धर्मको आधारमा रहने अर्थतन्त्र नै नियामक हो

Read Time = 15 mins
A A- A+

धर्मको अन्तर्गत अर्थ हुन्छ र अर्थले नै जीवन तथा सभ्यताका हरेक कुरा नियन्त्रण गर्दछ भन्ने पूर्वीय शास्त्रीय मान्यता हो । यहाँ प्रयोग भएको धर्म शब्दको अर्थ पूजापाठ, ईश्वर उपासना आदि होइन । कमोवेश यसलाई नैतिकताको अर्थमा लिन सकिन्छ । अर्थको अर्थ यहाँ सम्पत्ति, वस्तु, मुद्रा, कमाइ, खर्च आदि नै हो । जुन र जसरी गरेको कमाइ र जे मन लाग्यो त्यसरी खर्च गर्ने कुरा ठीक होइन भन्ने मान्यता स्थापित गराउन धर्म शब्द प्रयोग भएको छ । राजनीतिले चाहे जस्तो गरेर अर्थनीति चलाउने होइन अर्थनीतिले निर्देश गरेजस्तो राजनीति हुनुपर्दछ र अर्थनीति नैतिकताको कसीमा सही हुनुपर्दछ । 

सनातनी सभ्यताको दर्शनले प्रतिपादन गरेको अर्थशास्त्र नै धर्मशास्त्र अधिनभित्र रहेर अन्य सबैलाई नियन्त्रण गर्ने प्रमुख शक्ति हो । यसकोे व्याख्या महाभारतमा छ । पूर्वीय सभ्यताका आलोचकहरूले यसको प्राचीनतामा जत्तिकै शंका गरे पनि महाभारत ग्रन्थलाई पाँच हजार वर्ष पुरानो मानेका छन् । सनातनले महाभारत पनि यति नै पुरानो दात्री गरेको छ । महाभारत द्वापर युगको अन्त्यतिरको घटना भन्ने मान्यता हो । अनि द्वापर सकिएर कलि लागेको ५२औं शताब्दी हो वर्तमान । 

यो सनातन काल्पनिक होइन भन्ने प्रमाण हो जसलाई छिद्रान्वेशीहरूले विरोध गर्न सकेका छैनन् । यसरी हेर्दा यो सभ्यता विश्वको सबैभन्दा पुरानो जीवित सभ्यता हो । कठिन लाग्ने तर परिस्कृत संस्कृतमा अझ छन्दोबद्ध कवितामा लेखिएका कुराले गरेको संकेत के हो भने यो ग्रन्थ रचना हुनुभन्दा कैयौं शताब्दी पहिलेदेखि नै सनातनी समाज आफ्नो सभ्यताको उत्कर्षमा थियो । 

सनातनी सभ्यताको प्राचीनता प्रमाणित गर्नु यो आलेखको विषयवस्तु होइन । तै पनि यसको प्राचीनताको कुरा उठान गर्नुपर्ने कारण उठान गर्न खोजिएको विषय यही सभ्यताको हिस्सा हो भन्ने स्थापित गर्नु हो । ज्ञानमा आफ्नो स्वामित्व दाबी गर्न पाश्च्यात्य समाज चतुर छ । उदाहरणको निमित्त वर्तमानमा पनि शौचपछि पानी होइन कागज प्रयोग गर्ने त्यो समाज पूर्वीय समाजलाई शौचपछि पानीले हात धुन सिकाउने परियोजना चलाउँछ । 

यसरी सबै विषय, वस्तु आफ्नो दर्ता गर्ने एकाइमा दर्ता गरेर त्यसको प्रयोगको शुल्क दाबी गर्ने पाश्च्यात्य समाज देख्दा मध्ययुगमा हब्सी जातिका कबिला नै जंगली जनावर जस्तै पक्रेर स्वामित्व दाबी गरेसरह लाग्छ । त्यसैले यो विषयमा आपूm पुरानो भएको भनेर पाश्चात्य सभ्यताले गर्नसक्ने सम्भावित निरस्त्र गर्न खोजिएको हो । 

