हेर्नुहोस् आज दिनभरका प्रमुख समाचार

हिमालय टाइम्स
Read Time = 13 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सहरी क्षेत्र र तराई–मधेशमा विषेश अभियान सञ्चालन गर्ने भएको छ । साङ्गठनिक संरचना कमजोर भएको भन्दै माओवादी केन्द्रले उक्त अभियान सञ्चालन गर्न लागेको हो ।

आइतबारदेखि जारी पार्टीको केन्द्रीय समितिको बैठकले विशेष गरी तराई–मधेशका जिल्लामा जनपरिचालन, सङ्गठन निर्माण एवं विस्तारलाई केन्द्रमा राखेर अभियान सञ्चालन गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

सहरी क्षेत्रमा समेत पार्टीलाई थप विस्तार गर्ने उद्देश्य राखेर अभियान सञ्चालन गरिनेछ । माओवादी केन्द्रले मङ्गलबारदेखि विधान अधिवेशनको आयोजना गरेको छ । अधिवेशन सकिए पछि तराई–मधेश र सहरी क्षेत्रमा विशेष अभियान सञ्चालन गरिने छ ।

काठमाडौं । राष्ट्रियसभाबाट ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ पारित भएको छ । सभाको आजको बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो ।

स्वास्थ्य विज्ञानका क्षेत्रमा अध्ययन, अनुसन्धान र नवप्रवर्तनका माध्यमले मुलुकको समृद्धिमा योगदान पु¥याउन सरकारले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना गर्ने निर्णय गरेको थियो ।

स्वास्थ्य विज्ञानका क्षेत्रमा गुणस्तरीय अध्ययन अध्यापनद्वारा मानवस्रोत विकास गरी सर्वसाधारण जनतालाई सहज, सुलभ र विशेषज्ञसहित गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले उक्त विधेयक सदनमा पेस गरेको थियो ।

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको खर्च हुने लक्ष्य घटाएको छ ।

सोमवार चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै सरकारले चालु आर्थिक वर्षको बजेटको खर्च हुने लक्ष्य घटाएको हो ।

बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको आम्दानी र खर्चको मूल्याङ्कनको आधारमा बजेटको लक्ष्य घटाएको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षमा विनियोजित बजेटको ८७.३८ प्रतिशत मात्रै खर्च हुने अवस्था रहेको बताउनु भयो ।

उहाँले चालु आवमा १७ खर्ब ५१ अर्ब ३१ करोड बजेटलाई संशोधित अनुमानअनुसार १५ खर्ब ३० अर्ब २६ करोड मात्रै खर्च हुनेगरी संशोधित गरिएको बताउनु भयो । उहाँले मध्ये पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशत मात्रै खर्च हुने बताउनु भयो ।

उहाँले चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८.२४ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान रहेको बताउनु भयो । उहाँले वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन गरिएकोमा ८७.३९ प्रतिशत खर्च हुने अनुमान गरिएको उल्लेख गर्नुभयो । उहाँले सरकारको स्रोतबाट राजश्व र आन्तरिक ऋण १३ खर्ब ९ अर्ब १३ करोड ४६ लाख र विदेशी अनुदानतर्फ ४० अर्ब १२ करोड ९ लाख, वैदेशिक ऋणतर्फ १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख उठ्ने संशोधित अनुमान रहेको बताउनु भयो । उहाँले चालुतर्फ १० खर्ब १३ अर्ब रुपैयाँ, २ खर्ब ५४ अर्ब रुपैयाँ पुँजीगततर्फ रुपैयाँ तथा वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ६८ अर्ब खर्च हुने बताउनु भयो ।

काठमाडौं । नेपालमा २० प्रतिशतभन्दा बढी जनसंख्या अझै पनि गरिवीको रेखामुनि रहेको पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सोमवार काठमाडौंमा सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/०८०) नेपालमा अझै पनि २०. २७ प्रतिशत मानिसहरु गरिवीको रेखामुनि रहेको उल्लेख गरिएको हो । करिव १२ वर्षपछि प्रतिघर परिवारले उपभोग्य वस्तुमा गर्ने खर्चको आधारमा सो तथ्यांक सार्वजनिक गरिएको राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता डा. हेमराज रेग्मीले बताउनु भयो ।

उहाँकाअनुसार मानिसहरुको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, साधनमाथिको पहुँच, मनोरञ्जनबाट वञ्चित हुनेहरु अझै पनि २० प्रतिशतभन्दा बढी पाइएको छ । प्रदेशगत रुपमा भने सबै भन्दा कम गरिवी गण्डकी प्रदेश रहेको छ भने सबैभन्दा बढी गरिवी सुदूरपश्चिम प्रदेशमा रहेको पनि कार्यालयका प्रवक्ता रेग्मीले बताउनु भयो । सुदूरपश्चिम प्रदेशमा अहिले पनि करिव ३४ प्रतिशत मानिसहरु गरिवीको रेखामुनि रहेका छन् ।

