राष्ट्रपतिका लागि दुई पूर्व-सभामुखबीच प्रतिस्पर्धा

कांग्रेस वरिष्ठ नेता पौडेल र एमाले उपाध्यक्ष नेम्वाङद्वारा उम्मेदवारी दर्ता

अनिल क्षेत्री
Read Time = 21 mins

काठमाडौं । मुलुकको सर्वोच्च पद राष्ट्रपतिको लागि संसद्को नेतृत्व गरिसक्नु भएका दुई नेताबीच प्रतिस्पर्धा हुने भएको छ । यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिनुभएको हो । नेपाली कांग्रेसबाट पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदका लागि शनिबार नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन-२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दिनुभएको हो । कांग्रेसले शनिबार बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । पूर्व-सभामुख, गृहमन्त्री र उपप्रधानमन्त्री भइसक्नु भएका पौडेल गत मंसिर ४ मा तनहुँ-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान रहनुभएको छ भने समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहनुभएको छ । पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् । शुक्रबार राति नेकपा माओवादी केन्द्रसहितको आठ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति गरेको थियो । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन् ।

नेकपा एमालेबाट पार्टीका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । शनिबार दिउँसो नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन–२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराउनुभएको हो । नेम्वाङको उम्मेदवारी दर्तामा ५ प्रस्तावक र ५ समर्थकमा एमालेकै सांसद छन् । नेम्वाङको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विक रहनुभएको छ भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहनुभएको छ । शनिबार बिहान बसेको एमाले केन्द्रीय सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । संविधानसभा अध्यक्ष र पूर्व-सभामुखसमेत रहनुभएका नेम्वाङ एमाले उपाध्यक्ष एवं इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।

जनताको प्रतिनिधिमूलक सर्वोच्च संस्था संसद्को नेतृत्व गरिसक्नु भएका पौडेल र नेम्वाङबीचको प्रतिस्पर्धा भने नेपाली राजनीतिको सबैभन्दा माथिल्लो पदमा विराजमान हुनका लागि हो । नेपालको संविधानले राष्ट्रपतिलाई राष्ट्राध्यक्षको रूपमा प्रस्तुत गरेको छ । फागुन २५ मा हुने निर्वाचनले दुईमध्ये एक उम्मेदवारलाई शीतल निवासको यात्रा गराउनेछ । रामचन्द्र पौडेल २०५१ को मध्यावधि निर्वाचनपछि गठित प्रतिनिधिसभामा सभामुख निर्वाचित हुनुभएको थियो । पौडेल २०५१ पुस २ गते सभामुखमा निर्वाचित हुनुभएको थियो । पौडेल उपप्रधान, स्थानीय विकास, सूचना तथा सञ्चार, गृह, शान्ति तथा पुनर्निर्माणमन्त्री भइसक्नु भएको छ । त्यस्तै, सुवास नेम्वाङले भने २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाबाट सभामुखको जिम्मेवारी सम्हाल्नुभएको थियो । सोही वर्ष माघ १ गते माओवादी समेतको सहभागितामा अन्तरिम व्यवस्थापिका संसद् गठन भयो । माघ ३ गते सो संसद्को सभामुखमा उहाँ नेम्वाङ नै निर्वाचित हुनुभयो । नेम्वाङ २०६५ साउन ९ मा संविधानसभाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । संविधानसभाले नै व्यवस्थापिका संसद्को पनि काम गर्ने भएकाले संविधानसभाका अध्यक्ष नै व्यवस्थापिका संसद्को सभामुख हुने व्यवस्था थियो । नेम्वाङले पनि सोहीअनुसार भूमिका खेल्नुभयो । नेम्वाङ २०५१ मा कानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन राज्यमन्त्री र मन्त्री हुनुभएको थियो ।

संविधानको रक्षा मुख्य कार्यभार : पौडेल
राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले संविधानको रक्षा मुख्य कार्यभार भएको प्रतिक्रिया दिनुभएको छ । शनिबार राष्ट्रपतिको उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै पौडेलले आफूले सबै राजनीतिक दलहरूबाट सुभेक्षा पाएको बताउँदै संविधान रक्षाको कार्यभार पूरा गर्ने बताउनुभएको हो । राष्ट्रपति पदलाई साझा बनाउन एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि योगदान गर्ने आफूले अपेक्षा गरेको बताउँदै पौडेलले भन्नुभयो,‘एमाले अध्यक्ष पनि मसँगै जेल बस्नुभएको हो, पुरानो साथी हो, यो पदलाई राष्ट्रको साझा पद बनाउन उहाँले योगदान गर्नुहोला भन्ने अपेक्षा गरेको छु । नेपालमा आएको परिवर्तनको रक्षा गरेर नेपाली जनताको उन्नति अघि बढाउने, नेपाली जनताको एकता, राष्ट्रिय अण्खडता र राष्ट्रियता सबल बनाउने काममा मेरो सहयोग हुन्छ ।’

जनताको राष्ट्रपति भएको अनुभूत गराउनेछु : नेम्वाङ
नेकपा एमालेका तर्फबाट राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङले आफू राष्ट्रपतिमा निर्वाचित भएपछि जनताको राष्ट्रपति भएको अनुभूति हुने गरी काम गर्ने बताउनुभएको छ । राष्ट्रपतिको लागि उम्मेदवारी मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै नेम्वाङले भन्नुभयो, ‘जतिबेला राष्ट्रपति प्रणाली थिएन । हामीले संविधान बनाएर राष्ट्रपतीय प्रणाली व्यवस्था गरेको छौँ । त्यसभन्दा अगाडि निश्चित कुलको जेठो छोरा राष्ट्राध्यक्ष हुने प्रणाली थियो । तर, हामीले जुनसुकै कुलमा जन्मिएको छोरा या छोरी राष्ट्रपति हुने व्यवस्था गरेका छौँ । अब जनताको राष्ट्रपति व्यवहारमा अनुभूत हुने गरी काम गर्ने मेरो प्रयास हुनेछ ।’

एमाले प्रतिगमनको उद्देश्यबाट पछि हटेको छैन : केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमाले अझै प्रतिगमनको उद्देश्यबाट पछि नहटेको भन्दै राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेको बताउनुभएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै सांसदसमेत रहनुभएका अध्यक्ष केसीले आफ्नो पार्टीले पौडेललाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिँदै भन्नुभयो,‘नेकपा एमालेको नेतृत्वले देशमा प्रतिगमन लाद्न विगत दुई वर्षदेखि लगातार प्रयत्न गरिरहेको छ । अहिले पनि नेकपा एमालेको नेतृत्व प्रतिगमनको उद्देश्यबाट पछाडि हटेको छैन । विगतमा २÷२ पटक संसद् भंग गरेर, ९/९ महिनासम्म संसद्लाई चल्न नदिएर, जनताका आवाजहरूलाई संसद्मा उठाउनबाट सांसदहरूलाई वञ्चित गरेको कुरा सबैको अगाडि जगजाहेर छ । त्यसकारण राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेका छौँ ।’

राष्ट्रपतिमा पौडेलको जित सुनिश्चित : ज्वाला
नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुने निश्चित भइसकेको दाबी गर्नुभएको छ । प्रमुख सचेतक ज्वालाले आफ्नो पार्टीसहित आठ दलहरूको साझा उम्मेदवारको रूपमा पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दिएकाले जित सुनिश्चित भइसकेको दाबी गर्दै भन्नुभयो,‘आठ दलले नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने, समर्थन गर्ने निष्कर्ष हामीले हिजो निकाल्यौँ । त्यसैअनुसार आज उम्मेदवारी दर्ता भएको छ । त्यो निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारले जित्ने पनि निश्चित छ । ओलीले जे भन्नुहुुन्छ, त्यो उल्टो नै भन्नुहुन्छ । नभत्किएको भए त आजैको यो सिनारियोले देखाई पनि सक्यो । किनकि, आज उहाँ एक्लै हुुनुहुन्छ । उहाँको उम्मेदवारको पक्षमा अरू दलहरू कोही पनि छैनन् ।’

आठ दलीय गठबन्धन बनेकै छैन : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस नेतृत्वमा आठ दलीय गठबन्धन नै नबनेको दाबी गर्नुभएको छ । आठ दलहरूबीच राष्ट्रपतिमा कांग्रेसलाई सघाउने कुनै पनि सहमति नभएको जिकिर गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘पुस १० गते सात दलबीचको सहमतिमा अन्य दलले पनि प्रतिबद्धता जनाउने विश्वास छ । आफ्ना प्रतिबद्धताबाट, आफ्ना वचनबद्धताबाट, आफूले सार्वजनिक गरेका विषयहरूबाट कोही पनि पछि हट्ने खालको काम हुन सक्दैन भन्ने हाम्रो धारणा छ । कुनै चिजको पनि एक सर्कल पूरा नगरीकन एउटा जुन प्रतिबद्धता छ, जुन सहमति छ । र, जुन सम्झौता हामीले गरेका छौँ । त्यो पूरा नभई यताउता हुन्छ भन्ने कुरा विश्वास छैन । गठबन्धनको कुनै निर्णय छैन । आठ दलीय गठबन्धन पनि छैन । गठबन्धनका निर्णय पनि छैनन् । हिजो बेलुका प्रधानमन्त्री कार्यालयमा केही दलका साथीहरूलाई बोलाइएको थियो । उहाँहरू हाम्रो सम्पर्कमै हुनुहुन्छ ।’

‘२५ गतेसम्म पानी धमिलो बनाउने प्रयास सफल हुँदैन’
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अहिले नयाँ सत्ता समीकरणको विषयमा छलफल नभएको बताउनुभएको छ । नेकपा एमालेप्रति संकेत गर्दै प्रवक्ता महतले २५ गतेसम्म पानी धमिलो बनाउने प्रयास गरे पनि सफल नहुने जिकिर गर्दै भन्नुभयो,‘उहाँ (एमाले)हरूले अझै २५ गतेसम्म पानीलाई धमिलो बनाउन सकिन्छ कि भन्ने आशय होला । तर, त्यो कुनै सम्भावना छैन ।’

आफूलाई समर्थन गर्न रास्वपा सभापति लामिछानेलाई पौडेलको आग्रह
कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग समर्थन माग्नुभएको छ । शनिबार दिउँसो रास्वपा सभापति रवि लामिछानेलाई भेटेर पौडेलले आफूलाई समर्थन गर्न आग्रह गर्नुभएको हो । भेटमा आफू लोकतन्त्रप्रति प्रतिबद्ध रहेको र लामो राजनीतिक यात्रा रहेकाले समर्थन गर्न आग्रह गरेको जानकारी दिँदै रास्वपा अध्यक्ष लामिछानेले भन्नुभयो,‘उहाँले राष्ट्रपतिमा समर्थन गर्न आग्रह गर्नुभयो । उहाँले लोकतन्त्रप्रति प्रतिबद्ध छु । लामो राजनीतिक यात्रा छ, तपाईंहरूले समर्थन गर्नु र नगर्नुले ठूलो अर्थ राख्छ भन्नुभयो । मैले उहाँलाई पार्टीले निर्णय गर्न बाँकी छ, पार्टीगत निर्णय गर्छौं । तपाईंलाई शुभकामना छ भनेँ ।’ रास्वपाले राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ ।

