लोप हुँदै दुईसय वर्ष पुरानो पर्म परम्परा

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 9 mins

म्याग्दी । धान, कोदो रोप्दा र गोडमेल गर्दा गाइने पर्मेली गीतले कुनैबेला म्याग्दीको ग्रामीण क्षेत्र घन्किथ्यो । गीत गाउँदै असारे झरीमा अर्मपर्म गर्दै काम गर्नुको मजै बेग्लै थियो ।

एक दशकअघिसम्म जिल्लाको ग्रामीण क्षेत्रमा धारा, कोदो रोप्दा गाइने पर्मेली गीत र पर्म लगाउने परम्परा हिजोआज भने हराउँदै जान थालेको छ ।
म्याग्दीको मगर वाहुल्य माथिल्ला वस्तीहरुमा काम गर्दा माइती र घर पक्षका आफन्तहरुलाई बोलाई आलोपालो गरेर काम गर्ने र सम्बन्ध जोड्दै आएको दुई सय वर्षभन्दा पुरानो पर्म लगाउने परम्परा हराउँदै गएपछि ग्रामीण संस्कृति पनि नासिदै गएकोमा पाका पुस्ताले चिन्ता व्यक्त गर्न थालेका छन् ।

“पर्म पराम्पराको इतिहास दुई सय वर्ष पुरानो छ” बेनी नगरपालिका २ बगरफाँटका ८७ वर्षिय बेदप्रसाद उपाध्यायले भन्नुभयो “वि.सं १८७० ताका म्याग्दीका गाउँ गाउँमा रहेका मुखियाहरुले आआफ्नो खेतमा काम गर्नका लागि गाउँलेहरुलाई उदी लगाउँथे,सबै गाउँलेहरु मिलेर उनीहरुकोमा निःशुल्क काम गरिदिनुपर्दथ्यो । त्यसैको सिको गर्दै गाउँलेहरुले पनि एक अर्काकोमा गएर पालैपालो काम गर्न थाले,त्यसैलाई पर्म लाउनी भन्न थालियो ।”

अर्थ र श्रमसँग प्रत्यक्ष सम्बन्ध रहेको यो प्रथा सामाजिक सम्बन्धको मापन पनि भएको मालिका गाउँपालिका वडा नं ६ का ७३ वर्षिय डिलबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार परम्पराकै रूपमा रहेका कारण पर्म प्रथा ग्रामीण संस्कृतिको एक अंग बनेको थियो । तर, पर्म प्रथालाई सन्दर्भ बनाएर आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा प्राज्ञिक अध्ययन भएको पाइँदैन ।

पर्म प्रथालाई सामाजिक अध्ययनको विषय बनाउनु नितान्त आवश्यक रहेको समाजशास्त्रका अध्यापक नविन घिमिरेले बताउनुभयो । “कसैको खेतमा रोपाइँ गर्नुप¥यो वा फसल काट्नुप¥यो भने थोरै श्रमले पुग्दैन । यस अवस्थामा एकले अर्काको खेतमा काम गर्न जाने हो । काममा सघाउन आउनेहरू एकभन्दा बढी हुन्छन् र छिटै काम सम्पन्न हुन्छ । सहयोगको बदलामा सहयोग नै गर्न जाने प्रथा नै पर्मका रूपमा बुझिन्छ” अध्यापक घिमिरेले भन्नुभयो ।

समय परिवर्तनसँगै ग्रामीण बस्तीहरुबाट बसाइँसराइ गरेर शहरपस्ने क्रम बढ्दै गएपछि गाउँमा खेती लगाउने र अर्मपर्म गर्ने परम्परा घट्दै गयो । युवाहरु वैदेशिक रोजगारका लागि विदेशमा जाने र परिवार शहरतिर झर्ने चलन जिल्लामा व्यापक छ ।

कोदो उत्पादनका लागि प्रशिद्ध मानिएको जिल्लाको मालिका गाउँपालिका २ रुममा एक दशक अघिसम्म कोदो रोप्दाको रमाइलो नै बेग्लै हुन्थ्यो । कोदो रोप्नका लागि जुटेका माइती र चेलीको हुलले असारको तेस्रो सातादेखि र साउन महिनाको दोस्रो सातासम्म बारी ढाकेको हुन्थ्यो । बाँसुरी, मादल, बच्छे बाजालगायतका बाजा बजाएर मेलामा पर्मेली गीत गाउँदा कुनै ठूलै चाँडको झल्को आउँथ्यो ।