काठमाडौं । रक्तदाता अर्जुन प्रसाद मैनाली मृत फेला पर्नुभएको छ । उहाँ फेसबुकमा संवेदनशील स्टाटस लेखेर बेपत्ता हुनुभएको थियो ।

दुई सय पटकभन्दा बढी रक्तदान गरेर चर्चामा आउनुभएका मैनालीले अमेरिकामा आत्मदाह गर्नुभएको हो । अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उहाँको शव फेला परेको छ ।

प्रहरीले प्रारम्भीक अनुसन्धानबाट उहाँले आत्महत्या गरेको जनाएको छ । उहाँको शरीर पूर्ण रुपमा जलेको अवस्थामा शव भेटिएको हो । उहाँले कारभित्र आगो लगाएर आत्महत्या गरेको अनुमान गरिएको छ ।

मैनालीको शव अहिले नर्थ क्यारोलिना प्रहरीको प्यारामेडिकल टीमले अनुसन्धानका लागि लिएको बताइएको छ । मैनालीले आज एक स्टाटस राखेर सम्पर्कविहीन हुनुभएको थियो । उहाँले स्टाटसमा ‘म परलोक जाँदैछु’ लेख्नुभएको थियो ।

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि सर्टलिष्ट (छोटो सूची) मा परेका विवादित व्यक्तिबारे पुनर्विचार गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र उपकुलपति सिफारिस समितिको ध्यानाकर्षण गराएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले उपकुलपतिका लागि सर्टलिष्टमा परेका व्यक्तिबारे छलफल गर्दै बौद्धिक चोरी, भ्रष्टाचार मुद्दा लागेका र सूचना लुकाएको अभियोगमा जरिवाना पाएका पनि सर्टलिष्टमा परेकाले नियुक्तिको प्रक्रिया तत्काल रोक्नुपर्ने भनेपछि समितिले विवादित व्यक्तिबारे पुनर्विचार गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र उपकुलपति सिफारिस समितिलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य नरबहादुर बिष्टले न्यायाधीश यज्ञप्रसाद आचार्यलाई अपराधीको संज्ञा दिनुभएको छ ।

सोमवारको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उहाँले काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यले अरुण चौधरीलाई दुई दिनमै छोड्न आदेश दिएको भन्दै न्यायधीशमाथि भ्रष्टाचारी र अपराधीको आक्षेप लगाउनुभएको हो । उहाँले आफूले छोड्न आदेश दिने न्यायाधीशको मुगु सरुवा गरेकोप्रति असन्तुष्टि जनाउँदै मुगु नेपाल नै भएकाले अनैतिक् काम गर्नेलाई न्यायपरिषद्ले कारबाही गर्नुपर्ने माग गर्नुभयो ।

काठमाडौं । गृह मन्त्रालयले आगामी फागुन १ गते निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको स्पष्ट पारेको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आज एक सूचना जारी गर्दै सर्वोच्च अदालतको फैसलाका आधारमा मन्त्रिपरिषद्को निर्णयानुसार गत फागुन २ गते राजपत्रमा प्रकाशित बिदा कायम नरहेको जानकारी दिनुभयो ।

काठमाडौं । दुई ब्याटरले शतक पूरा गरेपछि नेपालले सोमवार क्यानडासँगको तेस्रो एकदिवसीयमा ९ विकेटको रबाफिलो जितसँगै तीन खेलको श्रृंखला क्लिन स्विप गरेको छ ।

कीर्तिपुरमा ओपनर अनिल साहले ११२ रन र भीम सार्कीले १०१ रनको शतकीय इनिङ खेले । अनिल र भीमको शतकीय प्रेरणामा त्रिवी क्रिकेट मैदानमा क्यानडाले दिएको दुई सय ३३ रनको मध्यम लक्ष्य नेपालले मात्र एक विकेट गुमाएर ४४.३ ओभरमा नै पूरा ग-यो ।

अनिल र भीमले नेपालका लागि दुई कीर्तिमान पनि बनाए । यी दुईले नेपालको तर्पmबाट दोस्रो विकेट र कुनैपनि विकेटका लागि अहिलेसम्मकै ठूलो (१८९ रन) साझेदारी गरे । यसअघि दोस्रो विकेटका लागि एक सय ३९ रन र कुनैपनि विकेटका लागि १७१ रनको कीर्तिमान साझेदारी थियो ।

रुपन्देही । बुटवल उपमहानगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय प्रथम बुटवल मेयर कपको उपाधि अक्सफोर्ड माविले जितेको छ।

सोमबार भएको फाइनल खेलमा नवीन औद्योगिक माविलाई १–० गोलको अन्तरले हराउँदै अक्सफोर्डले उपाधि जितेको हो।

देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा विजयी अक्सफोर्डले उपाधिसँगै १ लाख रुपैयाँ र शिल्ड पाएको छ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?