नैतिकताको धरातल पतनमुखी : स्थिति भयावह

धनविक्रम सिंह
Read Time = 14 mins

हाल हाम्रो समाजमा भइरहेको यौन दूराचार, हत्या, हिंसा, ठगी र लुटपाट जस्ता घटनाले हाम्रो नैतिक धरातल निकै खस्केर पतनोन्मुख भइरहेकाले यसको निराकरणतर्र्फ सबैको ध्यान जानु जरुरी भएकाले नियन्त्रणका उपाय पहिल्याई आवश्यक कदम चाली बेलैमा नियन्त्रणतर्फ ध्यान जाओस् भन्नाका खातिर यो आलेख तयार पारिएको हो । मानिसमा नैतिकताको ह्रास हुँदै गएको हाम्रा वरिपरि दिनहुँजसो घटित घटनाबाट थाहा भइरहेको छ । समाजमा, नैतिकताको पतनको पराकाष्ठा नै भइरहेको टड्कारो अनुभव गर्न थालिएको छ ।
यसका कारणमध्ये पहिलो हो विद्यालयमा नैतिकताको पाठ पढाउन छाड्नु र अर्को कुरा घरपरिवारमा पनि बालबच्चालाई शिष्टाचार, इमानदार र नैतिकवान हुनुपर्छ भन्ने सिकाउन छाड्नु । दोस्रो कुरा राज्यसंयन्त्रबाट यस्ता अनैतिक र दूराचारीलाई कठोर सजाय दिने कानुनको अभावमा र प्रचलित कानुनअनुसार दण्ड दिन मोलाहिजा गर्नाले यस्ता प्रकृतिका मानिसहरू उच्छृंखल भई अनैतिक काम झन् बढी गर्न थाल्दछन् र समाजमा अराजक स्थिति सिर्जना भएर जान्छ ।

जब मानिसमा नैतिकताको ह्रास हुन थाल्दछ अनि उसले संस्कारविहीन भएर यौनदूराचार, व्यभिचार, ठगी, लुटपाट र हत्याहिंसा जस्तो जघन्य अपराध बगे्रल्ती गर्न थाल्दछ । यसले गर्दा समाजमा शान्ति भंग भई जनसमुदाय असुरक्षित र त्रासमा बाँच्नु परेको हुन्छ । यौनजन्य अपराधमा भइरहेको दानवीय प्रवृतिको वृद्धिलाई नियाल्दा प्रश्न गर्न मन लाग्छ के मानवता यतिसम्म तल झरेर अधम हुन सक्छ र ?

मोरङको सुन्दरहरैंचा र लेटाङको पाशविक बलात्कार र हत्या–काण्डले आङ सिरिङ्गै पारेको छ । भर्खर जन्मेकी १८ महिने दूधे बालिकालाई समेत बर्बरतापूर्वक बलात्कार गरी हत्यैसमेत गर्ने यी कस्ता आश्चर्यलाग्दा धटना भइरहेका छन् । यस्ता बारदातहरू हेर्दा यो कस्तो दानवीय प्रवृत्तिको विकास हुन गएको हो ? हाम्रो समाजमा ।

यौनअपराध अन्तर्गत बलात्कार गरी पिडकले आफू जोगिन दसी प्रमाण मेटाउन पीडितको हत्यैसमेत गर्ने गरेको पाइएको छ । हत्याजस्तो जघन्य अपराध गरी सजायबाट जोगिन सक्ने यो कस्तो मूर्ख सोच ? के अहिले केही मानिस पशुभन्दा पनि तल झरेका हुन् त ? पशुहरूमा पनि विना सहमति कहिले सहबास भएको देखिँदैन । हत्याजस्तो विभत्स र भयावह शब्द सुन्दै आङ सिरिंग हुने कसरी गर्न सकेका होलान् ?
यस्ता जघन्य र दानवीय प्रवृत्तिको विकासले चेलीबेटीहरू मात्र नभएर आमनागरिक समेत आतंकित भइरहेका छन् । तर, त्यही समाजका केही ठूला र प्रभावशाली कहलाइएका मानिसले यस्ता जघन्य अपराधीलाई भरमग्दुर प्रयास गरी जोगाउने गरेको देखिएको छ । यस्तो उदेकलाग्दो व्यवहार आमनागरिकले सहिरहनु पर्दा राज्य नभएको जस्तो अनुभव भइरहेको छ ।

