२०७९ वैशाख ३० गते सम्पन्न हुने दोस्रो स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस बुढानीलकण्ठ नगरपालिका-१० मा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा डोरप्रसाद आचार्य सर्वसम्मतरूपमा उम्मेदवार हुनुभएको छ । आचार्यले जीवनको ३० वर्ष शिक्षाको ज्योति छर्नमा व्यतित गर्नुभयो । समाजसेवी, शिक्षाप्रेमी तथा मिलनसार व्यक्तित्वका धनी आचार्यले अरूका निम्ति शिक्षाको ज्योति छर्दै आफूले पनि सामाजिकशास्त्र र शिक्षा योजना तथा व्यवस्थापन दुई विषयमा स्नातकोत्तर गर्नुभएको छ ।
विद्यार्थी जीवनदेखि नै नेपालमा पञ्चायती व्यवस्थाको उन्मूलनका लागि भएका आन्दोलनहरूमा सहभागी हुँदै उहाँले २०४६ सालको पहिलो जनआन्दोलनमा भाग लिनुका साथै प्रजातान्त्रिक मूल्य-मान्यता आत्मसात गरी नेपाली कांग्रेसको क्रियाशील सदस्यता ग्रहण गर्नुभयो । २०६३ सालदेखि २०६६ सालसम्म नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको सदस्य भएर काम गर्नुभएका उहाँ राष्ट्रिय शिक्षा पुरस्कार २०५७ तथा जिल्ला शिक्षा पुरस्कार २०७१ बाट सम्मानित हुनुभएको थियो । अहिले विभिन्न सामाजिक संस्थामा आबद्ध रहेर उहाँ जनतामाझ अत्यन्तै लोकप्रिय र सबैको मनमस्तिष्कमा रहन सफल व्यक्तिसमेत हुनुहुन्छ ।
कांग्रेसका प्रखर युवानेता तथा महामन्त्री गगनकुमार थापाको क्षेत्र, बुढानीलकण्ठ नगरपालिका-१० को वडाध्यक्षमा प्रभावशाली उपप्राध्यापक आचार्यलाई सर्वसम्मतरूपमा उठाएर नेपाली कांग्रेसले सिंगो देशभरि, विशेषगरी बुढानीलकण्ठ नगरपालिकालाई विशेष महत्व दिएको देखिन्छ । यसबाट कांग्रेसले राजनीतिक क्षेत्रमा बौद्धिक व्यक्तित्वको आवश्यकता रहेको सन्देश प्रवाहित गरेको छ । स्थानीयस्तरमा इमानदारिता, सद्भाव, सहकार्य एवं स्वस्थ प्रतिस्पर्धालाई प्राथमिकता दिनुपर्छ भन्नुहुने आचार्य देश र जनतालाई केन्द्रमा राखेर जे गर्दा राम्रो हुन्छ आफूले त्यही गर्ने बताउनुहुन्छ । वडाध्यक्षका उम्मेदवार डोरप्रसाद आचार्यसँग हिमालय टाइम्सका लागि कृष्ण भुसालले गर्नुभएको संक्षिप्त कुराकानी :-
- यहाँले लामो समय शिक्षा क्षेत्रमा रहेर काम गर्नुभयो, यतिबेला राजनीतिमा सक्रियरूपमा आउनुभएको छ, यसका पछाडि केही कारण छन् कि ?
सेवाको भावले नै मलाई सक्रिय राजनीतिमा तान्यो । मेरो जीवनको लामो कालखण्ड सामाजिक तथा शैक्षिक सेवाले ओगटेको छ । अब पेशाबाट सेवानिवृत्त भएँ । सन्तान पनि आत्मनिर्भर भइसके । खाना, नाना र छानाका लागि दुःख छैन । एक हिसाबले मैले उन्नत जीवनयापन गरिरहेको छु । अब बाँकी जीवन सेवा र साधनामा बिताउन चाहन्छु । यसका लागि मैले राजनीतिलाई उत्तम अवसरका रूपमा लिएको छु । राजनीतिलाई पवित्र सेवाका रूपमा चिनाउँदै कम्तीमा हाम्रो वडा नं. १० लाई सफा, सुन्दर, शान्त, सभ्य र समृद्ध बनाउँदै अघि बढ्न म सक्रिय राजनीतिमा आएँ । - राजनीतिमा तपाईंको के-कस्ता योगदानका कारण यो पदका लागि यहाँलाई पार्टीले सर्वसम्मतरूपमा छनोट गर्यो भन्ने लाग्छ ?
मलाई उम्मेदवार बनाउँदै गर्दा पार्टीले कम्तीमा दुई मुख्य कुरा हेरेको हुनुपर्छ । पहिलो त ममा राजनीतिक चेतना आएपछि मैले कांग्रेसको झण्डा बोकेँ । तीन दशकदेखि मैले कुनै न कुनै रूपमा पार्टीसँग आबद्ध भएर सेवा गरिरहेँ । आफ्नो क्षेत्रमा कांग्रेसको दर्बिलो उपस्थितिका लागि दत्तचित्त भएर लागेँ । त्यसैले म आफूलाई पार्टीको कर्तव्यनिष्ठ पहरेदार भन्न रुचाउँछु । सायद पार्टीले यसलाई नियालेको होला । योभन्दा पनि महत्वपूर्ण कुराचाहिँ म लामो समयदेखि शैक्षिक तथा सामाजिक क्षेत्रमा कार्यरत भएकाले यहाँका सबै प्रकारका जनतासँग मेरो प्रत्यक्ष सम्बन्ध बन्यो । मेरो सम्बन्ध र ज्ञानलाई जनताको समग्र हितका लािग प्रयोग गर्न सकिन्छ भनेर होला पार्टीले मलाई वडामा नेतृत्वका लागि अवसर दियो । - तपाईं बुढानीलकण्ठ नगरपालिका-१० को वडाध्यक्षमा निर्वाचित हुने आधार के-के छन् ?
मैले धेरै कुरा त भनिसकेँ । मूलरूपमा मेरो उम्मेदवारी मेरो र पार्टीको चाहनामात्र होइन, यो यहाँका जनताको माग पनि हो । यसर्थ म वडा नं. १० को साझा उम्मेदवार हुँ । मेरा केही भिजन र मिसन छन् । क्षमता छ । अनुभव छ । जनतासँग सिधा र मित्रवत् सम्बन्ध छ । त्यसैले मैले चुनाव जित्ने धेरै आधारहरू छन् । - तपाईंका चुनावी एजेन्डा के-कस्ता छन् ?
हाम्रो घोषणापत्रमा सबै कुरा समेटिएका छन् । तथापि हामी सानो कामबाट आफ्नो यात्रा सुरु गर्छाैँ । हामीले यहाँको सरसफाइ, सभ्यता, शिक्षा, स्वास्थ्य, विकास निर्माण अनि सभ्य समाजको निर्माणका लागि योजनाहरू बनाइरहेका छौँ । - यतिबेला यो वडामा के-कस्ता समस्याहरू रहेको तपाईं पाउनुहुन्छ ?
यहाँ धेरै समस्याहरू छन् । जस्तो सरसफाइ, सडक निर्माण, ढल व्यवस्थापन, शिक्षा, स्वास्थ्य, चुस्त सेवा आदि । - यी यावत् समस्यालाई समाधान गर्न के यहाँको नेतृत्व भयो भने सम्भव होला ?
मेरो उम्मेदवारी नेता बन्न होइन । जनताको सेवा गर्न हो । काम गर्न हो । जितपश्चात् पहिलो दिनदेखि नै म जनताको सेवामा जुट्छु । हामीसँग समय तालिकासहितका विभिन्न योजनाहरू छन् जुन अवश्य हामी पूरा गर्छाैँ । - निर्वाचित जनप्रतिनिधिले जनचाहनाअनुसार कार्य गर्न नसक्दा आमजनतामा जनप्रतिनिधिप्रति एकखालको वितृष्णा देखिन्छ, यसलाई यहाँले कसरी सहजीकरण गर्छु भन्ने लाग्छ ?
तपाईँले उठाउनुभएको प्रश्न गम्भीर छ । धेरै पालिकाहरूमा जनताले अनुभव हुने गरी काम भएको छैन । वर्षौँदेखिका समस्या उस्तै छन् । नेताहरू जनताको चाहना पूरा गर्नेभन्दा आफ्नै चाहना पूरा गर्नेतर्फ लागेका छन् । यसले पक्कै पनि जनतामा जनप्रतिनिधिप्रति वितृष्णा बढाएको छ । म यसलाई आत्मसात गर्दै जनताले देखिने र अनुभूति गर्ने गरी काम गर्छु । थोरै बोल्छु, धेरै काम गर्छु । घोषणा गरिएका कार्यलाई सम्पन्न गरेरै छोड्छु । - अन्त्यमा ?
मेरा आफ्ना केही विचार सम्प्रेषण गर्ने अवसर दिनुभएकोमा यहाँलाई धन्यवाद । यस अखबारमा कार्यरत तपाईंहरूको सिंगो टिमलाई धन्यवाद । मेरा निश्चित भिजनहरू छन्, त्यसलाई पूरा गर्छु । जनतालाई परिवर्तन महसुस गराउँछु । मतदाताहरूलाई अनुरोध छ कि नेतालाई होइन जनतालाई जिताउन सही किसिमले मतदान गर्नुहोस् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच