ ।
साथ साथै, सीमालाई सहकारिता र विनिमय पुलका रूपमा विस्तार गर्दै सम्बन्धलाई अझ विस्तार गर्ने कुरामा पनि एकमत भए । दुवै पक्ष व्यापार वस्तुको सूची बढाउन वार्ता गर्न र नाथुला, च्याङ्ला र लिपुलेक नाका र सिप्किलामा सीमा व्यापार बढाउन राजी भएको व्यहोराको समझदारी भएबाट नेपालको सार्वभौमिकतामाथि आघात पुगेको कुरा घाम झैँ छर्लंग छ ।
नेपालको सार्वभौमिकता माथि दखल दिने समझदारी भएकोमा नेपालले चीन र भारत दुवैलाई कूटनीतिक माध्यमबाट आपत्ति तथा आफ्नो सरोकार प्रकट गरेको थियो । पछि चीनले नेपालको सरोकारलाई गम्भीरतापूर्वक लिएको र त्यो समझदारी तीर्थ यात्रासँग मात्र सम्बन्धित हो सीमा व्यवस्थापनसँग कुनै सरोकार राख्दैन नेपालको चासोमा हाम्रो समर्थन छ भन्ने प्रतिक्रिया दिएबाट चीनले आफ्नो कमजोरी सच्चाएको रूपमा बुझ्नुपर्छ ।
तर, भारतले नेपालको चासोलाई बेवास्ता गरी एकतर्फी रूपमा मिचाहा प्रवृति देखाई नेपाली भूमिमा सडक खन्न पुगी नेपाली सार्वभौमिकतामाथि चुनौती दिन आइपुगेको छ । यो कुराको पुष्टि हालै ७ मे २०२० मा भारतीय रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्ति हेर्दा प्रष्टै हुन्छ । विज्ञप्तिमा भनिएको छ उत्तराखण्डको बोर्डर रोड अर्गनाइजेसन बीआरओले कैलाश मानसरोवर रुटलाई चीनको बोर्डरसम्म जोडेको छ । कोभिड १९ को महामारी सामना गर्दै बीआरओले १७ हजार ६० फिट उचाइमा रहेको कैलाश मानसरोवरमा बाटो विस्तार गरेको हो ।’
भारतले बल मिच्याइँपूर्वक नेपाली भूमिमा निर्माण गरेको उक्त सडकको उद्घाटनपश्चात नेपाल सरकारले कूटनीतिक च्यानलमार्फत विरोध गर्न पुग्यो । तर, भारत सरकारले नेपालको आग्रह एवं सरोकार उपर कुनै सरोकार नराखी उल्टै नेपाली भूमिलाई आफ्नो हकभोगको भूमि रहेको प्रतिक्रिया सार्वजनिक गर्न पुगेबाट उसको मिचाहा र हेपाहा कलुसित मनोवृत्ति विश्व जगतले जान्न बुझ्न पाएको छ । भारतीय शासक वर्ग नेपाल, भारत सम्बन्धलाई प्रगाढ बनाउनुको अलावा साम्राज्यवादी बुई चढेर नेपालविरुद्ध ब्रिटिश साम्राज्यवादले सुगौली सन्धिमार्फत हडपेको भूमि चर्चेर नपुगी कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत दर्जनौं क्षेत्रमा नेपाली भूमि अतिक्रमण गर्न आइपुग्नुबाट भारतको असली अनुहार उदांगो भएको छ ।
भारतको उक्त हेपाहा मिचाहा प्रवृत्तिको जवाफ नेपाल सरकारले आफ्नो ऐतिहासिक हकभोगको तथ्य सत्यमा आधारित भूमिसहित नेपालको नक्सा अध्यावधिक गरी नयाँ नक्सा सार्वजनिक गरेको छ । नेपाल सरकारको यस गुढ कार्य अध्यावधिक नक्सा संविधानत संशोधनमार्फत चलनचल्तीमा ल्याउने निर्णयसहित २०७७ र ०७८ को नीति तथा कार्यक्रममार्फत सार्वभौम संसदमा पेश गरी सर्वसम्मत रूपमा पास गर्न ऐतिहासिक उपलब्धि हो । यस कार्यमा ओली नेतृत्वको सरकार, प्रतिपक्ष सबै राजनीतिक दल तथा आमजनताको पंक्ति एक ठाउँ आइपुग्नु देशभक्तिको ओझ हो ।
निष्कर्ष :
हजारौं वर्ष मुगल र सयौं वर्ष ब्रिटिशको गुलाम तथा उपनिवेष बनेको वास्तविक वैदिक भारत नामको इण्डिया नाममा रूपान्त्रण गर्ने काम इष्टइण्डिया कम्पनीले गरेको हो । इण्डियन शासक वर्ग, राजनीतिक नेतृत्व र त्यहाँका मूलधारका पत्र पत्रिका, टेलिभिजन, कतिपय नागरिक समाजका बुद्धिजीवी, सेना, पुलिस, कर्मचारीतन्त्रको ठूलो हिस्साको प्रवृत्ति नियाल्दा वास्तवमा इण्डियन शासक वर्ग निकृष्ट छन् । हामी इतिहासको आदर्श भारत चाहन्छौं नकि इण्डिया ।
