उपभोग लागतमा वृद्धि र दैनिक जीवनमा पार्ने प्रभाव

Read Time = 11 mins

✍️ केशवप्रसाद आचार्य
मानिस जिउनकै लागि दैनिक संघर्ष गरिरहेको हुन्छ । जिउन गुजाराकै लागि संघर्ष गरे तापनि जीवनयापन भने सहज बनिरहेको छैन । दैनिक उपभोग्य वस्तुको बजार मूल्य चर्कँदै जानु, अप्राकृतिक उत्पादनको कारण स्वास्थ्यमा समस्या देखिएर स्वास्थ्य खर्च बढ्नु, जलवायु परिवर्तनको कारण उत्पादन प्रभावित बन्नु र विभिन्न समयमा आउने प्राकृतिक प्रकोपले समयमा उत्पादन व्यवस्थापन गर्न नपाउनुले मानिसहरूको आम्दानीमा कटौती गरिदियो तर खर्चमा कमी गर्न सकेन । आजभोलि किराना सामग्रीलगायत सामग्रीको मागले विश्वमा मानिसहरूको जीवनयापन लागतमाथि चढिरहेको छ । अहिले विश्वमा महँगीदर सन् २००८ यताकै उच्च भएको छ । महँगीले आकाश छोएको छ ।

केही वर्षयता ऊर्जा र इन्धनको मूल्य बढ्दै गयो महामारीको सुरुमा पेट्रोलियम पदार्थको मूल्य ओरालो लागेको थियो तर त्यसपछि माग हृवात्तै बढ्यो र सन् २०२२ को पहिलो महिना अहिलेसम्मकै उच्चबिन्दुमा पुग्यो । अमेरिकामा पेट्रोलियम पदार्थ एक ग्यालनको ३.३१ अमेरिकी डलर औसत मूल्य पर्छ जुन एक वर्षअघि २.३८५ अमेरिकी डलर थियो । बेलायत र युरोपमा पनि ऊर्जा र इन्धनको मूल्यको अवस्था एउटै छ  । दैनिक भान्सामा जोडिएको ग्यासको मूल्य सोहीअनुसार बढेको छ । गतवर्ष एसियाबाट ग्यासको माग बढ्दा र युरोपमा चिसो मौसमको कारण उत्पादनमा कमी हुँदा ग्यासको भण्डारण नै रित्तियो  । उत्पादन एकसाथ बढाउनु पर्दा उत्पादन लागत बढ्न पुग्यो सोहीअनुसार मानिसको आम्दानीमा बढोत्तरी हुन सकेन ।

कोरोना महामारीका बेलामा धेरै दैनिक उपभोग्य वस्तुको अभाव सिर्जना भयो र वस्तुको मूल्य आकाशियो । मानिसहरू गतवर्ष लकडाउनका बेला घरमै बस्न बाध्य हुँदा घरायसी सामग्रीको प्रयोग बढ्यो । न उनीहरूले बाहिरबाट आवश्यकीय वस्तु खरिद गर्न पाए, न रेष्टुराँ जान पाए न त बिदामा घुमघाम नै गर्न पाए  । अधिकांश एसियाली देशहरूमा उत्पादक धेरैले कोरोना संक्रमण नियन्त्रणार्थ उत्पादन नै बन्द गर्नुपर्‍यो । उनीहरूले त्यसपछि माग धान्न नै संघर्ष गर्दै आइरहेका छन् ।

यसले प्लास्टिक, कंक्रिट र स्टिलजस्ता वस्तुको अभाव हुनथाल्यो जसले मूल्यवृद्धि निम्त्यायो । सन् २०२१ मा बेलायतमा काठको मूल्य त सामान्य अवस्थामा भन्दा ८० प्रतिशत भन्दा धेरैले बढेको थियो । यो अमेरिकामा दोब्बर बढीले बढ्यो । आजभोलि अमेरिकी खुद्रा बिक्रेताहरूले उनीहरूको मूल्य आपूर्ति शृंखला लागत बढेको भन्दै बढाएका छन् । त्यससँगै माइक्रोचिप्सको बजारमा अभाव छ जुन कार, कम्प्युटर र अन्य घरायसी वस्तुका लागि मुख्य सामग्रीको रूपमा प्रयोग हुन्छ ।

विश्वकै सिपिङ कम्पनीहरू जसले विश्वमा सरसामग्री ओसारपसारको काम गर्छन् उनीहरूलाई महामारीपछि बढ्दो मागले हैरान पारेको छ  । यसको मतलब रिटेलरहरूले ती सामान स्टोर गर्न धेरैभन्दा धेरै पैसा तिर्नुपर्ने भयो । परिणामतः उपभोक्ता मूल्यवृद्धि हृवात्तै बढ्यो । एसियाबाट ४० फिटको एक कन्टेनर युरोपमा पठाउन अहिले १७ हजार अमेरिकी डलर लाग्छ जुन भनेको एक वर्षअघिभन्दा १० गुणा धेरै हो जतिखेर यो १५ सय डलरमात्रै लाग्थ्यो  । यसलाई हवाइ ढुवानी शुल्क र युरोपमा लरी चालकहरूको अभावले साथ दिएको छ । अर्को उपभोक्ता मूल्य बढाउने कारण नै जहाज भाडा (सिपिङ कष्ट) हो ।

अधिकांश मानिसले महामारीमा काम छोडे या त परिवर्तन गरे । अमेरिकामा अप्रिलमा मात्रै ४० लाख मानिसभन्दा धेरैले काम छाडेको डिपार्टमेन्ट अफ लेबरले जनाएको छ  । जुन हालसम्मकै धेरै हो  । परिणामतः कम्पनीहरूले चालक, खाद्य प्रक्रिया मिलाउने र रेष्टुराँ वेइटरजस्ता कर्मचारीको अभाव सामना गरे । ५० मुख्य अमेरिकी खुद्रा बिक्रेताको एक सर्वेअनुसार ९४ प्रतिशतले खाली ठाउँ पदपूर्ति गर्न समस्या भोग्नुपरेको थियो ।

यसको परिणाम कम्पनीहरूले काममा आकर्षित गर्न तलब बढाए, बोनस घोषणा गरे  । म्याकडोनाल्ड र अमेजनले दुई सय डलरदेखि एक हजार डलरसम्मको बीचमा बोनस अफर गरिरहेका छन् । तर, त्यसले कर्मचारीको लागत बढायो र यसको चाप उपभोक्तामा पर्न गयो । कपडाको विश्व ब्राण्ड नेक्स्टले सन् २०२२ को लागि योजना गरिएको मूल्यवृद्धिलाई यसैमा दोष दिएको छ ।

जलवायु प्रभाव विश्वमा उपभोक्ता मूल्य बढाउने अर्को सूचक बन्यो । विश्वका धेरै ठाउँमा असामान्य मौसमले महँगी बढाउन योगदान गरेको छ । आँधीजन्य विपद्ले विश्व तेल आपूर्तिमा क्षति पुर्‍याउँदा तेलको मूल्य बढ्न पुगेको छ  । त्योसँगै माइक्रोचिप्सको अभावले समस्यासँगै बजार मूल्य बढायो । त्यस्तै ब्राजिलजस्ता धेरै कफी उत्पादन गर्ने देशले कफीको लागत बढाउँदा बजारको महँगीमा योगदान पुगेको छ  । पछिल्ला दिनमा धेरै आयात लागतले मूल्यवृद्धिमा योगदान पुगेको छ  । ब्रेक्जिटपछिका व्यापार नियमले युरोपबाट बेलायतमा आयात घटेको छ । युरोप घुम्ने बेलायतीमाथि रोमिङ शुल्क पुनः लाग्ने देखिएको छ  । चिनियाँँ वस्तुमाथि अमेरिकी आयात शुल्कवृद्धिले उच्च मूल्यवृद्धिमा मद्दत पुगेको छ ।

विश्वभरका सरकारले महामारीका बेला दिएको राहत अब क्रमशः सकिँदै गएको छ । यसले मानिसलाई अल्छी र डुलन्ते बनायो । डुल्ने घुम्ने खाने प्रवृत्ति संस्कारिक वा देखासेखीको रूपमा वृद्धि भयो । जसका कारण कर बढ्न पुग्यो, यसरी कर बढ्दा कष्ट अफ लिभिङ बढ्न पुगेको हो तर मानिसहरूको तलबमा खासै परिवर्तन भएको छैन । विकसित अर्थतन्त्र भएका राष्ट्रहरूले कामदार संरक्षण गर्ने नीति अंगालीरहेका छन् । यसले बजारमा महँगी बढ्न पुग्ने केही अर्थशास्त्रीले बताइरहेका छन् ।

महामारीसँगै नाक र मुख छोप्न मास्क लगाउने विश्वव्यापी हृवीप जारी भयो । मानिसको प्राकृतिक स्वतन्त्रतामा अंकुश लाग्यो । जसका कारण मानिस थप रोगी बन्न पुगे । श्वासप्रस्वास, मेन्टल र मुटुसम्बन्धी रोगबाट मानिस थलिन थाले । उसको जीवनयापनका लागि गरिने खर्च अन्यत्र गयो, अनुपयोगी भयो । उसलाई पुन स्वस्थ बन्न थप लागत सिर्जना भयो । यसले परिवारकै उपभोग क्षमता न्यून बनाई एउटा स्वासका लागि लागत वृद्धि गरिदियो । पछि पूरै परिवार कम गुणस्तरको जीवन जिउन बाध्य बने ।

विश्वव्यापीकरण, विश्वस्थानीयकरण जस्ता अवधारणा आजभोलि आममानिसको जिब्रोको टुप्पोमा झुण्डिएको छ । यसले नयाँ प्रविधि र उपकरणको प्रयोगमा जोड गर्दै लगेको छ । प्रविधि नजानेको र उपकरण नभएको मानिस आज विश्वमा टिक्न गाह्रो हुन्छ भन्ने जस्तो गैरशैक्षिक विज्ञापन बजारमा फैलाइएको छ । यस विज्ञापनको उम्मेदवार बन्न मानिस तँछाड मछाड गरिरहेको छ । मानिस यसैमा लगानी गर्न भिडिरहेको छ । जसका कारण पनि मानिसको जीवनयापन लागत बढ्न पुग्यो ।

एक्काइसौं शताब्दीमा उपभोगभन्दा पनि उपभोगबाट नष्ट भएको वस्तु व्यवस्थापनमा खर्च बढ्न पुग्यो । उपभोगको एक चौथाइ व्यवस्थापनमै खर्च भइरहेको छ । तसर्थ मानिसले व्यवस्थापनमा कम लागत लाग्ने वस्तु उपभोगमा जोड दिँदा बुद्धिमानी हुन्छ । शरीर बच्छ, लामो समयसम्म स्वस्थ रही बाँच्ने दर बढ्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?