आधिकारिक उम्मेदवारलाई सघाउने वक्तव्य निकालेमा बागी उम्मेदवारलाई कारबाही हुँदैन : प्रवक्ता महत

Read Time = 4 mins

काठमाडौं । नेपाली कांग्रेसले उम्मेदवारी फिर्ता नलिएका बागीहरूले अझै पनि विज्ञप्तिमार्फत उम्मेदवारी फिर्ता लिएर पार्टी तथा गठबन्धनले अगाडि सारेका आधिकारिक उम्मेदवारलाई सघाएमा कारबाही नगर्ने भएको छ । आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गरी प्रचार विभाग प्रमुखसमेत रहनुभएका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको निर्देशनविपरीत उम्मेदवारी दिने व्यक्ति पार्टी विधानअनुसार स्वतः निष्कासित हुने भए पनि आधिकारिक उम्मेदवारको पक्षमा वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई पार्टीबाट निष्कासन नगरिने बताउनुभएको हो ।

‘हाम्रो विधानको व्यवस्थाअनुसार जसले पार्टीको निर्देशनविपरीत उम्मेदवारी दिन्छ, त्यो स्वतः निष्कासित हुन्छ । तरपनि कसैले प्राविधिक कारणले उम्मेदवारी फिर्ता लिन सक्नुभएन र अझै पनि पूरै समर्पित भएर आधिकारिक उम्मेदवारको पक्षमा प्रचारमा जानुहुन्छ भने विधानको जुन व्यवस्था छ, त्यसअनुसार कारबाही नगर्ने व्यवस्था हामी गर्छौं’, प्रवक्ता डा. महतले भन्नुभयो ।

कतिपय ठाउँमा स्थानीय अवस्थाअनुसार तालमेलमा असन्तुष्टि देखिए पनि आमरूपमा हेर्दा गठबन्धन सफल उहाँको विश्लेषण थियो । धेरैलाई गठबन्धन टुट्न लागेको भान भए पनि त्यस्तो नभएको उहाँको जिकिर थियो । उहाँले धेरैले दाबी गरेजस्तो कतै पनि उल्लेख्य रूपमा विद्रोह नभएको समेत बताउनुभयो । ‘हाम्रा पार्टीका साथीहरूले अत्यन्त अनुशासनका साथ जिम्मेवारीपूर्ण तरिकाबाट उम्मेदवारी दर्ता गर्नुभयो । जहाँ हामीले तालमेल गर्‍यौँ, तालमेल गरिएको ठाउँमा पनि अधिकांश साथीहरूले पार्टीको निर्णय स्वीकार गरेर पार्टीको बृहत्तर हितमा काम गर्नुभएको छ । अपवाद ठाउँबाहेक सबैले पार्टीको निर्णयलाई स्वीकार गर्नुभएको छ । हामी सबैलाई थाहा छ, तालमेल बृहत्तर हितका लागि गरेको हो । देशमा संविधानवाद, कानुनी शासन र देशलाई सुशासनको बाटोमा उन्मुख गर्ने नेपाली कांग्रेसको लक्ष्य हो,’ प्रवक्ता डा. महतले भन्नुभयो ।

नेपाली कांग्रेसबाट ३० हजार ६२८ जनाको उम्मेदवारी परेको बताउँदै उहाँले भन्नुभयो, ‘मेयरमा २६५ जना, गाउँपालिका अध्यक्षमा ३७२ जना, उपमेयरमा १९४ जना, गाउँपालिका उपाध्यक्षमा ३४० जना, वडा अध्यक्षमा ६ हजार ४३ जना, महिला सदस्यमा पाँच हजार ९३८ जना, दलित महिला सदस्यमा पाँच हजार ६९१ जना र अन्य दुई सदस्यको हकमा ११ हजार ९८८ जनाको उम्मेदवारी रहेको छ ।’

नेता महतले देशभर विपक्षी पार्टीका कार्यकर्ताबाट निर्वाचन आचारसंहिता उल्लंघन हुँदा पनि निर्वाचन आयोग मौन बसेको भन्दै आयोगको आलोचना गर्नुभयो । ‘विपक्षी दलले ठाडो उल्लंघन गरेको छ । यस विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराउँछु,’ उहाँले भन्नुभयो, ‘हामीले केही गरेमा स्पष्टीकरण सोध्ने निर्वाचन आयोगले विपक्षीबाट ठाडो उल्लंघन गर्दा कारबाही भएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?