ओलीले पठाउनुभयो माधव नेपाललाई पत्र
नेकपा एमालेले आफ्नो पार्टीका तर्फबाट राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बनाएका सुवास नेम्वाङलाई सघाउन आग्रह गर्दै एकीकृत समावादीलाई पत्र पठाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गर्दै एमालेका उम्मेदवार सुवास नेम्वाङलाई राष्ट्रपति निर्वाचनमा मतदान गर्न आग्रह गर्दै पत्र पठाउनुभएको हो । ओलीले राष्ट्रपतिको निर्वाचनमा मतदाताका रूपमा रहेका एकीकृत समाजवादीका प्रतिनिधिसभा सदस्य प्रदेशसभा सदस्यहरूलाई एमालेको उम्मेदवारलाई मतदान गरी सघाउन अनुरोध गर्नुभएको छ ।

सरकारबाट बाहिरियो राप्रपा
विकसित राजनीतिक घटनाक्रमसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्र र प्रदेश सरकारबाट बाहिरिएको छ । सरकारमा गएको दुई महिना नबित्दै बाहिरिएको राप्रपाले केन्द्र र प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । शनिबार बसेको संसदीय दल र केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै शनिबार नै पार्टी तर्फबाट संघीय सरकारमा सहभागी राप्रपाका मन्त्रीहरूले पदबाट राजीनामा दिएका हुन् । शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसमक्ष पार्टीका तीन मन्त्री र एक राज्यमन्त्रीले राजीनामा पत्र बुझाएका हुन् । राप्रपाको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री राजीनामा दिएका हुन् । पुस १० मा सात दलबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो । उक्त सहमतिअनुसार बनेका प्रदेश सरकारमा पनि राप्रपाले सहभागिता भएको थियो । प्रदेश सरकारका मन्त्रीहरूले भने आज राजीनामा दिँदै छन् ।

एमालेले तत्काल सरकार नछोड्ने
नेकपा एमालेले तत्काल सरकार नछाड्ने जनाएको छ । शनिबार बिहान बसेको सचिवालय बैठकपछि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमालेले तत्काल सरकार नछाड्ने जानकारी दिनुभएको हो । पार्टीको तर्फबाट उम्मेदवार उपाध्यक्ष सुवास नेम्वाङलाई समर्थन गर्नका लागि कांग्रेसबाहेक अरू पार्टीलाई पत्राचार गर्ने जानकारी दिँदै गुरुङले भन्नुभयो,‘उहाँलाई समर्थन गर्नका लागि नेपाली कांग्रेसको आफ्नै उम्मेदवार भएकोले कांग्रेसबाहेक हामीले सम्पूर्ण पार्टीलाई सहयोगका लागि पत्राचार गर्ने र निरन्तर रूपमा २५ गतेसम्म यो काम जारी रहनेछ ।’ बैठकले पुस १० को सहमति कार्यान्वयनको पहल गर्ने निर्णयसमेत गरेको जानकारी दिँदै गुरुङले भन्नुभयो,‘२५ गते राष्ट्रपति निर्वाचन हुने भएकोले त्यतिबेलासम्म पुस १० गतेको सहमतिअनुसार अघि बढ्नेछौँ ।’

राष्ट्रपतिको निर्वाचनपछि पनि प्रधानमन्त्रीमा प्रचण्डकै निरन्तरता : कांग्रेस
नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनपछि पनि प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डकै निरन्तरता हुने जनाएको छ । नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले राष्ट्रपति निर्वाचनपछि पनि प्रधानमन्त्रीमा प्रचण्डकै निरन्तरता हुने जानकारी दिँदै भन्नुभयो,‘२५ गतेपछि पनि प्रचण्डजी नै प्रधानमन्त्री रहिरहनु हुन्छ । त्यसो भएपछि अस्थिर कसले भन्ने ? प्रचण्डजी नै निरन्तर प्रधानमन्त्री हो । धेरै पहिलादेखि भनेको थिएँ, र अहिले पनि भनिराखेको छु, निरन्तर प्रधानमन्त्री उहाँ नै हो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?