एसियाडका लागि तेक्वान्दो छनोट शुक्रबारदेखि

Read Time = 3 mins

काठमाडौं । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि तेक्वान्दो खेलाडीको प्रारम्भिक छनोट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । एसियाली खेलकुद भदौ २५ देखि असोज ९ गतेसम्म हुँदैछ । प्रतियोगितामा जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा हुने छनोट समितिका संयोजकसमेत रहनुभएका तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाउनुभएको छ ।

ग्योरोगीमा पुरुषतर्फ पाँच र महिलामा चार गरी नौ स्पर्धामा खेल हुनेछन् । सो स्पर्धामा पुरुष/महिला एकल पुम्से विधा पनि समावेश छ । ग्योरोगीको पुरुषमा ५८ केजीमुनि, ६३ केजीमुनि, ६८ केजीमुनि, ८० केजीमुनि र ८० केजीमाथि तथा महिलामा ४९ केजीमुनि, ५३ केजीमुनि, ५७ केजीमुनि र ६७ केजीमुनि तौल समूहमा भिडन्त हुनेछ ।

स्पर्धामा सहभागी हुन १८ वर्ष पूरा भएको हुनुपर्नेछ । छनोटमा भाग लिन हालसम्म आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडी, कुनै पनि आमन्त्रण अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पदक प्राप्त खेलाडी, राष्ट्रिय खेलकुद परिषद्/संघले आयोजना गरेको वा संघले मान्यता दिएको राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रदेशस्तरीय प्रतियोगितामा स्वर्ण विजेता खेलाडी तथा विभागीय टिमको हकमा विभागले आयोजना गरेको विभागीय राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक प्राप्त खेलाडी हुनुपर्नेछ ।

प्रत्येक स्पर्धामा चार खेलाडी पहिलो चरणमा छनोट हुनेछन् । दुईदिने छनोट प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा हुनेछन् ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?