दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्नेछ ।

आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौता माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि छलफल गरियोस् भन्ने प्रस्तावका साथै खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

बैठकमा आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने छ । यस्तै, अर्थमन्त्री वर्षमान पुनले उक्त छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।

यस्तै संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक पनि आज बस्दैछ । बैठक संसद भवन नयाँ बानेश्वरमा बिहान सवा ११ बजे बस्ने गरी बोलाइएको छ । आजको बैठकमा राष्ट्रियसभाका अध्यक्षले कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुनेछ ।

यस्तै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा उठेका प्रश्नहरूको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिने कार्यक्रम छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?