वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ । पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मच्छिन्द्रनाथको रथयात्रा वैशाख महिनाको शुक्ल पक्ष प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । संस्कृतिविद्का अनुसार सो जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्व रहिआएको छ । रथ ललितपुरको पुल्चोकबाट आज (बुधबार) बाट तान्न सुरु गरिएको छ । मच्छिन्द्रनाथलाई पुल्चोक रथमा पुर्याएपछि रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको हो । रथ तान्ने पर्वभरि होम र गाईदान गर्ने गरिन्छ । रथलाई जात्रा अवधिभर ललितपुरका टोल-टोलमा घुमाइन्छ । सर्वसाधारणले आफन्त बोलाएर भोज गरी जात्रा मनाउने गर्दछन् । अन्तिममा रथ जावलाखेल पुगेको चार दिनपछि भोटोजात्रा हुन्छ ।
करिब दुई महिनाभरि ठाउँ-ठाउँमा तान्दै पुर्याउनुपर्ने रथ बनाउने काम (विशेष काठसम्बन्धीको काम) बाराही समुदायले गर्दै आएका छन् । २०५९ सालमा ‘बाराही द गुठी’ को नाइके (प्रमुख) हुनुभएको दिलकुमार बाराहीको नेतृत्वमा सो रथका प्रमुख कामहरू हुँदै आएका छन् । आफूले रथ बनाउने काम बाजे, बुबाहरूको पछि लागेर नौ वर्षको उमेर (२०२४ साल) देखि नै गर्दै आएको बताउनुहुने बाराहीका अनुसार रथयात्राको छुट्टै इतिहास रहेको छ । उहाँ भन्नुहुन्छ, ‘करिब १४ सय वर्षअगाडि नेपालमा पानी नपरेर हाहाकार भयो । अब कसरी पानी पार्ने अवस्था बनाउने, के गर्दा हुन्छ भनेर सबैमा खुल्दुली भएपछि ज्योतिष आदि सबैलाई देखाएपछि गोरखनाथले नागहरू सबैलाई आसनमा राखेर तपस्या गर्न बसेको पत्ता लागेछ । नाग पनि त्यसरी नचलीकन बसेपछि पानी नपर्ने रहेछ । त्यसपछि मच्छिन्द्रनाथलाई ल्याइयो भने पानी पर्छ भन्ने भयो । गोरखनाथका गुरु मच्छिन्द्रनाथ रहेछन् । मच्छिन्द्रनाथ नेपालमा ल्याइसकेपछि गोरखनाथले त गुरुलाई सत्कार गर्न उठ्नुपर्ने भयो । अनि गोरखनाथले मच्छिन्द्रनाथलाई स्वागत गर्नुभयो र त्यो बेला नागहरू पनि आ-आफ्नो ठाउँमा गएछन् र पानी परी अनिकाल हटेको रहेछ भन्ने ऐतिहासिक पुस्तकहरूमै पनि पढ्न पाइन्छ ।’
लामो समयदेखि मच्छिन्द्रनाथको रथ बनाउने काममा संलग्न हुनुहुने दिलकुमार बाराहीले गत जेठमा पोर्चुगलको ‘डी इभोरा विश्वविद्यालय’ बाट सम्पदा संरक्षणमा पिएचडी गर्नुभएकी सम्पदाविद् मोनालिसा महर्जनको पहलमार्फत् अन्तर्राष्ट्रिय अवार्डसमेत पाउनुभएको छ । दक्षिण कोरियाले संसारभरिका अमूर्त सांस्कृतिक सम्पदा प्रवद्र्धन गर्न हरेक वर्ष ‘झान्जु अन्तर्राष्ट्रिय अवार्ड’ घोषणा गर्दोरहेछ । सोही झान्जु नगरले दिने १० हजार अमेरिकी डलर (करिब ११ लाख रुपैयाँ) को पुरस्कारसहितको सो अवार्ड गत वर्ष तीनवटा देशका सांस्कृतिक सम्पदाले पाएकोमध्ये नेपाल पहिलो नम्बरमा परेको रहेछ । र, नेपालबाट बाराही द गुठीका नाइके दिलकुमार बाराही, रातो मच्छिन्द्रनाथको रथ बनाउँदा काठको काम गर्ने शिल्पीका रूपमा पुरस्कृत हुनुभएको रहेछ । यिनैै अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित दिलकुमार बाराहीसँग रातो मच्छिन्द्रनाथ रथको सेरोफेरोमा रहेर हिमालय टाइम्सका लागि रिता बस्नेतले गर्नुभएको कुराकानी :-
- रातो मच्छिन्द्रनाथको रथ बनाउन कस्ता सामग्री प्रयोग गरिन्छ र रथको उचाइ कत्रो हुन्छ ?
