अबको निर्वाचनमा हामी निर्णायक अवस्थामा हुन्छौँ : भुवन पाठक, महामन्त्री राप्रपा

कृष्ण भुसाल
Read Time = 28 mins

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै मुलुकका राजनीतिक दलहरूको सक्रियता बढेको छ । आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरू आन्तरिक तयारीमा जुटेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाले निर्वाचन केन्द्रित कार्यक्रममा पार्टीभित्र आन्तरिक तयारी अगाडि बढाइरहेका छन् । राजसंस्था र हिन्दू राज्य पुनस्र्थापना गर्ने राजनीतिक एजेन्डा बोकेको राप्रपाले निकै लामो समयपछि नयाँ नेतृत्व पाएको छ । गत निर्वाचनमा टिठलाग्दो जनमत पाएको राप्रपाले आगामी निर्वाचनको तयारी कसरी गरिरहेको छ ? के राप्रपाले आफ्नो शक्तिलाई बढाउन सक्ला ? यी र यस्तै जिज्ञासासँग केन्द्रित रहेर हिमालय टाइम्सका लागि कृष्ण भुसालले महामन्त्री भुवन पाठकसँग अन्तक्र्रिया गर्नुभएको छ । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको मुख्य अंश:-

मुलुकको राजनीतिक पोखरीमा विभिन्न किसिमका छालहरू उठिरहेका छन्, यी सबै घटनालाई राप्रपाले कसरी हेरिरहेको छ ?

देशको समग्र वस्तुस्थितिलाई विश्लेषण गर्ने हो भने सकारात्मक ढंगले अगाडि बढिरहेको छैन । विगतमा कांग्रेस कम्युनिष्टले सबै समस्याको एउटै औषधि गणतन्त्रसहितको नयाँ संविधान भनेर भनिरहेका थिए । त्यसअनुसार नयाँ संविधान पनि जारी गरियो । दुई तिहाइ बहुमतको सरकार पनि बन्यो । तर, अवस्था झन् जटिल र समस्या अझ विकराल बन्दै गएको छ । अहिलेको जुन सरकार छ त्यो सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकार हो । यो सरकारभित्र पनि अन्तरद्वन्द्व बढेको देखिन्छ । विपक्षी दल पनि करिब-करिब प्रमुख प्रतिपक्षको भूमिकामा छैन । अब अहिले सरकार चलिरहेको अवस्थामा छैन, संसद चलिरहेको छैन, यस्तै अदालत पनि चलिरहेको छैन । बल्ल अहिले केही निकास निस्कने जस्तो देखिएको छ अदालतमा । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जहाँ राम्रोसँग चलिरहेको छैन त्यहाँ कस्तो होला अनुमान लगाउनुहोस् । यी तीनवटाकै भूमिका प्रभावकारी हुनुपर्ने तर विडम्बना हामीकहाँ भएको छैन । यो व्यवस्थाप्रति जनताको विश्वास गुम्दै गएको छ ।

मुलुकको आर्थिक अवस्था नाजुक अवस्थामा पुगेको छ । मौलाउँदो भ्रष्टाचार, मूल्यवृद्धि, गरिबी र बेरोजगारीले जनतामा निराशा बढ्दै छ । यी सबै विषयहरूमा खबरदारी गर्ने जिम्मेवारी त तपाईंहरूको पनि त होला नि ?