अफसोच भारतीयहरू ब्रिटेनको उपनिवेशबाट स्वतन्त्रता पाएपछि पनि उसको गुलाम मानसिकता भारत वर्षमा परिणत हुन नसकी इण्डियामै रमाउन पुग्नु दुखद् छ । इष्टइण्डिया कम्पनीको अतिक्रमित मानसिकता आजपर्यन्त इण्डियन शासकबाट नेपालको सिमाना निरन्तर अतिक्रमण दोहोरिन आइपुग्नु गौरवपूर्ण वैदिक सभ्यता र भारत वर्षको खिल्ली उडाउनु हो ।
पुरातात्विक ग्रन्थ स्कन्द पुराणअन्तर्गत रहेको : ‘मानसखण्डः’ महत्वपूर्ण खण्ड हो । यस ग्रन्थले नेपालको पछिल्लो पश्चिम काली नदीको सिमाना निर्धारण गरेको छ । यो श्रीमन्मर्षि वेदव्यास कृत स्कन्द पुराणअन्तर्गत मानसखण्ड हो । यसले पश्चिम नेपालसहित मानसरोवर रावणताल, कैलासको सांस्कृतिक धार्मिक औषधीय एवं ऐतिहासिक भूमि इतिहास एवं महत्वलाई प्रष्ट्याएको छ । मानसखण्डको अध्याय ११६ को १०औं श्लोकमा यसप्रकार उल्लेख छ :- लिपुःपश्चिमभागे वै शिखरणां च दक्षिणे ।।१०।। लिप्पिया धुराको पश्चिम र शिखरको दक्षिणमा पर्छ कालीनदी ।
यसैगरी यसै मानसखण्डको ११७ को ४ मा यसरी वर्णन गरिएको छ । आविर्बभूव तत्रैव सुपुण्ये लिपिपर्वते । मानसोत्था पुण्यतीर्था श्यामला लिपिपर्वते ।।४।। अर्थ ;सुपुण्य त्यो लिपुलेकमै आविर्भूत (प्रकट) भएर मानसरोवरबाट प्रवाहित भई लिपुलेकमै हामीसामु देखापरेकी श्यामला (काली) नदी अनेक पुण्यप्रद तीर्थमयी छिन् । यहीँ अर्थ नै व्यासीहरूले उच्चारण गर्ने कुटीयांदी वा कुटी भनेको कालो र याङ्दी भनेकी नदी हुन् । यसले पनि नेपालको पौराणिक सीमालाई नै पुष्टि गर्दछ । मोदीको ऋषि मन र इण्डियन राज्यसत्ताले हाम्रो सिमाना निरन्तर अतिक्रमण गरिरहेछ ।
लिप्पिया धुराबाट बग्ने काली (श्यामला) नदी पूर्वको भूभाग लिप्पिया धुरासहितको भूभाग वर्तमान अखण्ड नेपाल हो । नेपालको नक्सा पहिलो पटक अध्यावधिक गरी नेपाल राजपत्रमा प्रकाशित भएको छ । सुगौली सन्धिले निर्धारण गरेको नाप नक्सालाई अध्यावधिक गरी संविधान २०७२ को संशोधनमार्फत संविधानको अनुसूची र सरकारी निसान छापलगायत प्रचलनमा ल्याउनु राष्ट्र धर्म निर्वाह हो । नयाँ नक्सालाई स्थापित गरी चलनचल्तीमा ल्याउन संविधान संशोधन हुनु सुखद् पक्ष हो । यस गुढ कार्यमा नेपालका सबै राजनीतिक दल र सर्वपक्षीय समर्थन रहन गई अभूतपूर्व राष्ट्रिय एकता निर्माण हुन गएको छ ।
इण्डियन शासक वर्गले चिबे चराले झैं बेतुकका कोकोहोलो मच्याएर नेपाल राष्ट्रसँगको प्राचिनी सम्बन्ध बिगार्न उद्धत हुनु उसैको लागि घाटाको विषय हो । इण्डियनहरूले ब्रिटिश संरचनाको बलमा नेपाललाई हेप्ने मनोबिकारबाट छिट्टै मुक्त होउन । ठेलठाल र पेलपालको पटेल नीति नेपाललाई किमार्थ स्वीकार्य छैन । कहिल्लै हार्न नजानेको नेपालको इतिहास रहेको छ । नेपाल-भारतबीचको असल सम्बन्धबाट मात्र भारतवर्ष र हिमवत् खण्डको उचित मूल्य स्थापित हुनेछ । नेपाल पशुपतिनाथ, मुक्तिनाथ, स्वयम्भूनाथ र सीतामाताको, व्यास, बुद्ध, वाल्मीकि, पाणिनी, याज्ञवल्क्य आदि विद्वान-विदुषीहरूको जन्मभूमिको कौमर्यस्थलका रूपमा स्थापित भूमि हो ।
यस्तो ऐतिहासिक महत्वको नेपाली भूमि भारत सरकारले मिच्नुबाट पूर्वीय सभ्यता, संस्कृति, एक्काइसौं शताब्दीको मानवको ज्ञान र चेतनाको युगलाई पछाडि धकेल्न खोजेको देखिन्छ । भारतले आफ्नो कमजोरीमा आत्मालोचना गरी अतिक्रमित भूमि छोडेर महानता प्रदर्शित गर्न सक्नुपर्दछ । यसो हुन सकेमा नेपाल–भारत सम्बन्धमा नयाँ आयाम प्रारम्भ हुनेछ । नेपाल-भारतबीचको सम्बन्धमा सुधार आई बन्धुत्वको भावना जागी जागरण र जागृतिको नयाँ बिहानीसँगै उदाउनेछ । यसको लागि दुवै पक्ष जिम्मेदार र जवाफदेहीतापूर्वक कूटनीतिक पहल एवं वार्तालापमा समुपस्थित होऊन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच