कोरोना संक्रमण दर बढ्न थालेको भन्दै सर्तकता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

Read Time = 5 mins

काठमाडौं । सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य सर्तकता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रुपमा स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढीरहेकोले नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले स्वास्थ्य मन्त्रालयले अस्पताल तथा चिकित्सकहरुलाई कोरोना संक्रमणको दर बढीरहेकोले संक्रमण दर घटाउने तयारी थाल्न निर्देशन दिइसकेको बताउनु भयो ।

सहप्रवक्ता अधिकारीले पछिल्लो समय कोरोना संक्रमण दर कम भएसँगै आम सर्वसाधारणहरुले स्वास्थ्यका मापदण्ड पालना गर्न छोडेको भन्दै स्वास्थ्यका मापदण्ड पुनः पालना गर्न आवश्यक रहेको बताउनु भयो । सोमवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले कोरोना संक्रमणलाई घटाउन जनस्वास्थ्यका मापदण्डहरु पालना गराउन, खोप लगाउन बाँकी रहेका विषयहरुलाई केन्द्रमा राखेर सरकारले काम शुरु गरिसकेको पनि बताउनु भयो । सहप्रवक्ता अधिकारीले कोरोना नियन्त्रणका लागि प्रमुख जिम्मेवारी आम सर्वसाधारणको हुने भएकोले सबैले स्वास्थ्यका प्रोटोकल पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

सहप्रवक्ता अधिकारीले अहिले भारतमा फैलिएको कोरोना ओमिक्रोनकै एउटा प्रजाती रहको प्रारम्भिक तथ्य फेला परेको बताउनु भयो । उहाँले यद्यपी यसबारेमा अध्ययन अनुसन्धान भइरहेकोले थप विवरण आउन समय लाग्ने बताउनु भयो । सहप्रवक्ता अधिकारीले कोरोनाको रोकथामका लागि विगतमा अपनाएका स्वास्थ्यका प्रोटोकलहरुको पालना गर्नुपर्ने र कोभिडबिरुद्धको खोप लगाउनु पर्ने बताउनु भयो । उहाँले समयमै सावधानी अपनाएमा कोरोनाबाट हुने जोखिमलाई न्युनिकरण गर्न सकिने बताउनु भयो ।

अधिकारीले भन्नुभयो, ‘अहिले फैलिरहेको संक्रमण ओमिक्रोनकै एउटा प्रजातिकै रुपमा अहिलेसम्मको प्रारम्भिक तथ्यहरुबाट त्यही आइरहेको छ । पछिल्लो तथ्यांकहरु प्रारम्भिक छन् त्यसैले धेरै कुराहरु आउन बाँकी नै छ । तर जति आएका छन् त्यस तथ्यले संक्रामक छ, त्यसलाई रोकथाम गर्नका लागि हामीले विगतमा गरेका उपायहरु प्रभावकारी छन् । कोभिड-१९ बिरुद्धको खोप नै प्रभावकारी छ । यसको जोखिमका सन्दर्भमा हामीले समयमै सावधानी अपनाउन सके अस्पताल भर्ना,  मृत्यु र अङ्गभङ्ग हुने कुरा जस्ता जोखिमलाई कम गर्न सकिन्छ ।’

सहप्रवक्ता अधिकारीले देश अहिले स्थानीय निर्वाचनमा होमिएकोले यसबाट कोरोनाको जोखिम बढ्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले स्वास्थ्य मन्त्रालयले निर्वाचनबाट हुनसक्ने कोरोनाको जोखिमलाई कम गर्न निर्वाचन आयोगसँग छलफल गरेर स्वास्थ्यका सावधानीहरु अपनाउन आग्रह गरेको पनि जानकारी दिनुभयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सहप्रवक्ता अधिकारीले निर्वाचनमा स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न, उम्मेदवारहरुलाई घरदैलो कार्यक्रम गर्दा पनि सुरक्षित तरिकाले गर्न र मतदाताहरुलाई पनि सावधानी अपनाउन आग्रह गर्नुभयो ।

सहप्रवक्ता अधिकारीले विदेशबाट आउने नागरिकहरुलाई ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न र सबैले मास्क अनिवार्य लगाउन आग्रह गर्नुभयो । उहाँले कोरोनाको विभिन्न चरणका खोप लगाउन बाँकी रहेकाहरुले समयमै कोरोनाबिरुद्धको खोप लगाउन पनि अपिल गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?