देशकै नमुना वडाको परिकल्पनामा अघि बढेको छु : निर्मलरत्न शाक्य, वडाध्यक्षका प्रत्यासी, ललितपुर-१६

कृष्ण भुसाल
Read Time = 16 mins

पहिलो कार्यकाल कुशलतापूर्वक सम्पन्न गर्नुभएका ललितपुर वडा नं. १६ का वडाध्यक्ष निर्मलरत्न शाक्य पुनः वडाध्यक्षका लागि यतिबेला चुनावी मैदानमा हुनुहुन्छ । आफ्नो पहिलो कार्यकालमा धेरै काम गरेको दाबी गर्नुहुने उहाँ आफूले चाहेर पनि केही गर्न नसकेका कामका लागि आफ्नो पुनः उम्मेदवारी रहेको बताउनुहुन्छ । पुनः वडाध्यक्षमा निर्वाचित हुनेमा आफू ढुक्क रहेको बताउनुहुने उहाँ वडालाई जनमैत्री, पारदर्शी र जवाफदेहीजस्ता सुशासनको संस्कार बसाल्ने तथा क्षमता विकास कार्यलाई आगामी दिनमा पनि निकै प्राथमिकता दिई आफ्ना अवधारणाहरूलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका रूपमा प्रस्तुत गर्नुहुन्छ । आफ्नो वडामा जीवन्त रहेको परम्परागत संस्कृति, बाजागाजा, जीवनशैली, नेपाल भाषा, लिपिको संरक्षण गर्न लघु सांस्कृतिक संग्रहालय स्थापना गर्ने सोच राख्नुभएका निर्मलरत्न शाक्यसँग वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा हिमालय टाइम्सका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

यतिबेला चुनावलाई लिएर ललितपुर वडा नंं. १६ को वडाध्यक्षको प्रत्यासीका रूपमा यहाँ वडावासीको घर–घरमा गइरहनुभएको छ, कस्तो प्रतिक्रिया पाउनुभएको छ वडावासीको ?
वडावासीको प्रतिक्रिया मैले राम्रै पाएको छु । पाँच वर्षको मेरो पहिलो कार्यकाल सुखद नै रहृयो भन्नुपर्छ । हामीले चाहेजति विभिन्न कारणवस काम गर्न नपाए पनि जे-जति कार्यसम्पादन गर्‍यौँ त्यसमा सन्तुष्टि लिने ठाउँ छ । म यतिबेला चुनावी दौरानका रूपमा वडावासीको घर-घरमा पुग्दा उहाँहरूले मेरो कार्यशैलीको प्रशंसा गर्दै पुनः निर्वाचित हुनका लागि हाम्रो साथ सहयोग छ भन्नुभएको छ ।

तपाईंले यतिबेला आफ्नो पाँचवर्षे कार्यकाल सकिँदै गर्दा यो पाँच वर्षको कार्यकाललाई कसरी सम्झन चाहनुहुन्छ ?
राम्रो रहृयो । जनतामाझ सुखदुःखका अनुभूति साटासाट भए । पहिला जनप्रतिनिधि नहुँदा र जनप्रतिनिधि भइसकेपछि वडावासीलाई धेरै कुराको सहज भएको छ ।

यो बीचमा यहाँले गरेका केही कामहरूलाई सम्झिनुपर्दा ?
यो पाँच वर्षको अवधिमा हाम्रो वडामा धेरै काम भए । यो पाटन दरबार क्षेत्र विश्वसम्पदा क्षेत्रमा पर्छ । हामीले कला-संस्कृतिको जगेर्ना गर्ने कार्य गरौँ । यहाँ रहेका मूर्त र अमूर्त संस्कृतिको जगेर्ना, संरक्षणका साथै प्रमोसन गर्ने कार्य गर्‍यौँ । यस्तै हामीले ज्येष्ठ नागरिक, महिला, बालबालिका, खेलकुद, शिक्षालगायतका क्षेत्रमा काम गर्‍यौँ । कला नगरी घोषणा भइसकेपछि हामीले पाँचदिने कला तथा संस्कृति महोत्सव गर्‍यौँ । त्यो अपूर्वरूपमा सम्पन्न गर्‍यौँ । संस्कृति सम्पदा क्षेत्रमा हामीले विशेष ध्यान दियौँ । अन्य साना-साना जात्रा पर्वलाई व्यवस्थित गर्न अक्षयकोषको स्थापना गरेका छौँ । यस्तै विकासलगायतका अन्य धेरै कामहरू भए । कोरोनाको संक्रमणबाट वडावासीलाई बचाउनका लागि विभिन्न पहलहरू भए ।

