एजेण्डा छाडेर आरोप-प्रत्यारोपमा दलहरू

Read Time = 9 mins

डिबी शर्मा/हिटा
काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरूले घरदैलो अभियान सुरु गरेका छन् । आयोगले चुनाव चिन्हसमेत दिइसकेपछि उम्मेदवाहरूले प्रचार-प्रसारलाई तीव्रता दिएका हुन् । दलका र स्वतन्त्र गरी सबै उम्मेदवारहरू आ-आफ्ना एजेण्डा र आश्वासन बोकेर जनतामाझ पुगिरहेका छन् । घरदैलो सँगसँगै उनीहरूले सभा-सम्मेलनमा समेत जोड दिइरहेका छन् । दैनिक सबैजसो उम्मेदवारका साना–ठूला चुनावी सभा हुन्छन् । अन्य कुनै कार्यक्रममा समेत मौका मिलेसम्म चुनावकै चर्चा हुन्छ ।

चुनावलाई लक्षित गर्दै दल र स्वतन्त्र उम्मेदवारले समेत चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेका छन् । तर, प्रचार-प्रसार र चुनावी सभामा भने उनीहरू आफ्ना एजेण्ड सुनाउनेभन्दा पनि विपक्षी उम्मेदवारमाथि बढी खन्छिन् । यसमा दलका उम्मेदवार एक कदम अगाडि छन् । बोल्ने मौका पायो कि उनीहरू एक–अर्काको खेदो खन्न सुरु गर्छन् । यसरी आरोप-प्रत्यारोपमा उत्रिनेमा स्थानीय तहमा उम्मेदवार बनेकादेखि दलका शीर्ष नेतासमेत छन् । चुनावी एजेण्डाभन्दा विपक्षीको खेदो खनेर उनीहरूले बढीजसो समय बिताउँछन् । आफ्ना एजेण्डा सुनाएर मतदाता प्रभावित पार्नुपर्ने उम्मेदवार र दलका नेताहरूले आरोप-प्रत्यारोपलाई चुनावी हतियार बनाएका छन् । जुन दुर्भाग्यपूर्ण छ ।

एमाले बाहेकका उम्मेदवार चर्चा गर्न लायक पनि छैनन् : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अन्य दलका उम्मेदवारहरू चर्चा गर्न लायक नभएको टिप्पणी गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरूको अधिकारको कुरा भए पनि उनीहरू चर्चा गर्न लायक नभएको टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले काठमाडौं महानगरमा मेयरका उम्मेदवार केशव स्थापितको प्रशंसासमेत गर्नुभयो ।

काठमाडौंलाई विश्वकै नमुना, सफा राजधानी बनाउने र यहाँका बागमती र विष्णुमती नदीलाई पूर्ण सफा बनाउने संकल्पका साथ एमालेले काठमाडौं महानगरमा उम्मेदवार बनाएको उहाँको भनाइ छ । ‘कसैको उम्मेदवारीबारे केही भन्न चाहन्नँ । साथीहरूले इच्छा गर्नुभएको छ । इच्छा गर्न पाइन्छ । उहाँहरूको अधिकारको कुरा हो,’ उहाँले भन्नुभयो, ‘तर, केही कुरा गर्न आवश्यक छैन । किनभने एमाले बाहेकका उम्मेदवार चर्चा गर्न लायक नै छैनन् । म केही भनिरहन चाहन्नँ ।’

गठबन्धन पाँच तोला सुन, एमाले एक क्विन्टल आलु : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको निर्वाचनमा कांग्रेस बलियो बन्ने देखेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रासपूर्ण अभिव्यक्ति दिएको बताउनुभएको छ । आइतबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले एमाले एक क्विन्टल आलु भएको तर गठबन्धन एक/एक तोला मात्र भए पनि सुन भएको जिकिर गर्नुभयो ।

