आजदेखि सिनेमा घरमा ‘मन्त्र’, प्रिमियरमा तारिफ

Read Time = 5 mins

काठमाडौं । आज (शुक्रबार) देखि देशभरका सिनेमा घरमा चलचित्र ‘मन्त्र’ प्रदर्शनमा आएको छ । सौगात मल्ल, बुद्धि तामाङ र दिया पुनलगायतका कलाकारको मुख्य अभिनय रहेको चलचित्र ‘मन्त्र’ आजदेखि सिनेमा घरमा प्रदर्शनमा आएको हो ।

यस चलचित्रले बुधबार साँझ गरिएको ‘ग्रान्ड प्रिमियर’ मा सकारात्मक प्रतिक्रिया पाएको थियो । राजधानीको बिग मुभिजमा गरिएको प्रिमियरमा चलचित्र हेरिसकेपछि चलचित्रकर्मी तथा केही राजनीतिज्ञले अर्गानिक चलचित्र भएको भन्दै सबैलाई हेर्न आग्रह गर्नुभएको थियो ।

प्रिमियरमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पनि उपस्थिति थियो । उहाँले चलचित्र हेरिसकेपछि चलचित्रको विषयवस्तुको प्रशंसा गर्नुभएको थियो । साथै एकपटक सबैलाई यो चलचित्र हेर्न उहाँले आग्रह गर्नुभयो । यस्तै चलचित्र हेर्नका लागि अभिनेता दीपकराज गिरी, अभिनेत्री एवं निर्देशक दीपाश्री निरौला, अभिनेता एवं निर्देशक निश्चल बस्नेत, अभिनेता विपिन कार्की, कलाकार एवं निर्देशक नरेश पौड्याल, गायक युवराज चौलागाईं, मोडल निराजन प्रधानलगायतको उपस्थिति थियो ।

करिब ५१०० मिटरभन्दा माथिको उचाइमा रहेको मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा छायाँकन गरिएको चलचित्रलाई हिमाली प्रेमकथा भनिएको छ । ‘मन्त्र’ हेरिसकेपछि अभिनेता दीपकाराजले सिनेमाको छायाँकनस्थलले सबैभन्दा बढी लोभ्याउने बताउनुभयो । ‘सिनेमा जुन ठाउँमा छायाँकन गरिएको छ, त्यो छायाँकनस्थलले सबैभन्दा बढी लोभ्याउँछ । ‘सिनेमामा हामी हिमाललाई क्लोजसँग हेर्न पाउँछौँ,’ अभिनेता दीपकराजले भन्नुभयो, ‘अर्को ब्याक ग्राउन्डस्कोर सबैभन्दा बढी बुलन्द छ सिनेमाको ।’ उहाँले ‘मन्त्र’ फरक खालको लभस्टोरी सिनेमा लागेको बताउँदै चलचित्रमा बोनसका रूपमा कमेडीसँगै हिमालका दृश्यहरू, ब्याक ग्राउन्डस्टोर रहेको प्रतिक्रिया दिनुभयो ।

अभिनेता एवं निर्देशक निश्चल बस्नेतले सिनेमा रमाइलो लागेको बताउनुभयो । उहाँले कुनै भेगको आफ्नै कथालाई सिनेमामा रमाइलो तरिकाले प्रस्तुत गरिएको बताउनुभयो । निर्देशक तथा कलाकार नरेश पौड्याल, गायक युवराज चौलागाईंलगायतले सिनेमा मन परेको प्रतिक्रिया दिनुभएको थियो । प्रिमियरमा अभिनेता बुद्धि तामाङ छायाँकनमा भएका कारण उपस्थित हुन सक्नुभएन भने अभिनेत्री दिया पुन सगरमाथा आरोहणका क्रममा रहेकाले उपस्थित हुनुभएन । अभिनेता सौगात मल्ल भने प्रिमियरमा उपस्थित हुनुहुन्थ्यो ।

खिलबहादुर गुरुङको निर्देशनमा तयार भएको चलचित्रमा नमिता तामाङ, पासाङ टी शेर्पा, वीरबहादुर लामालगायतको पनि अभिनय छ ।
सुरेश कार्की, रविराज कार्की र शुभ श्रेष्ठ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुनुहुन्छ । परिच्छेद सेनको कथा रहेको चलचित्रमा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सञ्जय लामाको छायाँकन एवं मित्र डी. गुरुङको सम्पादन छ ।

आजबाट अन्य तीन विदेशी चलचित्र पनि प्रदर्शनमा आएका छन् । ‘हिरोपन्थी-२’, ‘रनवे ३४’ र ‘द ब्याड गाइज’ प्रदर्शनमा आएका छन् । मन्त्रलाई क्युएफएक्स चेनका नौ हलले एक/एक शो गरी जम्मा नौवटा शोज दिएका छन् भने अन्य शोज विदेशी चलचित्रले पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?