यहाँले यो पाँचवर्षे कार्यकालमा चाहेर पनि गर्न नसकेका कुरा के-कस्ता छन् ?
मुख्य कुरा हाम्रो कार्यालय रहेको सस्तो बजार, जसलाई बजेट छुट्याएर, प्रक्रिया अघि बढाएर पनि बनाउन सकेनाँै । केही प्राविधिक कारणले त्यो सुरु हुन सकेन । मेरो अबको कार्यकालमा त्यसलाई अघि बढाउनेछु ।

महानगरको कत्तिको सहयोग रहृयो ?
महानगरपालिकाको राम्रै सहयोग रहृयो । समन्वयमा धेरै काम भए । महानगरपालिकाका धेरै काम वडाबाट नै गर्न पाए राम्रो हुन्थ्यो ।

तपाईं आफ्नो कार्यकालमा गरेका कामलाई आफैंले आफैंलाई मूल्यांकन गरेर नम्बर दिनुपर्दा कति दिनुहुन्छ ?
अरू वडामा भन्दा हाम्रो वडामा हामीले पृथक् र नयाँ काम गर्‍यौँ । अब आफैंले आफैंलाई नम्बर दिनुपर्दा सयमा असीजति दिन्छु ।

फेरि यहाँलाई पार्टीले वडाध्यक्षमा प्रस्तुत गरेको छ, यहाँलाई प्रस्तुत गर्ने कारण ?
मैले वडामा गरेका कामको मूल्यांकन, मेरो दृष्टिकोण, लक्ष्यलाई लिएर हुन सक्छ । मेरो कामको मूल्यांकन गरेर नै मलाई पुनः पार्टीले वडाध्यक्षको उम्मेदवार बनाएको हो । ललितपुरका २९ वडामा १६ नं. वडाको काम उल्लेखनीय नै रहृयो । उदाहरणीयरूपमा हामीले कार्य गर्‍यौँ । हाम्रो कार्ययोजनालाई सबैले मन पराउनुभएको छ ।

१६ नंं. वडावासीले यहाँलाई फेरि किन मत दिने ?
हाम्रो यो वडामा धेरै काम भए तापनि अझै धेरै काम हुन बाँकी छ । यस वडालाई देशकै नमुना बनाउने योजनासहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाएको छु । यसलाई मूर्त रूप दिन पनि वडावासीले मलाई मतदान गर्नुहुन्छ भन्नेमा आशावादी रहेको छु ।