रथ बनाउन फलाट, ढमाको काठ (सौर्य जातको काठ), सान्दान, लाँकुरी, मयल र आरु गरी ६ जात (थरी) को काठ प्रयोग हुन्छ । तलदेखि माथिसम्म खट र थामहरू बनाउन ठूल्ठूला काठहरू प्रयोग गर्नुपर्ने हुन्छ, जसका लागि फलाट जातको काठ प्रयोग गरिन्छ, जुन गोदावरीको जंगलबाट ल्याउछौँ । ३२ हात लामो अगाडि भैरव बस्नेलाई ढमा भनिन्छ । त्यसमा सौर्य जातको काठ प्रयोग हुन्छ, यो काठ पहिला गोदावरीबाट ल्याउँथ्यौँ, अहिले त्यहाँ नपाएर नुवाकोटबाट ल्याउँछौँ । पांग्राका लागि सान्दान जातको काठ प्रयोग हुन्छ । यो चितवन र मकवानपुरबाट ल्याउँछौँ । रथको चार कुनामा चारवटा खम्बा (थाम) हुन्छ, त्यो लाँकुरी जातको काठ हो । यो पनि गोदावरीतिरबाटै ल्याउँछौँ । रथ तान्दा ब्रेक लगाउनेमा मयल जातको काठ प्रयोग हुन्छ र ब्रेकमा लगाउने बिँड (समाउने बिँड) मा आरुको काठ प्रयोग हुन्छ । यी सबै काठहरू मक्किए वा बिग्रिए भने मात्र अरू वर्षहरूमा नयाँ प्रयोग गर्छौँ नत्र भने तिनै काठहरू काम लागुन्जेलसम्म प्रयोग गर्छौँ । तर, १२ वर्षे जात्रामा भने काम लाग्ने भए पनि पूरै काठ, डोरीहरू फेर्नुपर्छ ।
रथ ३२ हात लामो, नौ तलाको हुन्छ । रथमा काठका साथसाथै वेद र डोरीको पनि प्रयोग हुन्छ । डोरी नरिवल र सनपाटबाट बनाइन्छ, जुन इन्डियाबाट ल्याउनुपर्छ । वेद पनि इन्डियाबाटै ल्याउँछौँ, वेत पहिला-पहिला नेपालको चारकोसे झाडी (जंगल) मा पाइन्थ्यो, अहिले जंगलै छैन त्यसैले इन्डियाबाट ल्याउँछौँ । उताबाट वेत ल्याउन पनि लुकाएरै (चोर बाटोबाट) ल्याउनुपर्छ, खुला छैन । वेत पनि रथहरू बाँध्नका लागि चाहिन्छ । अग्लो रथलाई धुपीको पात, फूलले सजाइन्छ, जुन बाटिएको डोरीमा लगाइएको हुन्छ । रथ फलामका काँटी ठोकेर बनाउने चलन छैन । जस्तोः चारकुने खट बनाउँदा प्वाल पारेर बनाइन्छ र ती प्वालमा राख्नलाई काठमा पनि चुकुलजस्तो बनाइन्छ । यो सबै हातकै कला हो । मैले थाहा पाएदेखि आजसम्म रथमा एउटा पनि काँटी ठोकेर बनाइएको थाहा छैन । थाम चारवटा राख्यो, त्यसमाथि खट राख्यो, फेरि धाम राख्यो, खट राख्यो अनि बीच-बीचमा वेतको डोरी र कुनै ठाउँमा सनपाटको डोरीले बाँध्दै जानुपर्छ ।
- रातो मच्छिन्द्रनाथको रथ बनाउन कति खर्च र समय लाग्छ ?
गुठी संस्थानले यो वर्ष रथ बनाउन भनेर ५० लाख बजेट छुट्याएको छ । त्यो ५० लाख लाग्न पनि सक्छ र त्यसले पुगेन भने थप गरेर लिने पनि गरिन्छ । रथ बनाउने काम १५ दिनमा सकिन्छ । पार्टअनुसार ३२ थरीका मान्छेले रथ बनाउने काम गर्नुपर्छ । हाम्रो (बाराही जातको) काम छुट्टै हुन्छ । रूख काट्नेदेखि लिएर अनेक काम हुन्छ, ती सबै काम गर्नेहरू छुट्टाछुट्टै जातका हुनुहुन्छ । वेत र डोरीको काम महर्जनहरूले गर्नुहुन्छ । उहाँहरू करिब ४०-५० जना दिनकै खटिनुहुन्छ । रथ बनाउन सुरु गर्दा काठहरू काट्ने, ल्याउने काम एक महिनाअघिदेखि नै गर्नुपर्छ । हाम्रा बाराहीहरू २४ जना दरबन्दीका हुनुहुन्छ भने त्यसमा सहायक बाराहीहरू पनि खटिनुहुन्छ । किनभने नौ तलामा चार/चार जनाका दरले काम गर्दा पनि ३६ जना लाग्छ । तीमध्ये कोही वृद्ध हुनुहुन्छ, उहाँहरू माथि-माथि चढ्न सक्नुहुन्न । त्यसैले ४० देखि ५० जना हाम्रा बाराहीहरू दिनदिनै काम गर्नुहुन्छ । हामीलाई एक दिनको ज्यालामा पाँच/पाँच माना चामल र चिउरा दिइन्छ । अहिले त त्यसलाई पैसामा रूपान्तरण गरेर १९६ रुपैयाँ दिइन्छ, जुन एक दिनको एकजनाको ज्याला हो । यो पुख्र्यौलीदेखि गरिआएको काम थोरै पैसा भयो भनेर छोड्न पनि मिल्दैन, फेरि त्यति थोरै पैसामा अरू कसैले गर्दा पनि गर्दैन । त्यो भएर परम्परा बचाऔँ भनेर थोरै पैसामा हामी लागिराखेका छौँ । - सम्बन्धित निकायसमक्ष ज्याला बढाइदिनुपर्यो भनेर किन आवाज नउठाउनुभएको त ?
हामीले नगरपालिकामा गएर दैनिक ज्याला १९६ रुपैयाँले पुगेन, पर्व चलाउनेदेखि हरेक गर्नुपर्छ भनेर धेरै पटक धायौँ, निवेदन दियौँ तर केही सुनुवाइ भएन । गुठीमै त्यत्तिका जग्गाजमिन छ, त्यहीँ गएर लिनू भनेर वास्तै गर्दैनन् । नगरपालिकाले त गर्दैन, कहाँबाट अरूले गर्छन् ? नगरपालिकामा हुने जात्रा, पर्व सबै उनीहरूले हेर्नुपर्ने हो । सबैजनाले चिया खान पनि नपुग्ने ज्याला छ, बढाउनुपर्यो भनेर मलाई भन्नुुहुन्छ, अब उता जाँदा यो परम्परा हो यसलाई बढाउन मिल्दैन भन्छन् । त्यसो भनेपछि हामी पनि के गर्ने ? हाम्रो परम्परा बचाउनै पर्यो भनेर काम गरिराखेका छौँ । अहिले बाहिर ज्यालादारी काम गर्न गयो भने दुई हजारदेखि २५ सयसम्म आउँछ । त्यसले गर्दा कतिपय नयाँ युवाहरू यहाँ काम गर्न थोरै ज्याला छ भनेर आउनै मान्दैनन् । मच्छिन्द्रनाथको जग्गाचाहिँ प्रशस्तै छ । पशुपतिनाथको भन्दा एक रोपनीमात्रै कम मच्छिन्द्रनाथको जग्गा छ भनिन्छ । मच्छिन्द्रनाथको कोषको पैसामात्रै करिब १० करोडजति छ, भनिन्छ । त्यसको व्याजको पैसाले नै खर्च पुगिहाल्छ नि भनेर सरकारले हाम्रो ज्यालादेखि अरू लाग्ने खर्चको वास्तै गर्दैन । हामीहरू वर्षौंदेखि थोरै ज्यालामा काम गर्दै आइराखेका छौँ । - कहिलेकाहीँ रथ तान्दा ढल्ने, भाँच्चिने पनि हुन्छ नि, किन ?
