खेलाडी र प्रशिक्षक विवाद छानबिन गर्न समिति बनाइने

Read Time = 4 mins

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवाद छानबिन र समाधानका लागि छानबिन समिति गठन गर्ने भएको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र खेलाडीबीच भएको छलफलपछि दुवै पक्षले छानबिन समिति गठन गर्ने सहमति गरेका हुन् ।

अध्यक्ष शेर्पाका अनुसार छानबिन समितिले चार दिनभित्र प्रतिवेदन बुझाउनेछन् । मुख्य प्रशिक्षक अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० खेलाडीले बन्द प्रशिक्षण छाडे पनि नेपाली फुटबलमा विवाद सिर्जना भएको थियो ।

खेलाडीले एन्फा अध्यक्षलाई भेट्नुअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङलाई समेत भेटेका थिए । यस्तै अखिल नेपाल फुटबल खेलाडी संघले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) लाई समेत सहयोगका लागि अनुरोध गरेको छ ।

अलमुताइरीको व्यवहारसँग असन्तुष्टि व्यक्त गर्दै १० जना खेलाडीहरूले जारी एएफसी एसियन कप छनोट २०२३ को बन्द प्रशिक्षण छाडेका थिए । प्रशिक्षणका क्रममा एन्फाको सातदोबाटोस्थित होस्टलमा खेलाडीहरूलाई राखिएको थियो । तर, होस्टलको सेवा सुविधा राम्रो नभएको गुनासो गरेका सिनियर खेलाडी तथा मिडफिल्डर रोहित चन्दले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग गुनासो गरेपछि उहाँलाई प्रशिक्षक अलमुताइरीले टोली बाहिर राख्नुभएको थियो ।

कप्तान किरण चेम्जोेङ विदेशी लिग खेल्न व्यस्त रहेका बेला उहाँको अनुपस्थितिमा रोहितले खेलाडीहरूका तर्फबाट प्रशिक्षकलाई कुरा राख्नुभएको थियो ।

रोहितलाई कारबाहीपछि त्यसबारे कुरा गर्न गएका अरू नौजना खेलाडीलाई पनि प्रशिक्षक अलमुताइरीले क्याम्प छोडेर जान भनेपछि खेलाडीहरू अनुपस्थित रहेका हुन् । रोहितसँगै बन्द प्रशिक्षणमा अनुपस्थित सिनियर खेलाडीहरू सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुमन लामालगायतले पत्रकार सम्मेलन गर्दै अब अलमुताइरीसँग खेल्न नसकिने बताउनुभएको थियो ।

खेलाडीहरूले बिहीबार पत्रकार सम्मेलनसँगै प्रशिक्षकमाथि छानबिन गरेर कारबाही हुनुपर्ने माग राखेका थिए । खेलाडीहरूले अलमुताइरीले बारम्बार क्याम्प छाडेर जान भनेपछि आफूहरू बाध्य भएर बाहिर निस्किएको जनाउनुभएको थियो ।

त्यसबारे आफ्नो धारणा सार्वजनिक गर्नेक्रममा अलमुताइरीले खेलाडीले आफूलाई लगाएको आरोपका लागि उनीहरूलाई माफी दिएको र एन्फालाई कुनै कारबाही नगर्न आग्रहसमेत गर्नुभएको छ । उहाँले आफू राष्ट्रिय टोलीबाट निरन्तर प्रशिक्षण गर्न चाहेको भन्दै राष्ट्रिय टोलीको अभिभावकका नाताले खेलाडीहरूको तातो रगतबारे जानकारी रहेको बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?