यहाँले वडा विकासको अवधारणा पनि पेश गर्नुभएको छ, त्यसमा के-कस्ता रहेका छन् ?
यसमा मैले वडाको सम्पूर्ण विकासको अवधारणा प्रस्तुत गरेको छु । यहाँ सबै प्रस्तुत गर्दा धेरै नै होला । केही संक्षेपमा भन्नुपर्दा प्रविधिमैत्री सुशासनमा वडाको आधिकारिक वेबसाइट, व्यावसायिक एप्स र युट्युब च्यानल निर्माण गर्ने, वडाका सबै सेवाहरू पूर्णरूपमा प्रचलित प्रविधिमैत्री गरी स्मार्ट वडाका रूपमा विकास गर्ने । यस्तै भाषा, संस्कृति, सम्पदा र पर्यटनमा १८ वर्षभन्दा मुनिका युवालाई निःशुल्क नेपाल भाषा तथा नेपाली लिपिको कक्षा सञ्चालन गर्ने, वडा कार्यालयमा नेपाल भाषालाई चलनचल्ती भाषाका लागि व्यवस्था मिलाउने । त्यस्तै संस्कृति र सम्पदा शाखा खोली यहाँको कला, संस्कृतिको संरक्षण गर्नुपर्ने कार्यलाई नमुना वडाको मुख्य आधारका रूपमा योजना निर्माण गर्ने । ऐतिहासिक कला, संस्कृति रहेका विशेष स्थानलाई वडाको सांस्कृतिक क्षेत्र घोषणा गर्ने । जीवन्त रहेको परम्परागत संस्कृति, बाजागाजा, जीवनशैली, नेपाल भाषा, लिपिको संरक्षण गर्न लघु सांस्कृतिक संग्रहालय स्थापना गर्ने । सामुदायिकस्तरका सम्पूर्ण बाँकी सम्पदाहरूको पुनः निर्माण गर्ने । पानीका मुख्य स्रोत ढुंगेधारा र इनारको संरक्षण, पुनः निर्माण तथा जरुवा जगेर्ना गर्ने । मौलिक परम्परागतरूपमा घर निर्माण गर्ने वडावासीलाई पुरस्कारको व्यवस्था गर्ने । जात्रा, पर्व, रीतिथितिहरूको जगेर्ना गर्न स्थानीय गुठी, धार्मिक तथा सांस्कृतिक संघहरूलाई आवश्यकताअनुसार आर्थिक सहयोग तथा अक्षयकोषहरूको स्थापना गर्ने । अतिक्रमणमा रहेका सम्पदाहरूको सुरक्षा व्यवस्थापनको कार्ययोजना तयार गर्ने रहेका छन् ।

यस्तै स्वास्थ्य क्षेत्रमा प्राथमिक र आपतकालीन उपचार केन्द्र, योग केन्द्र, फिटनेस सेन्टर, स्पोर्ट्स हल, फिजियोथेरापी केन्द्र बनाउने । ज्येष्ठ नागरिकहरूलाई घरदैलो स्वास्थ्य परीक्षण गराउने व्यवस्था मिलाउने । विपन्न वर्गका दीर्घरोगीहरूलाई उपचारको सहयोग र सहुलियतको व्यवस्था गर्ने, २४ सै घण्टा एम्बुलेन्सको सेवा प्रदान तथा शव वाहन सञ्चालन गर्ने । वडाभित्र सञ्चालित रेस्टुरेन्ट, खाद्य पसलहरूमा स्वास्थ्य मापदण्ड पूरा गर्ने व्यवसायीलाई प्रोत्साहन दिने जस्ता रहेका छन् ।

त्यस्तै शिक्षा र प्राविधिक तालिम सञ्चालन गर्ने । स्थानीय स्कुलहरूमा अनिवार्य नेपाल भाषा कक्षा सञ्चालनका लागि शिक्षक दरबन्दी राख्ने । विपन्न, अशक्त र फरक क्षमता भएका उत्कृष्ट विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न छात्रवृत्ति दिने । वडाका उत्कृष्ट विद्यार्थी छनोट गरी पुरस्कृत गर्ने । युवा वर्गलाई व्यवसायमा आकर्षित गर्न साना हस्तकला कार्यस्थल तथा तालिम केन्द्रको व्यवस्था गर्ने । युवालक्षित पर्यटन विकासका लागि व्यावसायिक टुर गाइड तालिम र नेपाल भाषाको शिक्षक प्रशिक्षण तालिम दिने । युवा लक्षित स्वरोजगारका प्राविधिक र व्यावसायिक योजनाहरू तयार गर्ने रहेका छन् ।

