रातो मत्स्येन्द्रनाथको रथयात्रा सुरु

Read Time = 3 mins

काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथयात्रा सुरु भएको छ । रथारोहण गरेको चार दिनपछि रथ तान्न सुरु गरिएको हो । ललितपुरको पुल्चोकबाट रथारोहण गरी मत्स्येन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ । यससँगै मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुङगमतीमा लगिएपछि जात्रा समापन हुन्छ ।

किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोँकमा उहाँले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाउनुभयो । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित चक्रधर मिलेर मत्स्येन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याउनुभएको थियो ।

काठमाडौं उपत्यकामा मुहार रातो हुनुभएका रक्तवलोकेश्वर करुणामयको स्थान निकै उच्च छ । उहाँलाई लोकनाथ, रातो मत्स्येन्द्रनाथ, मच्छिन्द्रनाथ, बुंगमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउने चलन रही आएको छ ।

करुणमयलाई ३२ हातका साथै ४८ फिट अग्लो रथमा विराजमान गराइन्छ । मत्स्येन्द्रनाथको रथ ८०० सालमा नरेन्द्रदेवको छोरा राजा वरदेवले बनाउने चलन चलाउनुभएको थियो । रथलाई जात्रा अवधिभर ललितपुरको टोल टोल घुमाउने प्रचलन रहेको छ । सर्वसाधारणले यस जात्रामा आफन्तलाई बोलाएर भोज गरी जात्रा मनाउने गर्दछन् । यो जात्रा वैशाख महिनाको शुक्लपक्षअन्तर्गत प्र्रतिपदादेखि असार शुक्ल चौथीसम्म करिब दुई महिना मनाउने गरिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?