हो, यतिबेला मुलुकको आर्थिक अवस्था निकै नाजुक रहेको छ । मलाई लाग्छ अहिलेसम्मकै सबैभन्दा नाजुक अवस्थामा छ । रेमिट्यान्स घटेको छ । मूल्यवृद्धि तीव्ररूपमा बढेको छ । शोधनान्तर घाटा बढेको छ । पुँजीगत खर्च भइरहेको अवस्था छैन । विकास निर्माण करिब-करिब ठप्पको अवस्थामा छ । झन् पेट्रोलियम पदार्थको मूल्य त तीव्ररूपमा बढेको छ । मुलुकको प्रतिव्यक्ति आय पनि घटिरहेको अवस्था छ । अर्थतन्त्र चलायमान छैन । यसको समाधानतर्फ सरकारमा भएका दलहरू र प्रतिपक्ष पनि जिम्मेवार देखिएका छैनन् । यिनीहरूको सम्पूर्ण ध्यान आफ्नो दलगत र गुटगत स्वार्थमा केन्द्रित छ । सत्तामा कसरी पुग्ने भन्नेमात्रै छ । यतिबेला त आगामी निर्वाचन आउन लागेको भएर पैसा कसरी र कहाँबाट जम्मा गर्ने भन्नेबाहेक यिनीहरूको अर्को ध्यान छैन । यसले गर्दा भ्रष्टाचार मौलाएको छ ।

यस्तै विदेश नीति पनि सन्तुलित छैन । छिमेकी देशको विश्वास पनि क्रमशः हामीले गुमाउँदै गएका छौँ । जुन ढंगले कूटनीतिको सञ्चालन गर्नुपर्ने थियो, त्यसमा परिपक्वता देखिएन । त्यसको पछिल्लो उदाहरण एमसिसी प्रकरणमा देखियो । हामी एमसिसी र बिआरआईको चपेटामा पर्न गएको देखिएको छ । सायद सम्भवतः पहिलोपटक शक्ति राष्ट्रहरू नेपालमा आमनेसामने भएका छन् । आमनेसामनेमात्र होइन टकरावको अवस्थामा देखिनु त्यो हाम्रो डिप्लोम्याटिक फेल्योर हो । जुन ढंगले कूटनीति सञ्चालन गर्नुपर्ने अवस्था थियो त्यसो नगरेकाले यो अवस्था सिर्जना भएको हो ।

अहिलेका राजनीतिक दलका क्रियाकलाप गलत भए होलान्, पात्रका प्रवृत्तिलाई सच्याएर अगाडि बढ्नुपर्ने होला । तर, यसो भन्दैमा राज्यव्यवस्था र प्रणाली नै दोषी भन्न मिल्ला र ? अहिलेका ज्वलन्त समस्यालाई वर्षौँ भोगेर जनताले फ्याँकिसकेको राजतन्त्रले निकास दिन्छ त ?

यतिबेला वास्तविक प्रतिपक्षी हामीमात्रै छौँ । हामी गणतन्त्रको विरोधमा छाँै, राजतन्त्रको पक्षमा छौँ । धर्म निरपेक्षताको विरोधमा छौँ, हिन्दू राष्ट्रको पक्षमा छौँ । हाम्रोजस्तो भूराजनीतिक विशेषता भएको मुलुकमा राजतन्त्र अनिवार्य आवश्यकता हो । राजतन्त्रकालमा भन्दा अहिलेका विकृति र बेथितिलाई हेर्ने हो भने पनि त्यो महसुस हुन्छ । हामी संघीयताको विरोधमा छौँ, सुदृढ स्थानीय स्वायत्त शासनको पक्षमा छौँ । हामी यो मूल राजनीतिकै फरक धार हौँ । हामीले प्रारम्भदेखि नै के भन्दै आएका छौँ भने जुन मार्गचित्रबाट १२ बुँदे दिल्ली सम्झौता भयो र त्यही बाटोमा मुलुकलाई हिँडाउन खोजियो । यसबाट मुलुकले शान्ति र स्थायित्व प्राप्त गर्न सक्दैन । विकास र समृद्धिको कुरा त टाढाको कुरा हो । यसले मुलुकलाई सधैँभरि द्वन्द्वमा राखिराख्छ । हाम्रो जुन प्रारम्भिक भनाइ थियो त्यो अझ पुष्टि हुँदै गएको देखिन्छ । देशको वर्तमान विषम परिस्थितिको समाधान भनेको सबैको स्वामित्व लिएको सरकार आवश्यक छ ।

लामो समयदेखि तपाईंको पार्टीले द्वैध चरित्र देखाउँदै आएको छ । संविधानको पक्षमा पनि मतदान गर्नुभयो अनि मौका मिले सत्ताको स्वाद पनि चाखिरहनुभयोे । सँगसँगै व्यवस्थाको विरोध पनि गरिरहनुभएको छ । यो कस्तो राजनीतिक इमानदारिता वा नैतिकता हो ? 