आर्थिक विकासमा के-कस्ता विषय रहेका छन् ?
बहाःबही र सम्पदास्थलहरूमा पर्यटन विकासको विशेष आर्थिक विकास योजना तय गर्ने । वडाका टोल मार्गको ऐतिहासिक पृष्ठभूमिसँग जोडिएका नाउको संरक्षण र पर्यटकहरूलाई समेत सहयोग पुग्ने गरी रञ्जना लिपि, देवनागरी र अंग्रेजीमा नामांकन गरी बोर्ड राख्ने । पर्यटनमैत्री सम्पदास्थल तथा मार्ग निर्धारण गर्ने । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, समुदायमा आधारित व्यावसायिक संस्थाहरूसँग सहकार्य गरी आर्थिक योजना बनाउने । रात्रीकालीन व्यवसाय प्रवद्र्धन गर्न नाइट मार्केटको विकास गर्नेलगायत रहेका छन् ।
यस्तै हस्तकला व्यवसायीहरूको अधिकतम बसोबास रहेको यस वडामा उत्पादित वस्तु र सीपको उच्चतम प्रयोग, विविधीकरण र आर्थिक विकास गर्ने पर्यटकीय स्थानमा हस्तकला कोशेली घर स्थापना गर्ने । हस्तकला व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले बृहत् हस्तकला मेला गर्ने । त्यसैगरी रोजगारी फाँट बनाई वडाभित्रका सबै रोजगारीको लगत राख्ने । सीपमूलक तालिमको व्यवस्था गर्ने, रोजगारदातासँग समन्वय गराउने । रोजगारी नभएका र कम आय भएका युवा तथा महिलालाई आयमूलक तालिम दिने । त्यस्तै युवा तथा महिलालाई स्वरोजगार कोषको सहयोग लिन प्राविधिक सेवा दिने । वडामा नवउद्यमी विकास केन्द्रको स्थापना गरी आर्थिक, प्राविधिक सहयोग तथा व्यवसाय गर्न सहुलियत दिने । त्यसैगरी महिला उद्यम विकास गर्न आवश्यक बजारीकरण कार्यक्रम र तालिमका साथै उद्यमी महिला व्यापार केन्द्रको स्थापना गर्ने । प्रतिस्पर्धामार्फत् उत्कृष्ट उद्यमी छनोट गरी वार्षिकरूपमा बिनाधितो बिउ पुँजी लगानीको व्यवस्था गर्ने । राष्ट्रियस्तरको व्यापार मेला वा कार्यक्रममा उत्कृष्ट महिला समूहलाई समावेश गरी सहयोग गर्ने । महिलाहरूको आत्मनिर्भरता तथा क्षमता विकास योजना मुख्य प्राथमिकता क्षेत्रमा समावेश गर्ने जस्ता योजना प्रस्तुत गरेको छु । यस्तै वातावरण क्षेत्रमा, विपद् व्यवस्थापनमा, पूर्वाधारका भौतिक क्षेत्रमा र बौद्धिक क्षेत्रमा आफ्ना अवधारणा वडावासी समक्ष राखेको छु ।

यी त सब चुनावका लागि लोकप्रियता हासिल गर्ने कुरामात्र हुन् कि ?
होइन, विलकुलै होइन । हामीले केही कार्य गर्नुअघि त्यसको खाका त चाहियो नै । मैले पनि तिनै अवधारणा प्रस्तुत गरेको हुँ । मेरा प्रतिबद्धता हुन् ।

तपाईं पुनः निर्वाचित हुनेमा कत्तिको आशावादी हुनुहुन्छ ?
म पूर्णरूपमा विश्वस्त नै छु । मेरो विजय सुनिश्चितजस्तै लाग्छ मलाई ।

तपाईंको प्रतिस्पर्धीलाई कुनरूपमा लिनुभएको छ ?
प्रतिस्पर्धीलाई कमजोर त ठान्न मिल्दैन । चुनाव हो । चुनावपछि हामी मिलेर नै काम गर्नेछौँ ।

अन्त्यमा ?
यो वडालाई मैले देशकै नमुना वडा बनाउन लागेको छु । मेरो संकल्प, अठोट, लक्ष्यलाई वडावासीले साथ दिनुहुनेछ भन्ने विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?