जुम्लामा स्याउ बगैँचा फुलेर सेताम्ये

Read Time = 4 mins

विजय रावत /हिटा
जुम्ला । कर्णाली प्रदेशकै सबैभन्दा बढी स्याउ उत्पादन हुने जिल्ला जुम्ला यतिबेला किसानले लगाएका स्याउ बगैंचा फुलेर सेताम्ये बनेका छन् । स्याउ फलेर जिल्लाको वातावरण अति नै रमणीय देखिन्छ । जिल्लैभरि रहेका बगैँचामा स्याउका बोट फुलेर सेताम्ये भएपछि यहाँको वातावरण रोमाञ्चक देखिएको हो ।

जुम्ला अर्गानी स्वादिलो स्याउ पाइने जिल्लाका रूपमा चिनिन्छ । त्यो स्वादिलो स्याउ फल्ने बोटका बगैँचाहरूमा फूल फुलेर अहिले सेताम्ये भएको छ । चैत-वैशाखमा स्याउ फुल्ने र असोज कात्तिकमा पाक्ने गर्छ । इटलीबाट फुजी स्याउका बिरुवा ल्याएर यहाँ रोपिएको छ । स्याउका बिरुवा ल्याएर रोपेपछि सुरु भएको स्याउखेती अहिले जिल्लाभरि फैलिएको छ । यहाँका आठवटै स्थानीय तहमा स्याउखेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख गंगा पोखरेलले जानकारी दिनुभयो ।
अहिले जिल्लाभर तीन जातका स्याउ फल्ने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । यहाँ गोेल्डेन डेलिसेस, इटालियन फुजी र गाला जातका स्याउ फल्ने गरेका छन् ।

धैरै स्थानमा स्थानीय अर्गानिक विकासे स्याउ पनि फल्ने गरेका छन् । जुम्लाको स्याउले सुर्खेत, नेपालगञ्ज, धनगढी, काठमाडौं, पोखरालगायत देशका ठूला शहरमा पनि निकै आकर्षक बजार लिएको छ । पछिल्लो समय जिल्लाबाहिर स्याउको माग पनि बढ्दै गएको छ । जुम्ली स्याउको माग बजारमा अत्यधिक हुने गरेको स्थानीय व्यापारी बताउँछन् । पछिल्लो समयमा यहाँका स्थानीय तहका गाउँघरसम्म सडक सञ्जाल जोडिएपछि स्याउ ढुवानीमा सहज भएको स्याउ किसान पदम बुढाले बताउनुभयो ।

पछिल्लो समय जुम्ली किसानको स्याउखेतीप्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको छ । जुम्लाका साढे १६ हजार घरधुरी स्याउखेतीमा निर्भर छन् ।

जुम्लाको कुल खेतीयोग्य जमिन ३९ हजार ४३५ हेक्टर छ । त्यसको तीन हजार ७०० हेक्टर जमिनमा स्याउखेती हुने गरेको कृषि विकास कार्यालयको तथ्यांकले देखाएको छ ।

जुम्ली एग्रो फार्म र हाम्रो सहकारी प्रालिले १० वर्षका लागि चन्दननाथ मन्दिरको २० हजार वर्गमिटर क्षेत्रफलको जग्गा लिजमा लिएर फुजी स्याउखेती गरेको छ । जसमा तीन हजार ५०० फुजी जातको स्याउका बिरुवा लगाइएको छ । यहाँको स्थानीय जातको स्याउभन्दा फुजी स्याउले राम्रो प्रतिफल दिने भएकाले किसान यो स्याउखेतीमा आकर्षित भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?