हाम्रो समाजमा यो कस्तो कुसंस्कृतिको विकास भइरहेको छ ? सबै मिलेर यस्ता कुकृत्य गर्ने अपराधीलाई कडाभन्दा कडा सजाय दिलाउनुको सट्टा आफ्नालाई र प्रभावशाली हुनेखानेलाई बचाउन र जोगाउन कुनै पनि हतकण्डा बाँकी राख्दैनन् । समुदायका ठूला र प्रभावशाली व्यक्तिहरूले पीडितलाई डरधाक देखाइ, आर्थिक प्रलोभन दिई गुपचुप समुदायमै धेरैजसो घटना मिलाइदिने गरेकाले प्रोत्साहन पाई यस्ता प्रकृतिका अपराधमा वृद्धि हुनगएको हो । राज्य-संयन्त्रका पदाधिकारीले पनि ओहदा ग्रहण गर्ने बेलामा आफू यो पदमा बस्दासम्म पूर्णइमानदार भई काम गर्नेछु भनी खाएको शपथलाई लत्याएर प्रभावशाली मानिसहरूको कुसन्तानलाई र आफ्नाको बचाउमा सघाउने गरेको पाइएको सबैले टड्कारो अनुभव गरिरहेका छन् ।

पीडित न्यायको लागि हारगुहार गर्दै तलदेखि माथिसम्म धाउँदा, सत्याग्रह गर्दा, अनशन बस्दासमेत आजसम्म न्यायनिसाफ नपाएकी कञ्चनपुरकी १४ वर्षीया निर्मला पन्त यसको ज्वलन्त उदाहरण हुन् । समाजमा घटिरहने यस्ता दुर्दान्त घटनाले न्याय नपाउँदा यस्ता कामुक र आपराधिक मनोवृत्ति भएका व्यक्तिहरूले हौसला पाई झन् त्यस्ता अपराध गर्न प्रोत्साहित भई पन्तपछि बैतडीकी १७ वर्षीया भागरथीको पनि अपराधीले सोही किसिमबाट बलात्कार र हत्या गरिएको अनेक तथ्यबाट पुष्टि हुने देखिए तापनि अपराधी पकडमा आउन नसक्नुले अपराधीले कताबाट र कसबाट संरक्षण पाउने गरेको छ भन्ने अति संवेदनशील प्रश्न खडा भएको छ ।

नेपालगञ्जकी नन्कुन्नी धोबी र निर्मला कुर्मीको यस्तैगरी हत्या गरिएकोमा स्थानीय प्रशासनबाट न्याय नपाएपछि नेपालगञ्जदेखि कैयौं हप्ता लगाएर महिला अधिकारकर्मीहरू पैदल हिँडेर काठमाडौं आई माइतीघर मण्डलामा धर्ना बसी न्याय माग्दा प्रशासनको ध्यानाकर्षण महिनौंसम्म नहुनु र भएपछि पनि आश्वासनमात्र पाउनुलाई राज्यसंयन्त्र प्रभावशाली व्यक्तिहरूको प्रभावमा परी अपराधीलाई जोगाउने गरेको जो कोहीले स्पष्टै बोध गरिरहेका छन् । लोकतन्त्रको बहालीपछि बगे्रल्ती पुनरावृत्ति भइरहेका यस्ता आपराधिक घटनाहरूले समाज र शासन संयन्त्रमाथि प्रश्नचिहृन खडा गरेको छ । पुरुष प्रधान समाजमा नारीलाई भोग्यामात्र सम्झिने मानसिकताबाट पुरुषहरू कहिले माथि उठने ?

अपराधीलाई संरक्षण दिन थालेपछि समाजमा सुव्यवस्ता र अमनचैन कायम राख्न सकिँदैन । सुव्यवस्था कायम नरहेको अवस्थामा एकले अर्काको देखासिकी गरेर अपराध गर्न थाल्छन् र कानुनबाट जोगिनका लागि समाजका प्रभावशाली व्यक्तिहरूबाट कहिलेकाहीँ प्रशासनिक निकायबाट समेत सहारा खोजी संरक्षण प्राप्त गर्न सफल भइरहेका छन् । समाजमा यस्ता खालका अनैतिक र अवाञ्छित हिंसक घटनारू बारम्बार दोहरिन थालेमा र समाजकै मानिसहरू पक्ष विपक्षमा उभिएर न्यायको पथ अवरोध गरी अपराधीलाई बचाउन नाराजुलुस गर्न थाले भने न्याय पाउने आस मरेर जान्छ र मानिसहरू असुरक्षित एवं आतंकित भई चैनसँग बस्न र कामकाज गर्न सक्ने अवस्था रहँदैन ।

अभिनेता पल शाहलाई बलात्कारको अभियोगबाट जोगाउन उनका समर्थकले गरिरहेको नारा जुलुसबाट समाजमा यो कस्तो विकृतिहरू भित्रिन लागेको हो भन्ने कुरा चिन्ताको विषय हुनआएको छ । समाजको यही दुरावस्था अन्त्य गरी सुशान्ति सुव्यवस्था र अमनचैन कायम राख्न न्यायपूर्ण र सुदृढ राज्यव्यवस्थाको आवश्यकता हुन आएको हो । लोकतन्त्रमा विरोध गर्न पाइन्छ भन्दैमा यस्ता अनैतिक र यौनदूराचारी हत्याहिंसा गर्ने अपराधीको संरक्षणका लागि नाराजुलुस गर्न थालिएमा समाजको दूरावस्था भई जसको शक्ति उसको भक्तिको अवस्थामा पुग्नेछ । यस्तो अवस्थामा न्यायालय निरीह भएर बस्नुपर्ने हुन्छ ।