हामीले संविधानको आलोचनात्मक समर्थन गरेका हौँ । हामीले समर्थन गरेका छैनौँ । जुन बेला संविधान जारी भयो त्यो बेला हामीसँग दुइटा विकल्प थिए, एउटा हामी हतियार बोकेर विद्रोहको बाटोमा हिँड्ने संविधान च्यातेर अर्को यही संविधानसित सहकार्य गर्दै, संविधानलाई उपयोग गर्दै, प्रयोग गर्दै आफ्नो एजेन्डा स्थापित गर्ने । हामीले दोस्रो विकल्प प्रयोग गर्‍यौँ । अहिले पनि हामी त्यही बाटोमा छौँ ।

जनताका सरोकार र असन्तुष्टि एकातिर छन् तर तपाईँहरूले त्यसलाई नबुझेर व्यवस्थाप्रतिको वितृष्णा भन्ने विश्लेषण गर्नुभएको त हैन ?

जनसरोकारका कैयौँ विषयप्रति हाम्रो पनि गम्भीर चासो छ । तर, कुनै न कुनै रूपमा ती विषयहरू हाम्रो मुलुकको राजनीतिक व्यवस्था र प्रणालीसँग पनि जोडिएका छन् । राष्ट्रको अस्तित्व र अस्मितासँग गाँसिएका छन् । हामीले उठाएका माग जायज छन् । देशको हितमा छन् । भ्रममा रहनुभएकाहरूले पनि विस्तारै कुरा बुझ्दै आउनुभएको छ । हामीले पनि बुझाउँदै लगेका छौँ । जुन गुलिया सपना बाँडेर जनतामा भ्रम छरेर आएका थिए उनीहरूलाई जनताले अब बुझ्न थालिसकेका छन् ।

दैनिक हजारौँको संख्यामा युवाहरू विदेश गइरहेका छन् । राजनीतिप्रति वितृष्णा बढिरहेको छ । अहिलेका प्रमुख दलहरूसँग उनीहरू रुष्ट छन् तर राप्रपाले पनि त्यसको उपयुक्त विकल्प हामी छौँ भनेर जनतामा विश्वास जित्न सकेको छैन नि ?

हो, तपाईंले भनेजस्तै आमजनतामा निराशा व्याप्त छ, देश दिनानुदिन अधोगतितर्फ छ । झण्डै ३०-३१ वर्ष भयो कांग्रेस-कम्युनिष्टले देशमा शासन गरेको । ०६२-०६३ को परिवर्तन भएको पनि यत्रो वर्ष भयो । यो बीचमा देशभित्र १०-१५ हजारलाई रोजगारी दिने कलकारखाना खुलेको कहीँ तपाईंले सुन्नुभएको छ, भएका कलकारखाना कौडीको मूल्यमा बिक्री भए । निजी क्षेत्रलाई बिक्री गरिएका कलकारखाना पनि ध्वस्त भए । नयाँ उद्योगधन्दा खोलिएको छैन रोजगार दिनका लागि । देशमै कुनै भविष्य नदेखेपछि युवाहरू विदेश पलायन हुन बाध्य भएका छन् । देशको यो जनशक्तिलाई आफ्नै देशमा लगाउन कुनै तत्कालन र दीर्घकालीन योजना नै छैन देश हाँक्नेहरूसँग । अझ दुर्भाग्य त के छ भने वैदेशिक रोजगार विभाग छ, विदेशमा युवाहरू पठाउनका लागि विभाग नै छ, मन्त्रालय पनि छ, सबै चिज छ तर स्वदेशमै स्वरोजगार तयार गर्ने कुनै मन्त्रालय पनि छैन, विभाग पनि छैन, योजना पनि छैन, कार्यक्रम पनि छैन । खालि हचुवाका भरमा कहिले युवा स्वरोजगार कार्यक्रम त कहिले के ल्याइएको छ । यसमा करोडौँ रुपैयाँ बाँडिएको छ तर त्यसको कुनै रिजल्ट छैन । जम्मै आफ्ना नजिकका आसेपासे र कार्यकर्तालाई बाँडिएको छ । त्यो भएर मूलरूपले नै यो अहिलेको यो नेतृत्व पूर्ण असफल भएको छ । किनकि लामो समयदेखि पार्टीमा पनि यिनीहरू नै छन्, सरकारमा पनि यिनीहरू नै छन् । पटक-पटक यिनीहरू आलोपालो सरकारमा पुगेर लुटधन्दा चलाएकै छन् । देशको अवस्था झन् पछि झन् अधोगतितर्फ लागेको छ । यिनीहरू असफलमात्र होइन, बदनाम पनि छन् । कहिलेसम्म जनताले यो नेतृत्वलाई स्वीकार गर्ने । राष्ट्रिय राजनीतिलाई हेर्ने हो भने हामीले पहिलोपटक नेतृत्व परिवर्तन गरेर हेरेका छौँ । हामीले त नेतृत्व परिवर्तनको आवाजलाई सम्बोधन गर्‍यौँ  नि । पहिलोपटक निर्वाचनमार्फत् नेतृत्व परिवर्तन गरेर हामी अगाडि बढेका छौँ । तपाईं हेर्नुहोस् लामो समयदेखि विभिन्न पार्टीमा एउटै नेतृत्व बारम्बार दोहोरिएको छ । हामीले पुस्तान्तरणमात्र होइन, युगान्तकारी रूपान्तरण गरेका छौँ । हामीले विकल्प दिएका छौँ । हामीप्रति आमजनताको आशा र भरोसा बढेको छ ।

लामो समयदेखि एउटै व्यक्तिको निजी सम्पत्तिजस्तो भएको पार्टी नेतृत्व त परिवर्तन गर्नुभयो । तर, शक्तिशाली नेता पूर्वअध्यक्ष कमल थापालाई पार्टीमा समेट्न सक्नुभएन । राप्रपामाथि आशा राख्ने जनतालाई त यसले निराश बनायो होला नि ?

कमल थापाले पार्टी छोडेर जाँदाखेरि त्यसको तात्विक फरक परेको छैन । महाधिवेशनको म्यान्डेट सबैले स्वीकार गर्नुपर्ने हो तर त्यसो हुन सकेन । पारदर्शी ढंगले महाधिवेशन सम्पन्न भएको हो ।

थापाले त दरबारले मलाई अध्यक्ष हुन दिएन भन्दै अलग पार्टी पनि गठन गर्नुभयो । उहाँको मागअनुसार छानबिन पनि गर्नुभएन नि तपाईंहरूले पनि ?

त्यसो होइन । त्यो उहाँले किन र के कारणले भन्नुभयो त्यसको कुनै अर्थ छैन । हामी निर्वाचित भएर आयौँ । हामी कसरी निर्वाचित भयौँ त ? त्यो चाहिँ महाधिवेशनप्रति अविश्वास हो । त्यस किसिमको कसैले महाधिवेशनमा हस्तक्षेप गरेको थिएन ।

त्यत्रो वर्ष पार्टी नेतृत्व गरेको व्यक्तिले छाड्दा त्यसको असर त पक्कै पर्ला । अनि धेरै नेता कार्यकर्ता अब कमल थापाको राप्रपातर्फ लाग्दैछन् भन्ने छ नि ?

यसले हाम्रो मूल राप्रपामा कुनै असर गरेको छैन । किनभने पार्टीमा निर्वाचित भएका व्यक्तिहरू र पार्टीका शीर्ष नेताहरू कसैले पार्टी छोडेको छैन । पहिला उहाँका नजिक भएका नेताहरू पनि उहाँसँगै लाग्नुहुन्छ भन्ने थियो तर उहाँसँग कोही जानुभएको छैन । लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, दीपक बोहोरालगायत कोही पनि जानुभएको छैन । सबै मूल पार्टीमै हुनुहुन्छ । जिल्ला-जिल्लामा पनि जिल्ला अध्यक्षहरूदेखि लिएर सबै यतै हुनुहुन्छ । केही चुनाव हारेका गए होलान् । केही व्यक्ति गए होलान् । त्यो खुला मञ्चमा जादुगरले जादु देखाउँदा पनि त राम्रै भिड जम्मा हुन्छ नि । त्यस्तै हो ।

राप्रपा अब कसरी अगाडि बढ्छ ?

अब अहिले हाम्रो फोकस निर्वाचनमै छ । पहिलो स्थानीय निर्वाचनमै अर्जुनदृष्टि छ । परिणाम पनि हामी राम्रै ल्याउने तयारीका साथ लागेका छाँै । जनलहर छ, यसले हामीलाई उत्साहित बनाएको छ । त्यसपछि हुने संसद्को निर्वाचनमा हामी फोकस गर्छौ । हामी आन्दोलन र निर्वाचनलाई सँगसँगै लैजान्छौँ ।

अबको निर्वाचनमा राप्रपा कुन अवस्थामा आउने अनुमान गर्नुभएको छ ?  

अबको संसदीय निर्वाचनमा हामी निर्णायक अवस्थामा हुन्छौँ । यो विगत तीस वर्षमा कांग्रेस-कम्युनिष्टको असफलता । एक पक्षमा मात्र होइन हरेक पक्षमा उनीहरूको नालायकीपन । देश र जनताप्रति उनीहरूको गैरजिम्मेवारीपना । राजनीतिक, आर्थिक, सामाजिक, सुशसानका पक्षमा, विदेश नीतिको पक्षमा, जनतलाई सहज सुविधा पनि उपलब्ध गराउन नसकेको पक्षमा, शान्तिसुरक्षको पक्षमा, विकासको पक्षमा, रोजगार सिर्जना गर्ने पक्षलगायत सबै पक्षमा यिनीहरू असफल भएका छन् । यो यतिबेला क्लाइमेक्समा पुगेको छ । जनताले प्रतीक्षा गर्ने पनि समय हुन्छ । यिनीहरूलाई पटक-पटक मौका दिइयो तर जहिले पनि यिनीहरूले आफ्नो मौका खेर फाले । नेपाली जनतालाई सधैँ झुक्याउँदै आए यिनीहरूले अब जनता सचेत भइसकेका छन् । सञ्चारका कारण, सामाजिक सञ्जालका कारणले जनताको चेतनाको स्तर अभिवृद्धि भएको छ । सामान्य जनताले पनि यो सबै बुझेको छ ।

राजसंस्था र हिन्दू राष्ट्र पुनस्र्थापना गर्ने एजेन्डामा जनताको साथ रहला त ?