तर, अहिले रुमको केही जग्गामा कोदो रोपाइँ सुरू भए पनि आजभोलि पर्मेली हुल देखिन छाडेका छन् । “पहिला बाजागाजासहित पर्मेली गीत गाउँदै तामझाम गर्दै कोदो रोपाइँ गर्ने चलन थियो,” मालिका २ रुमकी तिला विकले भन्नुभयो “कोदो रोपाइँ सुरू भएपनि अहिले पहिलाजस्तो पर्मेली हुल छैनन् ।”
माइती र चेली जुटेर एकअर्कामा पर्म लगाउँदै पर्मेली गीत गाउने रुमको मौलिक विशेषता हो । चेलीले कोशेली दिएपछि माइती पर्म लगाउन तयार हुने र माइतीको समेत रोपाइँ सकेपछि अन्त्यमा भोज खाएर कोदो रोपाइँ समापन गर्ने चलन यहाँको पुरानो परम्पराको रूपमा मानिन्छ । तर, अहिले बजारमा निस्किएका थरिथरिका आधुनिक गीत संगीतले नयाँ पुस्तालाई ध्यान खिच्न थालेपछि त्यसको असर पर्मेली गीतमा परेको छ । पर्मेली गीत गाएर कोदो रोप्ने चलनलाई विस्थापित गर्दै अहिले मोबाइलमा गीत बजाएर कोदो रोप्न थालिएको स्थानीय बताउँछन् ।

ग्रामीण क्षेत्रका स्थानीय रोजीरोेटीका लागि बाह्य क्षेत्रमा जाने क्रम बढेसँग पर्म लगाउने परम्परा प्रभावित भएको हो । जिल्लाका रुम,ओखरबोट,हिस्तान,नारच्याङ लगाएतका गाउँमा लाहुरे युवाहरू परिवारसहित शहर तथा सुविधासम्पन्न क्षेत्रमा बसोबास गर्ने क्रम बढ्दो छ । कुनै बेलाको मुख्य चहलपहल हुने यी ठाउँका घरहरू रित्तिएका छन् । रित्तिएका घरहरू रूग्न र जग्गा कमाउनका लागि आसपासका क्षेत्रबाट गाउँमा आउनेकोे क्रम बढी छ । बाहिरबाट आएकाहरूलाई पर्मेली परम्पराप्रति चासो कम छ ।

गाउँमा अहिले पहिलाको तुलनामा पर्मेली परम्परा हराउन थालिसकेको मालिका गाउँपालिका ६ की रसमाया सिउथानीले बताउनुभयो “गाउँभरिका माइती चेली जुटेर एकैदिन मेलो सल्टाउँदा खुब रमाइलो हुन्थ्यो,” उहाँले भन्नुभयाे, “तर अहिले त्यस्तो छैन । कतैकतै मात्रै अर्मपर्म चलिरहेको छ । अब त यो परम्परा नै मासिने पो हो कि भन्ने चिन्ता छ ।”

पर्मेली परम्परा हराउँदै गएपछि जिल्लामा पर्मेली गीत गाउनेको अभाव हुन थालेको छ । उमेर ढल्केकाहरूले मात्रै पर्मेली गीत भाका हालेर गाउन सक्छन् । उनीहरू मेलापातमा पुगेर भाका हाल्न सक्दैनन् । नयाँ पुस्ताले पर्मेली गीत बिर्सिसके । “किसानलाई खेतीकिसानीमा आकर्षित गराउन र सबै समुदायलाई एकै भावनामा जोड्नका लागि पर्मेली गीत र पर्म लगाउने परम्पराले सहयोग गरेको थियो,” मालिका गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगरले बताउनुभयो ।

“संस्कृतिकै रूपमा विकास भएका यस्ता परम्परा जोगाउनका लागि हामी लागिपर्नु आवश्यक भएको छ” उहाँले भन्नुभयो । समाजशास्त्रका अध्यापक घिमिरेका अनुसार पर्म प्रथालाई प्रायः समाज तथा समुदायले आ–आफ्नो मौलिक परम्परा रहेको र अन्य समुदायले पछि अपनाएको भन्ने बुझाइ छ । यसको अर्थ हो, मानव समाजमा यो प्रथा निकै पुरानो हो र यस्तै प्रथालाई आत्मसात् गरी समाजको विकास भएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?