प्रशिक्षकको व्यवहारप्रति फुटबल खेलाडी असन्तुष्ट

Read Time = 7 mins

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै बन्द प्रशिक्षण नै छाड्नुभएको छ । एएफ्सी एसियन कप छनोट २०२३ को छनोट चरणको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीका नौ सिनियर खेलाडीले प्रशिक्षकको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्दै प्रशिक्षण क्याम्प छाड्नुभएको हो ।

प्रशिक्षणका क्रममा एन्फाको सातदोबाटोस्थित होस्टलमा खेलाडीहरूलाई राखिएको थियो । तर, होस्टलको सेवासुविधा राम्रो नभएको गुनासो गर्नुभएका सिनियर खेलाडी तथा मिडफिल्डर रोहित चन्दले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग गुनासो गरेपछि उहाँलाई प्रशिक्षक अलमुताइरीले टोलीबाहिर राख्नुभएको थियो । कप्तान किरण चेन्जोेङ विदेशी लिग खेल्न व्यस्त रहनुभएका बेला उहाँको अनुपस्थितिमा रोहितले खेलाडीहरूका तर्फबाट प्रशिक्षकलाई कुरा राख्नुभएको थियो ।

रोहितलाई कारबाहीपछि त्यसबारे कुरा गर्न गएका अरू नौ जना खेलाडीहरूलाई पनि प्रशिक्षक अलमुताइरीले क्याम्प छाडेर जान भनेपछि खेलाडीहरू अनुपस्थित भएका हुन् । रोहितसँगै सिनियर खेलाडीहरू सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुमन लामालगायत खेलाडीहरू क्याम्पमा उपस्थित नहुनुभएको हो ।

प्रशिक्षकको व्यवहारप्रति कप्तान किरणले पनि असन्तुष्टि व्यक्त गर्नुभएको छ । माल्दिभ्सको क्लबबाट व्यावसायिक फुटबल खेलिरहनु भएका उहाँले समाजिक सञ्जालबाटैै असन्तुष्टि व्यक्त गर्नुभएको हो । ‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ । राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सही होइन,’ किरणले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैँ खेलाडीको पक्षमा छु ।’
खेलाडी र प्रशिक्षक बीचको विवाद समाधानका लागि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा आफैँ सक्रिय भएर लाग्नुभएको छ । उहाँले खेलाडीहरूसँग कुराकानी गरिरहनु भएको छ ।

यसअघि पनि प्रशिक्षक अलमुताइरी विभिन्न विवादमा पर्दै आउनुभएको छ । यसअघि उहाँले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले आफूलाई काम गर्न नदिएको भन्दै सामाजिक सञ्जालमै असन्तुष्टि व्यक्त गर्नुभएको थियो । लगत्तै उहाँले राजीनामा दिने बताउनुभएको थियो । नेपाललाई पहिलोपल्ट साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याउँदै कीर्तिमान रच्नुभएका अलमुताइरीले त्यसलगत्तै नेपाल नफर्कने घोषणा गर्नुभएको थियो । त्यसको केही सातामा भने अलमुताइरीको सम्झौता नवीकरण गरिएको हो ।

एएफ्सी एसियन कप २०२३ को छनोटको लागि नेपालले गत शुक्रबारदेखि तयारी सुरु गरेको थियो । २५ सदस्यीय टोली अभ्यासमा रहेको छ । घोषित नेपाली टोलीमा किरण कुमार लिम्बू (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी, तेज तामाङ र विशाल राई रहनुभएको छ ।

मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले एसियन कप छनोटको लागि नेपाललाई धेरै मिहिनेत आवश्यक रहेको जनाउँदै अहिले छनोट नहुने उल्लेख गरिसक्नु भएको छ । उहाँले आफूहरू निकै कठिन समूहमा र एसियन कप छनोटमा उत्कृष्ट खेल प्रदर्शन गर्न सक्दो प्रयास गर्ने बताउनुभयो ।

‘हामी एसिया कप छनोट हुन सक्दैनौँ । यो सत्य हो । हामी यसको लागि धेरै पछाडि छाँै । सपनासम्म देख्न सकिन्छ । तर, सत्य यो हो कि यो निकै गाह्रो छ,’ अलमुताइरीले भन्नुभयो, ‘सबै टिमको लागि महत्वपूर्ण छ । हामीले सक्दो लडाई गर्ने छौं । हामीसँग छनोट हुने सम्भावना छ । कुवेत घरेलु टिमको मौसम हाम्रो साथमा हुने छैन । जोर्डन एसियाको ठूलो टिम हो । एसिया कप छनोटको लागि हामीलाई धेरै मेहनत चाहिन्छ ।’

छनोटमा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । नेपालको समूहको छनोट खेलहरू भने कुवेतमा आयोजना हुनेछ । हरेक समूहका शीर्ष टोली र पाँच समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन् । छनोट खेल आगामी जुन ८ देखि १४ तारिखसम्म हुनेछ ।

यसमा नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोट प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यस्तै, नेपालले आफ्नो दोस्रो खेल जुन ११ मा कुवेतको सामना गर्नेछ भने जुन १४ मा नेपालले इण्डोनेसियासँग खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?