होइन, जस्तै कम्युनिष्टहरू नेपालमा यति शक्तिशाली छन् । कम्युनिष्ट सिद्धान्त साम्यवादी सिद्धान्त त संसारबाट लगभग बिदा भएको अवस्था छ । त्यो कम्युनिष्टको कुरा गर्दा प्रतिगामी नहुने, त्यो मात्र होइन उनीहरूको कार्यक्रममा र कार्यालयमा पनि माक्र्स, लेनिनका तस्विर झुण्डाइन्छ । आदर्श मान्छन् । तिनलाई आदर्श मान्नेको पार्टी अग्रगमन रे हामी देश निर्माण गर्ने दूरदर्शी पृथ्वीनारायण शाहलाई आदर्श मानेर राजनीति गर्ने हामी चाहिँ प्रतिगामी हुने यो कस्तो विडम्बनामा छौँ हामीहरू, कस्तो सोचको विकास भएको छ हाम्रो ? फेरि हामीले जुन राजाको कुरा गरिरहेका छौँ, हिजोको जस्तो राजाको कुरा होइन, सक्रिय राजसंस्थाको कुरा होइन । हामीले त अभिभावकीय भूमिका खोजेका हौँ । राजनीतिभन्दा माथि उठेको, दलीय स्वार्थभन्दा माथि उठेको संस्था देशको आवश्यकता हो । यो त हामीले दुई/दुईजना राष्ट्रपति बनाएर हे¥याँै नि । उनीहरू राष्ट्रको राष्ट्रपति हुन त सकेनन् नि । राष्ट्रको चेहेरा झल्किएन त्यहाँ । पार्टीगत, दलगत र गुटगत स्वार्थसमेत मात्र होइन व्यक्तिगत स्वार्थ पनि देखियो । यो सबै विकृतिका कारण हाम्रो एकताको प्रीतकका रूपमा राजसंस्था स्थापित गर्न खोजेका हौँ ।

गणतन्त्रात्मक संविधानपछिको अवस्थालाई कसरी मूल्यांकन गर्नुभएको छ ?

०६२-०६३ को आन्दोलनपछि जुनरूपमा राजसंस्था हटाइयो र धर्म निरपेक्षता घोषणा गरियो, त्यसमा जनताले एकदमै चित्त दुखाएका छन् । हिन्दुत्व भनेको धर्ममात्र नभएर हाम्रो संस्कार, संस्कृति, रीतिरिवाज, हाम्रो परम्परा र मूल्य मान्यतासँग जोडिएको छ । दैनिक क्रियाकलापसँग जोडिएको विषय हो । यो सहिष्णुतामा विश्वास गर्ने धर्म हो । धर्मभन्दा पनि हाम्रो यो संस्कृति र फरक पहिचान हो । त्यसलाई जुन ढंगले हटाउने काम भयो त्यो चाहिँ अत्यन्त डरलाग्दो छ । यसले हाम्रो नेपालमा धार्मिक द्वन्द्व विजारोपण गरेको छ । दीर्घकालीन धार्मिक द्वन्द्वमा हामीलाई धकेलिएको छ । यसलाई हामीले समयमै सच्याएनौँ भने ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । अहिले केही देखिएको छैन तर यो विस्तारै विस्तार हुँदैछ । जुनरूपमा पछिल्लो समय धर्म परिवर्तन गरिएको छ, यसले द्वन्द्वलाई मलजल गरिरहेको छ । एउटा कालखण्डमा पुगेर यो डरलाग्दो किसिमबाट विष्फोट हुने अवस्थामा छ । यसकारण पनि यसलाई रोक्नका लागि पनि समयमै समाधान खोज्नुपर्छ ।

अबको निकास के हो त ?

अहिले हाम्रो संविधान पनि असफल भइसकेको छ । अब समय आएको छ कि सबै राजनीतिक दल बसेर विवेचना गरेर सबैको सहमतिबाटै निकास निकाल्नुपर्छ  । यदि सबैको सहमतिबाट भएन भने, आएन भने हामीले बाध्य भएर हामीले राष्ट्रको, राजसंस्थाको पुनस्र्थापनाका लागि सडक संघर्षमा जानुपर्ने हुन्छ । जनतालाई आहृवान गर्नुपर्ने हुन्छ । त्यो अवस्थाचाहिँ सामान्य अवस्था हुँदैन । हामीले सडकबाट नै यसको स्थापना गर्छौँ । त्यो अवस्था आउँछ ।

स्थानीय चुनाव पनि नजिकिँदै छ, राप्रपा अहिले के-कस्ता गतिविधिमा केन्द्रित भइरहेको छ ?