लोकतन्त्रमा राज्यले प्रत्येक व्यक्तिको जीउज्यानको, उसको सम्पत्तिको अनि समाजमा मर्यादापूर्वक शान्तिसँग रहन बस्ने अधिकारको प्रत्याभूति संविधानमै गरेको छ । त्यसैल राज्यव्यवस्थाले अपराधीलाई कानुनले तोकेको सजाय मोलाहिजा नगरी अनावश्यक विलम्बसमेत नगरी दिइनुपर्छ दिलाउनुपर्छ, अनिमात्र राज्यमा शान्तिसुव्यवस्था र अमनचैन कायम रहन्छ । तर यहाँ त अपराधीलाई संरक्षण प्रदान गरी न्यायको दैलोसम्म पुग्न व्यवधान खडा गरी न्याय निसाफ हुन नदिने गरेको माथिका उदाहरणबाट पुष्टि हुन आएको छ ।

हालसालैको धटना अछाम मंगलसेनकी एउटी किशोरी बलात्कृत भई न्याय माग्न जसोतसो अदालत त पुगिन् तर अदालतले पिडित बलात्कृतलाई नै साढे तीन वर्षको जेल सजाय तोकी फैसला गरिदियो । कानुनले कुनै किशोरीलाई प्रभावमा पारेर वा झुक्याएर राखिएको शारीरिक सम्बन्ध पनि जबर्जस्ती करणी हो भन्छ । बिहे गर्छु भनेर घरमै माग्न आएको समय किशोरीकै घरमा र जंगलमा समेत शारीरिक सम्बन्ध राखेपछि अलपत्र छाडेर हिँडनु सरासर झुक्याउनु हो ।

पीडितको उजुरी जसोतसो अदालतमा पुगेपछि त्यहाँका पुरुष समाजले पिडक आफ्नै गाउँठाउँ र जिल्लाको भएकाले बचाउनुपर्छ जेल पठाउनु हुँदैन भन्ने मानसिकताले पीडितलाई आर्थिक आश्वासन, सामाजिक दबाब र बिहेको प्रलोभनसमेत दिएर बयान फेर्न लगाएकाले अदालतले सोही कुरालाई सत्य मानी कुनै अदालती जाँचपड्तालै नगरी अर्थात् पीडितलाई दबाब दिई प्रभावमा पारी बयान फेर्न लाएको हुनसक्नेतर्फ संवेनशील नभई हाल त्यस्तो साढे तीन वर्ष सजाय हुने प्रचलित कुनै कानुन नरहेको र त्यति सजाय हन लगाइएको अध्यादेश पनि निष्क्रिय भइसकेकोमा टेकेर फैसला गरेको कस्तो आश्चर्य लाग्दो घटना ।

हो, यस्ता घटनाहरूले अत्याचारी अपराधीले प्रोत्साहन पाई यस्ता कुकृत्य बढ्दै जान्छ र पीडित शारीरिक र मानसिक पीडा सहँदै जिन्दगी बर्बाद भएर बस्नुपर्ने विवश हुन्छन् । यस्तो किन भइरहेको छ त ? माथि भनिसकिएको छ हाम्रो शिक्षा पद्धतिमा प्रारम्भदेखि नै नैतिकताको शिक्षा दिन थालेर माध्यमिक स्तरसम्म मायम राख्नुपर्ने देखिन्छ । अर्को यस्ता जघन्य अपराधी हत्यारालाई जनआवाज उठेअनुसारको भन्दा पनि कडा कानुन निर्माण गरी दण्ड दिन विलम्ब भइसकेको छ । अन्यथा जनताले के तोकतन्त्र समाजमा यही अनाचार, यौन दूराचार, व्यभिचार, हत्याहिंसा मौलाइरहनकै लागि ल्याइएको हो त ? भन्ने अनुभव गर्न थालेका छन् ?

समाजमा भएका यस्ता आपराधिक प्रवृत्तिका मानिसको आपराधिक क्रियाकलापलाई दण्डित नगरी पिडितलाई न्याय दिन मोलाहिजा र लापर्बाही भइरहेमा राज्य व्यवस्थाप्रति नै जनताको वितृष्णा जाग्न सक्छ । त्यसैैले बेलैमा यस्ता आपराधिक क्रियाकलापलाई दुरुत्साहन गर्ने यावत् उपाय अवलम्बन गरी सचेत हुने बेला घर्किन लागेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?