‘नेपाली कांग्रेस बलियो बन्दै गर्दा कमरेड केपी ओलीलाई लाग्यो, उहाँले भन्नुभयो, एक/एक किलाका पाँचवटा ढक हुन्, हामी एक्लै क्विन्टल हौँ,’ शर्माले भन्नुभयो, ‘हामी उहाँले जस्तै गरी नकारात्मक ढंगले बौल्दैनौँ । तर, हिसाब नमिलेपछि बुझाइदिनुपर्छ । हामी पाँच वटा एक÷एक किलाका ढक होइनौँ । हामी एक/एक तोला मात्रै हौँ । क्विन्टल उहाँ क्विन्टल नै हो । तर, एक क्विन्टल आलु । एक क्विन्टल आलु र पाँच तोला सुनको हिसाब बजारमा गएर सोध्यो भने कमरेड केपी ओलीलाई थाहा हुन्छ, वास्तविकता के हो ।’

केही दिनअघि एमाले अध्यक्ष ओलीले गठबन्धनका पाँच दल एक/एक किलोको ढक भएको र नेकपा एमाले एक्लै क्विन्टल भएको अभिव्यक्ति दिनुभएको थियो । महामन्त्री शर्माले एमालेले बाहिर एक्लै भिड्न तयार रहेको अभिव्यक्ति दिए पनि भित्र भने कमल थापासँग तालमेल गरिरहेको बताउनुभयो ।

केपी ओली वामपन्थी होइनन्, दक्षिणपन्थी हुन् : पुन
नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले एमाले अध्यक्ष केपी शर्मा ओली वामपन्थी नभएको आरोप लगाउनुभएको छ । आइतबार १३३ औँ मे दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले एमालेले धार्मिक एजेण्डा बोकेर हिँडेको आरोप लगाउनुभयो । एक्लै चुनाव लड्ने घोषणा गरेको एमालेले गोविन्दराज जोशी र कमल थापालाई लिएर हिँड्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।

‘आजको एजेण्डामा केपी ओली वामपन्थी होइनन् । दक्षिणपन्थी हुन् । प्रतिगामी हुन्,’ उहाँले भन्नुभयो, ‘उहाँ आज धार्मिक एजेण्डा बोकेर हिँड्ने राजावादीहरूसँग तालमेल गर्दै हिँड्ने अवस्थामा पुग्नुभएको छ । कांग्रेसले कारबाही गरेको गोविन्दराज जोशी र राप्रपाबाट चोइटिएको सानो कमल थापाको गुटलाई लिएर हिँडिरहनुभएको छ । ओलीजी बाहिर जति बहादुरी देखाउनुहुन्छ, भित्र असाध्यै गल्नुभएको छ । पराजित भइसक्नुभयो ।’

प्रमुख निर्वाचन आयुक्तको भूमिकाप्रति नेता पुनको आपत्ति
नेकपा (माओवादी केन्द्र)का नेता पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा बौल्दै नेता पुनले प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्ति र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष ओलीको अभिव्यक्ति मिलेको भन्दै आपत्ति जनाउनुभएको हो । कुनै नेता विशेष र पार्टी विशेषको बोली निर्वाचन आयोगले बोल्न नमिल्ने उहाँको भनाइ छ ।

नेता पुनले आयोगलाई निष्पक्ष र व्यावसायिक भूमिका निर्वाह गर्न पनि आग्रह गर्नुभयो । ‘निर्वाचन आयोगका प्रमुख आयुक्त जस्तो व्यक्ति कोही पार्टीको हुँदैन निर्वाचन आयोग आज रेफ्रीको भूमिकामा हुन्छ,’ उहाँले भन्नुभयो, ‘रेफ्री आफँै मैदानमा ओर्लेर खेल्न र गोल हान्न लाग्यो भने कस्तो हुन्छ असाध्यै दुःखका साथ मैले भन्नुपर्छ, हामीले मतपत्र बलियो कागज राखेका छौँ अब चपाउन, च्यात्न सकिँदैन उहाँले भन्नुभयो । त्यही कुरो केपी ओलीजीले बोलिराख्नु भएको छ । केपी ओलीजीको बोली र निर्वाचन आयोगको प्रमुखको बोली कसरी मिल्यो ? यसमा हाम्रो आपत्ति छ । कुनै नेता र पार्टी विशेषको बोली निर्वाचन आयोगले बोल्न मिल्दैन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?