हामीले पार्टी संगठनका विभिन्न क्रियाकलाप गरिरहेका छौँ । विशेष गरी स्थानीय निर्वाचनको तयारीमा जुटेका छौँ । मुलुकभरि विभिन्न कार्यक्रम भइरहेका छन् । सभाहरू भइरहेका छन् । हाम्रो पार्टीमा प्रवेश गर्नेहरूको एक किसिमको लहर नै आएको छ । यसले हामीलाई अझ उत्साहित पनि बनाएको छ । आगामी निर्वाचनको तयारीमा छाँै । हामी निर्वाचनमार्फत निर्णयक शक्तिमा आउँछौ ।

प्रतिनिधिसभाको अर्ली इलेक्सनको कुरा पनि उठिरहेको छ यसमा तपाईंहरूको धारणा के छ ?

सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा फेरि अर्ली इलेक्सनको कुरा ल्याउनु भनेको समयमै निर्वाचन नगराउने प्रपञ्च हो कि भन्ने आशंका पनि गर्न सकिन्छ ।

तपाईं महामन्त्रीका साथै पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजक पनि हुनुहुन्छ, राप्रपाले स्थानीय तहको निर्वाचनको तयारी कसरी गरेको छ र कति स्थानीय तहमा उम्मेद्वारी दिँदै छ ?

हामी आफ्नो पूरा तयारीमा छौँ । पार्टीले सबै स्थानीय तहमा उम्मेद्वारी दिन्छ । राप्रपाका उम्मेद्वारले जितेका स्थानीय तहमा भएको विकास निर्माण र शून्य भ्रष्टाचारकै कारण पनि यसपटक उल्लेख्य संख्यामा राप्रपाले स्थानीय तहमा सफलता हासिल गर्छ । अहिले सबै तहमा उम्मेद्वार उठाउने निर्णय भए पनि पछि विभिन्न दलसँग हुने चुनावी तालमेलका आधारमा अन्तिम टुंगो लगाउँछौँ । हामीहरू सुदृढ र सबल स्थानीय तहको पक्षमा रहेका छौँ । यसले पनि स्थानीय तहमा राप्रपाको गतिलो उपस्थिति हुन जरुरी छ । हामीले त्यसैअनुसार तयारी गरिरहेका छौँ ।

तपाईं त कमल थापालाई साथ दिनुहुन्न नि ?

वैचारिक द्वन्द्व वा असहमति नभएर व्यक्तिगत निर्णयका आधारमा कमल थापाले पार्टी परित्याग गर्नुभएको हो । म सदैव पार्टीको इमान्दार कार्यकर्ता भएकाले राप्रपा जता रहन्छ म उतै हुन्छु ।

अब फरक प्रसंगमा लागौं- रुस-युक्रेनको युद्धमा नेपालले युक्रेनको पक्ष लिनुलाई तपाईं के भन्नुहुन्छ ?

यसमा त युक्रेनको पक्ष लिनुपर्ने नै थियो । किनभने हामी एउटा सानो देश । जुन ढंगले एउटा सानो देशमा सिधै २१औँ शताब्दीमा आर्मी फोर्समार्फत् आक्रमण गर्नु भनेको कुनै पनि हालतमा राम्रो होइन । २० लाखभन्दा बढी युक्रेनी देश छोडेर जानु परेको अवस्था छ । सबै चिज छोडेर जानुपरेको अवस्था छ । भोलि युद्ध रोकिएला तर थुप्रै धरोहरका साथै हजारौँको ज्यान त गयो । युक्रेनको किभ एउटा ऐेतिहासिक शहर पनि हो । रुसको प्रारम्भमा यो राजधानी पनि थियो । यतिबेला विकसित र युरोपकै सबैभन्दा ठूलो देश पनि हो । त्यो चाहिँ वास्तवमा जायज होइन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?