✍️ रत्न प्रजापति
नेपालको वैदेशिक व्यापार निरन्तर घाटामा छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको नौ महिनामा कूल व्यापार घाटा १३ खर्ब ६ अर्ब ९ करोड रुपैयाँ पुगेछ । कुल १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँको वस्तु आयात हुँदा १ खर्ब ६० अर्ब ५७ करोड रुपैयाँको मात्रै वस्तु निर्यात भए छ । कृषिप्रधान मुलुक नेपालमा सो अवधिमा ६१ अर्ब ६९ करोडको खाद्यान्न आयात भएछ भने २९ अर्बको तरकारी आयात भएछ । यो तथ्यांकमा नेपालको दयनीय कृषिको प्रतिबिम्ब झल्किन्छ ।
यसो त विश्वका कुनै पनि मुलुक सबै वस्तुका लागि आत्मनिर्भर हुँदैनन् । विश्व अर्थतन्त्रमा अग्रणी स्थानमा रहेका अमेरिका र चीनले पनि वस्तु निर्यात सँगसँगै आयात पनि गर्छन् । विश्व व्यापार संगठनको ‘वल्र्ड ट्रेड स्टाटिस्टिक्स रिभ्यु २०२१’ मा उल्लेख भएनुसार चीनको कुल वैदेशिक व्यापारमा निर्यात र आयातको हिस्सा क्रमशः ५५.७६ प्रतिशत र ४४.२४ प्रतिशत छ भने अमेरिकाको ३७.२९ प्रतिशत र ६२.७१ प्रतिशत छ । चीनले वस्तु आयातभन्दा बढी निर्यात गर्छ । यी मुलुकको वैदेशिक व्यापारमा सन्तुलन छ । अझ तुलनात्मक लाभका वस्तु निर्यात गरेर विश्वबजारबाट आर्थिक लाभ पनि हासिल गर्छन् । त्यसैले यी मुलुक विश्वअर्थतन्त्रको अग्रस्थानमा रहन सफल छन् ।
आयातमा निर्भर अर्थतन्त्र भएको हुँदा नेपालले सधैं आर्थिक जोखिमको चुनौती सामना गर्नुपरेको छ । तुलनात्मक लाभका वस्तुको न्यून उत्पादन र निर्यात प्रवद्र्धनले प्रोत्साहन पाउँन नसक्दा व्यापार असन्तुलन बढ्दै गएको छ । स्वदेशमा उत्पादन नहुने वस्तुको आयात बढ्नु स्वाभाविक हो । तर स्वदेशमै उत्पादन हुनसक्ने वस्तुको पनि आयात बढ्नु विडम्बना नै हो । नेपाल कृषिप्रधान मुलुक हो । अद्यापि दुई तिहाइ जनसंख्या कृषिमा संलग्न छन् । यहाँ कृषि उत्पादनको अत्यधिक सम्भावना छ ।
अनि कृषिमा अत्यधिक जनशक्ति ग्रहण गर्नसक्ने सम्भावनासमेत भएकाले बेरोजगारी न्यूनीकरणको अवसरसमेत उपलब्ध छ । तर, कृषि राज्यको उपेक्षामा परेको, देशका नेतृत्वतहले खेतीको कुराभन्दा कुराको खेती गर्ने गरेको, स्वदेशी उत्पादनलाई भन्दा आयातीत विदेशी उत्पादनलाई बढी महत्व दिने गरेको आदि कारणले वस्तु आयातमा थप दबाब पर्दै आएको छ । यही दबाबकै परिणाम हो अत्यधिक आयात र बढ्दो व्यापार घाटा । आयात बढेसँगै शोधनान्तर घाटा र विदेशी मुद्रा सञ्चितिसमेत उच्च दरले घटेकाले अर्थतन्त्र संकटमा पर्ने चिन्ता बढेको छ ।
व्यापार घाटा न्यूनीकरण गर्ने हो भने आन्तरिक उत्पादन वृद्धि र निर्यात प्रवद्र्धनमा जोड दिनैपर्छ । तुलनात्मक लाभका वस्तु उत्पादन वृद्धि गर्ने नीतिगत योजनासहितका कार्यक्रम लागू गर्ने र निर्यात प्रवद्र्धनलाई टेवा पुर्याउने नीति लागू गर्ने हो भने व्यापार घाटा न्यूनीकरण असम्भव पनि होइन । कृषिप्रधान मुलुक कमसेकम कृषि वस्तुका लागि मात्रै आत्मनिर्भर हुने हो भने पनि अहिलेको व्यापार घाटामा झण्डै २० प्रतिशतसम्म कम गर्न सकिन्छ । किनभने भन्सार विभागको तथ्यांकअनुसार वर्षेनी ३ खर्ब रुपैयाँभन्दा बढीको कृषीजन्य वस्तु आयात भइरहेको छ । कृषिका लागि बोलीमा मात्रै होइन व्यवहारमै प्राथमिकता दिएर नीति, योजना तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्ने हो भने यो कार्य सम्भव छ ।
स्वदेशी उत्पादनको उपयोगलाई प्रोत्साहित गर्ने नीतिले आयात कम गर्न सकिन्छ । यस्तो नीति र निर्देशिका नबनेको होइन । ‘सार्वजनिक निकायमा स्वदेशी वस्तु उपयोग गर्नेसम्बन्धी निर्देशिका २०७१’ र ‘सार्वजनिक खरिद नियमावली २०६४’ जारी भएको छ । जारी निर्देशिकाको दफा ३ मा ‘सार्वजनिक निकायले स्वदेशी वस्तु खरिद गर्नुपर्ने’ र दफा १० मा ‘कर्मचारी पोशाकमा स्वदेशी सामग्रीको प्रयोग गर्नुपर्ने’ भनेर स्पष्टै लेखिएको छ ।
यस्तै सार्वजनिक खरिद नियमावली २०६४ को नियम १७ मा सार्वजनिक निकायले मालसामान खरिद गर्दा विदेशी मालसामान भन्दा नेपालमा उत्पादित मालसामान १५ प्रतिशतसम्म महँगो भए तापनि नेपाली मालसामान नै खरिद गर्नुपर्ने उल्लेख छ । तर, जारी निर्देशिका र नियमावलीको प्रभावकारी कार्यान्वयन हुन नसक्दा स्वदेशी वस्तुले प्रोत्साहन पाउन सकेको छैन । कमिसनका लागि आयातीत वस्तुको उपयोगमै जोड दिने प्रवृत्ति छ ।
हामी आम उपभोक्ता पनि स्वदेशी उत्पादनको उपयोगप्रति सचेत छैनौं । अहिले हामी विदेशी वस्तुको उपयोगमा लालायित छौं । स्वदेशी वस्तुलाई उपेक्षा गर्दै विदेशी वस्तुको खोजी गर्छौं । सस्तोमा मकै बेचेर महँगोमा विदेशी कर्नफ्लेक्स किन्छौं । आलु बेचेर विदेशी पोटाटो चिप्स र फिंगरचिप्स किन्छौं । विदेशी वस्तु उपयोग गर्नुलाई हामी सुविधासँग भन्दा पनि हाम्रो सामाजिक हैसियतसँग जोडेर हेर्छौं । सहरीया उपभोक्ताले उपभोग गर्ने प्रायः हरेक वस्तु आयातित नै हुन्छन् ।
कुरा राष्ट्रियताको गरे पनि व्यवहारमा भने हामी हरेक कुरामा परनिर्भर हुन खोज्दैछौं । हाम्रो यस्तै गलत प्रवृत्तिले मौलिक स्वदेशी वस्तुहरूको उपयोग दिनहुँ घटिरहेको छ । तिनको उपयोग घटेसँगै उत्पादन पनि घट्दैछ । आन्तरिक उत्पादन घटेसँगै आयात बढ्दैछ । परिणामतः वर्षेनी हाम्रो वैदेशिक व्यापार घाटा कहालीलाग्दो गरी बढिरहेको छ ।
आन्तरिक उत्पादनलाई प्रोत्साहित गर्दै आयातलाई प्रतिस्थापन र परनिर्भरतालाई न्यून गर्ने उद्देश्यले ‘हाम्रो सामान, हाम्रै स्वाभिमान’ नारासहित ‘मेक इन नेपाल-स्वदेशी’ नामक अभियान पनि सुरु गरिएको छ । यो अभियान सञ्चालनका लागि सरकार र नेपाल उद्योग परिसंघबीच समझदारी पनि भएको छ । हरेक वर्ष एक हजार उद्योग सञ्चालन गरी डेढ लाख रोजगारी सिर्जना गरिने कूल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत पुर्याउने, पाँच वर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पुर्याउने, पाँच वर्षभित्र डुइङ बिजिनेस इन्डेक्स कम्तीमा ३० अंकले सुधार गर्ने, पाँच वर्षभित्र स्वदेशमै आत्मनिर्भर बन्न सकिने प्रमुख १० वस्तुको उत्पादन बढाएर आयात ४० प्रतिशतले घटाउने, प्रत्येक वर्ष नेपाली वस्तुको खपत २५.० प्रतिशतले बढाउँदै लैजाने; आयात प्रतिस्थापन गर्ने उद्योगहरू स्वदेशमै स्थापना गर्न प्रोत्साहित गर्नेलगायतका लक्ष्य बोकेको यो अभियान आफैं अहिले कता अलपत्र छ, आमउपभोक्ता अनभिज्ञ छन् ।
व्यापार घाटा बढेर अर्थतन्त्र जोखिममा परेको अवस्थामा आयात प्रतिस्थापन गरी आत्मनिर्भरोन्मुख अर्थतन्त्र निर्माणका लागि यो अभियान निकै सान्दर्भिक देखिन्छ । त्यसैले यो अभियानलाई प्रभावकारी र उपलब्धिमूलक बनाउनु आवश्यक छ । नेपालको वैदेशिक व्यापार पूर्णरूपमा आयातमा निर्भर रहेकाले व्यापार घाटा बढेको, शोधानान्तर घाटा बढेको र विदेशी मुद्रा सञ्चिति घटेको अवस्थाले अर्थतन्त्रको जोखिमलाई संकेत गर्दछ । अहिले जसोतसो रेमिट्यान्सले अर्थतन्त्र धानेको छ । रेमिट्यान्स परनिर्भरताकै सूचक हो । यही रेमिट्यान्समा पनि ह्रास आयो भने अर्थतन्त्रमा संकट आउने निश्चित छ । त्यसैले अब स्वदेशी उत्पादनलाई प्राथमिकता दिनैपर्ने खाँचो छ । अब हामीले आफ्नै उत्पादनप्रति गर्व गर्नुपर्छ र आफ्नै उत्पादन उपयोगलाई प्राथमिकता दिनुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच