फुटबल विवाद : एन्फालाई अलमुताइरीको पत्र

Read Time = 4 mins

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पछिल्लो समय नेपाली फुटबलमा देखिएको विवादबारे आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ । उहाँले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई एक पत्र लेख्दै त्यसबारे आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो ।

अलमुताइरीको व्यवहारसँग असन्तुष्टि व्यक्त गर्दै १० जना खेलाडीहरूले जारी एएफसी एसियन कप छनोट २०२३ को बन्द प्रशिक्षण छाडेका थिए । प्रशिक्षणका क्रममा एन्फाको सातदोबाटोस्थित होस्टलमा खेलाडीहरूलाई राखिएको थियो । तर, होस्टलको सेवा सुविधा राम्रो नभएको गुनासो गरेका सिनियर खेलाडी तथा मिडफिल्डर रोहित चन्दले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग गुनासो गरेपछि उहाँलाई प्रशिक्षक अलमुताइरीले टोली बाहिर राख्नुभएको थियो । कप्तान किरण चेम्जोेङ विदेशी लिग खेल्न व्यस्त रहेका बेला उहाँको अनुपस्थितिमा रोहितले खेलाडीहरूका तर्फबाट प्रशिक्षकलाई कुरा राख्नुभएको थियो ।

रोहितलाई कारबाहीपछि त्यसबारे कुरा गर्न गएका अरू नौजना खेलाडीहरूलाई पनि प्रशिक्षक अलमुताइरीले क्याम्प छोडेर जान भनेपछि खेलाडीहरू अनुपस्थित भएका हुन् । रोहितसँगै बन्द प्रशिक्षणमा अनुपस्थित सिनियर खेलाडीहरू सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुमन लामालगायतले पत्रकार सम्मेलन गर्दै अब अलमुताइरीसँग खेल्न नसकिने बताउनुभएको थियो ।

खेलाडीहरूले बिहीबार पत्रकार सम्मेलनसँगै प्रशिक्षकमाथि छानबिन गरेर कारबाही हुनुपर्ने माग राखेका छन् । खेलाडीहरूले अलमुताइरीले बारम्बार क्याम्प छाडेर जान भनेपछि आफूहरू बाध्य भएर बाहिर पठाएको जनाएका थिए ।

त्यसबारे आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा अलमुताइरीले खेलाडीले आफूलाई लगाएको आरोपका लागि उनीहरूलाई माफी दिएको र एन्फालाई कुनै कारबाही नगर्न आग्रहसमेत गर्नुभएको छ । उहाँले आफू राष्ट्रिय टोलीबाट निरन्तर प्रशिक्षण गर्न चाहेको भन्दै राष्ट्रिय टोलीको अभिभावकका नाताले खेलाडीहरूको तातो रगतबारे जानकारी रहेको बताउनुभएको छ ।

आफूले सदैव नेपाली टोलीको भलो चाहेको बताउँदै पत्रमा अलमुताइरीले खेलाडीहरूले पत्रकार सम्मेलनमार्फत् आफूमाथि सार्वजनिकरूपमा आरोप लगाउँदा चित्त दुखेको उल्लेख गर्नुभएको छ । उहाँले राष्ट्रिय टोलीको निर्माण गर्न पाउनु आफ्नो अधिकार रहेको र त्यसैअनुरूप एसियन कप छनोटका लागि भने बन्द प्रशिक्षण छोडेर जाने खेलाडीहरूलाई नसमेट्ने स्पष्ट पार्नुभएको छ । उहाँले एसियन कप छनोटमा जस्तोसुकै नतिजा आए पनि त्यसको आफू जिम्मेवार हुने पत्रमार्फत् जनाउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?