सनातनी सभ्यता बहिरका अन्य चिन्तकहरूले राजनीतिलाई प्रमुख भनेका छन् । अपवादको रूपमा कार्लमाक्र्स र उनले प्रतिपादन गरेको साम्यवादले मात्र अर्थशास्त्रलाई राजनीतिशास्त्रको समकक्षमा राखेको छ । साम्यवादको सम्पूर्ण सिद्धान्तको आधार नै आर्थिक असमानता र त्यसले पैदा गरेको विभेदमा अडेको छ । तैपनि अर्थतन्त्रअन्तर्गत राजनीति पर्दछ भन्ने कुरा खुलेर स्वीकार गरिएको छैन । पूरा सिद्धान्त आर्थिक आधारमा भए पनि त्यसलाई प्रयोगमा ल्याउँदा राजनीतिक वर्चश्व रहेकाहरूको समूहमा अर्थतन्त्र राख्ने प्रयास भएको छ । सम्भवतः साम्यवादले आपूmलाई रूपान्तरण गर्दै लैजानुपरेको र पारम्परिक साम्यवाद त्यही रूपमा रहन कठिन भएको हुनसक्छ । यो आकलन ठीक नहुन सक्छ तर साम्यवादको आधार नै आर्थिक भए पनि उसले राजनीतिभित्र अर्थशास्त्र पर्छ भन्ने मान्यतालाई मानेकोे भने छ ।

प्रजातान्त्रिक, लोकतान्त्रिक वा यस्तै नामले पुकारिने विश्वको सबैभन्दा राम्रो भनिने राजनीतिक प्रणाली भरसक आर्थिक कुरामा निरपेक्ष रहने प्रयत्न गर्दछ । तर, ऊ पनि केही पुँजीपतिहरूलाई अर्थतन्त्रमाथि नियन्त्रण राख्ने सहुलियत प्रदान गर्दछ । यसरी अदृश्य रूपमा राजनीतिमा निर्वचितहरूको काँधमा चढेर नियन्त्रण गर्ने मौका पुँजीपतिहरूलाई दिन्छ । त्यसको प्रतिद्वन्द्वीको रूपमा आएको साम्यवादले आर्थिक कुराको महत्व बुझेको छ । सर्वसाधारणको आधारभूत आवश्यकता पूरा गर्न आवश्यक पर्ने सम्पत्तिबाहेक हरेक सम्पत्ति तथा उत्पादनका साधनमा शासनको नै प्रभुत्व रहनुपर्ने कुरामा जोड दिन्छ । 

राजनीतिलाई नै अन्तिम सत्य मान्ने तर तेस्रो विश्वको अभावग्रस्त समाजमा आर्थिक कुरा बेगर जान नसकिने अवस्थालाई सम्बोधन गर्न साम्यवादी समाजवादको केही कुरा र प्रजातान्त्रिक दर्शनको स्वतन्त्रताबाट केही कुरा लिएर आएको प्रजातान्त्रिक समाजवादले कमसेकम आर्थिक मामिला छोडेर राजनीति नचल्ने रहेछ भन्ने तत्वबोध गरेको कुराको रूपमा लिन सकिन्छ ।

मानवसभ्यताको सुरुदेखि र हरेक सभ्यतामा अर्थले नै निर्देशित गरेको हुन्छ, राजनीतिशास्त्रभित्र अर्थशास्त्र पर्ने नभई अर्थशास्त्रको एक हिस्सा राजनीतिशास्त्र हो । भूतलमा आफूलाई स्वर्गकै रूपमा धेरैको मनमा स्थापना हुन सफल संयुक्त राज्य अमेरिकालाई सबैले प्रजातान्त्रिक व्यवस्थाको उच्चतम उदाहरण मान्छन् । बेलाबेलामा पुँजीपतिहरूको हातमा फुक्का छोडिएको अर्थतन्त्रले विश्वलाई नै तहसनहस बनाउन सक्ने आर्थिकमन्दी जन्माउने गर्दछ । 

यसले साम्यवादीहरूले अर्थतन्त्रमा शासनको नियन्त्रण चाहिन्छ भन्ने उदाहरण दिएको सबैलाई चित्त नबुझे पनि राजनीतिलाई आर्थिक कुराले नियन्त्रण गरेको स्पष्ट उदाहरण भने पक्कै हो । साम्यवादीहरूले धनको महत्व अरूले भन्दा धेरै बुझेका हुन्छन् र धन कमाउने प्रसंगमा (मुलुक कै अर्थतन्त्र भने) अत्यन्तै सम्वेदनशील हुन्छन् भन्ने कुराको उदाहरण नेपालमा प्रसस्त पाइन्छ । अहिलेका प्रमुख भएका वामपन्थी दलका नेताहरूको सम्पत्ति सञ्चय तथा विलासीतापूर्ण जीवनप्रतिको मोह यसको राम्रो उदाहरण हो ।

स्थानीयस्तरमा हुने हरेक काममा जहाँ पनि कम्युनिष्ट विचारधाराका मानिस प्रभावशाली हुन्छन् त्यहाँ उनीहरूले शोषक, सामन्ति वा यस्तै नामले विभूषित गर्ने गरेको वर्गका प्रतिनिधिहरू पुजित भएको सबैले देखेको कुरा हो तर यसतर्पm सबैको ध्यान नगएको हुनसक्छ । कसैले साम्यवादीहरूको यो धन मोह औल्याइहाल्यो भने स्थायी जवाफ हुने गर्दछ, यो सुरुको अवस्थाको क्रान्ति हो, समाजवादबाट साम्यवादमा गएपछि मात्र यो सबै आपैंm ठीक भएर जान्छ । 

साम्यवादको अवस्था आउँन युगौं लाग्न सक्छ तसर्थ अहिले यसको वकालत गर्ने नेताले विलाशितापूर्ण जीवनयापन गर्न पाउनुपर्छ भन्ने जस्तो अर्थ लाग्ने यस्तो व्यवहार भने सर्वसाधारणलाई मुर्ख बनाएर दुनो सोभ्mयाउने चाल नै हो भन्न नेपालमा वामपन्थी नेता प्रचण्डको लाखौं रुपैयाँ महिनाको भाडा (?) को बासस्थान र मुलुकको अहिलेको संविधानले व्यवस्था गरेको सबैभन्दा उच्च मान्यताक्रमको व्यक्तिभन्दा ठूलो हुँ भन्ने अहंकारले प्रष्ट गर्दछ । 

सनातन समाजले अपनाएको शासन प्रणालीमा अर्थतन्त्रलाई प्रमुख माने पनि त्यसलाई शासनले नियन्त्रण गर्ने कुरा थिएन । जसरी व्यक्तिको महत्व शासनमा धेरै छ तर उ स्वतन्त्र रहनुपर्दछ भन्ने मान्यतालाई उच्च व्यवस्था मानिन्छ त्यसै गरेर अर्थतन्त्रको सबै क्षेत्रमा नियन्त्रकको भूमिका हुन्छ र यो सर्वसाधारणको हातमा स्वतन्त्र हुनुपर्दछ । 

यसो भनिरहँदा स्वतन्त्रताको नाममा जे पनि गर्न छुट भन्ने चाहि होइन, आपराधिक कुराहरू रोक्नु र अन्याय हुन नदिनु शासनको प्रमुख र धेरै जसो अवस्थामा एकमात्र कर्तव्य हो । चाणक्यले लेखेको प्रख्यात राजनीतिशास्त्रको पुस्तकको नाम नै कौटिल्यको अर्थशस्त्र छ । सनातनमा राजाले (शासनले) गर्नुपर्ने काममा अन्याय अत्याचार हुन नदिनु, अपराधीलाई दण्ड दिनुपछिको महत्वपूर्ण काम नै उत्पादन प्रणालीलाई सुचारु राख्नु थियो ।

अर्थशास्त्रले अझ नैतिक बन्धनमा रहेको अर्थशास्त्रले नियन्त्रण गरेको समाजको प्रारूप कल्पना यस्तो हुन जान्छ । अप्रत्यक्ष करहरूको न्यूनीकरण र प्रत्यक्ष करप्रणाली प्रवद्र्धन हुनुपर्छ । त्यसले जनताले राजस्व आफ्नो कमाइबाट जम्मा हुन्छ बोध गर्दछन् र राजस्व अपव्ययमा निगरानी गर्दछन् । व्यावसायिक मिलेमतोजन्य एकाधिकार निषेध हुनुपर्दछ । 

त्यसले कुनै पनि पेशामा ठालुहरूले थिचोमिचो गरेर आपूm प्रतिकूल प्रतिद्वन्दीहरूलाई समाप्त पार्न नसकून् र उपभोक्ताले सुलभ मूल्यमा सेवा वा वस्तु प्राप्तगर्न सकून् । आफ्नो सेवा वा व्यवसायको मूल्य आपैंmले गर्न पाउने अधिकारको स्थापना हुनुपर्छ । त्यसले कसले तोकेको मूल्यमा आफ्नो सेवा वा वस्तु बिक्री गर्न नसकेर भोकै रहनुपर्ने अवस्था नआओस् । अरूलाई लाग्नसक्ने घाटा बचाउँदा अर्थात् अरूको हितको निमित्त आपूm समाप्त हुनु नपरोस् । 

बोलीमा मात्र होइन व्यवहारमा पनि ल्याउन सकिने सिद्धान्तबाहेकका सिद्धान्तको समाप्ति, ताकि आजको कमाइ खान नपाई अनिश्चित भविष्य हेरेर समाप्त हुनु नपरोस् । वित्तीय कारोबारको नियमन र व्यक्तिले पनि नियमअन्तर्गत कारोबार गर्न पाउने स्वतन्त्रता, ताकि गर्जो टार्न एकले अर्काको सहायता गर्न सकून् । कामदारको उद्यमी र उद्यमीको कामदार छान्न पाउने व्यवस्था, ताकि एक पटकको रोजाइ गलत भएमा सही रोजाइ गर्न सकियोस् तथा सही टिम बनोस् । योग्यता र क्षमताको आधारमा पारिश्रमिक निर्धारण गर्ने स्वतन्त्रता, ताकि काम गर्ने र नगर्नेलाई अलग व्यवहार हुन सकोस् । पेशा वा व्यावसाय बदल्न पाउने स्वतन्त्रता, ताकि रोजाइको अवसर रहोस् । 

चाहे शासनले होस् वा पुँजीपतिले उत्पादनका साधन स्रोत र सम्पत्तिमा एकाधिकार जमाएमा त्यहाँ आर्थिक दुर्घटना अवश्याम्भावी हुन्छ । यस्तो दुर्घटनाले सम्पूर्ण पद्धति नै तहसनहस पार्दछ त्यसैले राजनीतिभित्र अर्थशास्त्र नभई जीवनका सबै क्षेत्रहरू अर्थशास्त्रले नियन्त्रित हुन्छन् । यो नै पूर्वीय दर्शनको मान्यता हो । अनि यो शास्वत सत्य हो । जबसम्म यसलाई स्वीकार गरिँदैन समाज, राजनीति, अर्थनीति सबैमा प्रदूषण फैलिनै रहन्छ । आज एउटा सफा गर्‍यो भोलि अर्को नयाँ प्रदूषण आइरहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?