त्यस्तो हुनु भनेको खास गरेर अशुभ संकेत हो । रथ ढल्यो भने राष्ट्रप्रमुखकै टाउकोमा पर्छ भन्ने परम्परा छ । त्यस्तो अशुभ भएको वर्ष प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था अर्थात् देश वा राष्ट्रप्रमुखहरूलाई केही न केही हानी पुग्छ । तर, रथ कमजोर बनाएर ढल्ने, भाँच्चिने भएको होइन । मच्छिन्द्रनाथको रथ तानेर जुन जावलाखेल पुर्याउनुपर्छ, त्यहाँ नपुग्दै वा एक फिट वरै भए पनि रथ ढल्यो भने पूरै सामान फेरेर बनाउनै पर्ने हुन्छ । हामीले दिनकै रथको काम गरिसकेपछि पूजा गर्छौँ । किनभने रथ बनाउँदा खुट्टाले टेकिएको हुन्छ । र, पूजा गरिसकेपछि रथको माथि पुनः चढ्नुहुँदैन, यो हाम्रो परम्पराजस्तै हो । - रथ बनाउँदा के-कस्ता समस्याहरू भोग्दै आउनुभएको छ ?
अहिले रूख पाउन गाह्रो भयो । पहिला-पहिला नजिकैबाट रूख काटेर ल्याउँथ्यौँ । पहिला रथमा जुन-जुन काठको प्रयोग गरिँदै आइएको थियो, अहिलेसम्म पनि त्यही जातको काठ प्रयोग गरिराखेका छौँ । अर्को जातको काठ आजसम्म प्रयोग गरेका छैनौँ । गुठी संस्थानमा हामीले वर्षैपिच्छे भन्दै आएका छौँ, रथका लागि बजेट छुट्याएपिच्छे वृक्षारोपणका लागि पनि दुई-चार लाख छुट्याइदियौँ भनेर । हामीले भन्दा हुन्छ भन्नुहुन्छ तर वृक्षारोपणका लागि अहिलेसम्म बजेट छुट्याइएको छैन । ज्यादै दुःख लाग्छ, वृक्षारोपण गरौँ, हामी पनि आइदिन्छौँ भन्छौँ तर उहाँहरूले वास्तै गर्नुभएन । वेत, डोरी यहाँ पाउँदैन, इन्डियाबाट ल्याउनुपर्छ । उता गुठी संस्थानमा पनि कार्यालय प्रमुखको कार्यकाल दुई वर्षको मात्रै हुन्छ । त्यो दुई वर्षमा एक वर्ष सिक्नलाई नै समय लाग्छ र अर्को वर्ष सबै जानिसकेपछि हट्नुपर्छ, यस्तो छ गुठी संस्थानको प्रमुखको अवस्था अनि कसरी हुन्छ प्रगति । करिब पाँच वर्षसम्म एउटै कार्यालय प्रमुख भयो भने उसले राम्रोसँग जानेर काम गर्छ नि । - तपाईंले अन्तर्राष्ट्रिय अवार्ड पाउनुभएको रहेछ, यसबारे बताइदिनु न ?
गत सालको जेठमा पाएको हो । त्यसका लागि सम्पदाविद् मोनालिसा महर्जनले पहल गर्नुभएको थियो । मच्छिन्द्रनाथको रथ बनाउनलाई काठहरू निकालेर काम गर्न सुरु गरेका बेला उहाँ आउनुभएको थियो । उहाँले सम्पदा विषयमै पिएचडी गर्नुभएको रहेछ । उहाँको मसँग भेट भयो र कुरा गर्दै जाँदा उहाँलाई चाख लागेछ । त्यही बेला दक्षिण कोरियामा अवार्डको प्रतिस्पर्धामा सामेल हुने समय पनि परेको रहेछ । र, उहाँले यसमा एकपटक पहल गर्छु, तपाईंलाई पर्यो भने पर्यो यदि परेन भने मैले झुक्याएको जस्तो नठान्नु भनेर पहिल्यै भन्नुभएको थियो । उहाँले समय-समयमा अन्तर्वार्ता लिने, डकुमेन्ट्री बनाउने गरेर फाइल तयार गरिसकेपछि उता पठाइदिनुभयो । पठाएको तीन महिनापछाडि मेरो सेलेक्ट भयो भन्नुभयो । त्यो सुन्दाखेरी त कस्तो हर्ष भयो भने । र, मैले त्यस्तो ठूलो अवार्ड पहिलोपटक पाएको पनि हो । पहिला गुठी संस्थान, समाजबाट पाँच सय र प्रमाणपत्रलगायत सानो-सानो पुरस्कार पाएको थियो र त्यही मलाई ठूलो लाग्थ्यो । झन् बाहिरबाट त्यत्रो ठूलो अवार्ड पाउँदा त ज्यादै खुसी लाग्यो । १० हजार डलरको दिएको हो । कोरोना भाइरस कोभिड-१९ को संक्रमणले गर्दा त्यो अवार्ड दिने बेलामा मलाई दक्षिण कोरियामा प्रवेश गराइएन । अनलाइनमार्फत् नै पैसा, प्रमाणपत्र सबै हस्तान्तरण गर्ने हिसाबले कार्यक्रम भयो । त्यसपछि कुरियरमार्फत् पठाइदिनुभयो । मोनालिसाले गर्दा नै मैले त्यत्रो ठूलो अवार्ड पाएको हो । - अवार्ड पाएपछि नेपाल सरकारबाट कस्तो प्रतिक्रिया पाउनुभयो र त्यो पैसा के गर्नुभयो ?
सरकारले केही गरेन । काठमाडौंको एयरपोर्टमा कुरियरमार्फत् प्रमाणपत्र आएपछि ललितपुरका मेयर चिरिबाबु महर्जनलाई मोनालिसा महर्जनले त्यो प्रमाणपत्र नगरपालिकामार्फत् मलाई दिन पहल गर्नु पनि भएछ । उहाँले नगरपालिकाको हाइट बढ्छ, प्रमाणपत्र तपाईंहरूले राखेर सम्मान गरेर दिनु भनेर मेयरज्यूलाई सम्झाउनुभएको रहेछ तर नगरपालिकाले वास्तै गरेन । अन्तर्राष्ट्रियस्तरको त्यो पुरस्कारबाट मैले करिब ११ लाख रुपैयाँ पाएको थिएँ । त्यो अवार्ड पाएपछि बरु हाम्रो गुठी, बाराही समाज, टोलछिमेक सबैले सम्मान गरे । त्यो पैसामध्येबाट मैले हाम्रो गुठीमा करिब दुई लाखजति राखिदिएँ । बाराही महिला समूहलाई ५० हजार दिएँ । त्यसबेला चिनेजानेका सबैले भोज खुवाउने हैन भनेकाले गुठी संस्थान, रथमा काम गर्ने आदि सबैजना गरी करिब दुई सयजनालाई भोज खुवाइदिएँ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको