काठमाडौं ट्र्यास कलेक्सन रेसमा कुमारीको सहकार्य

Read Time = 3 mins

काठमाडौं । काठमाडौंका मुख्य सडक या गल्ली फोहोर थुप्रिएको दृश्य कुनै नौलो होइन । फोहोर व्यवस्थापनका लागि सरकारले पर्याप्त प्रयास नगरेकोमा सरकारलाई दोष दिने गरिएको पाइन्छ तर आफ्ना देशका लागि आफैंले केही गर्नुपर्छ भन्ने उद्देश्यसहित मैनादेवी फाउन्डेसनले गत शनिबार काठमाडौं ट्र्यास कलेक्सन रेस २०२२ आयोजना गरेको छ ।

मैनादेवी फाउन्डेसनसँग कुमारी जबले करियर पाटर्नरका रूपमा सहकार्य गरेको थियो । चार सयभन्दा बढी युवाको उत्साहजनक सहभागिता रहेको रेस हात्तीसार चोकबाट सुरु भएर सिटी सेन्टर, रातोपुल, सेतोपुल, पुतलीसडक हुँदै पुनः हात्तीसार पुगेर समापन भएको थियोे । दौडँदै सबैभन्दा धेरै फोहोर संकलन गर्न सफल प्रत्येक पाँचवटा टिमलाई नगद .पुरस्कार १० हजार र पदक प्रदान गरिएको थियो । दौडमा टिम कफीबाट रामचन्द्र कुमाल र विवेक पोखरेल, टिम इम्पेरियल बोइजबाट लक्ष्मण गिरी र विश्वामित्र थारु, टिम खवटबाट प्रेमप्रकाश खड्का र जश्विन भाट, टिम पिसफुल डोभबाट सविन राई र निमा रुम्बा तथा टिम द रेभुल्युसनबाट विनोद जेठारा र शंकर रोकाया विजयी भएको आयोजकले जनाएको छ । साथै कुमारी जबले अन्य मनोरञ्जात्मक कार्यक्रम पनि गरेको थियो, जसका विजेतालाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

सो अवसरमा कुमारी जबका संस्थापक सन्देश भण्डारीले भन्नुभयो, ‘यस्तो सामाजिक कार्यमा युवाको उत्साहजनक सहभागिता देखेर मलाई एकदमै खुसी लागेको छ । हामी कुमारी जबमार्फत् योग्य र क्षमतावान युवालाई उचित अवसर प्रदान गर्न सदैव तत्पर छौँ ।’ कार्यक्रममा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का, पूर्व एआइजी सर्वेन्द्र खनाल, काठमाडौं महानगरपालिकाका लागि मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन), गायिका रेखा जोशी, स्ट्यान्ड अप कमेडियन हिमेश पन्त, पत्रकार राजेन्द्र बानियाँ, कार्टुन्ज क्रुलगायतको उपस्थिति थियो । रेसमा एक हजार केजीभन्दा बढी फोहोर संकलन गरिएको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?