जनताको सेवक बनेका थापा जनताकै चाहानामा पुनः अध्यक्षमा उम्मेदवार

Read Time = 7 mins

रामचन्द्र रायमाझी/पाल्पा । जनताको सेवक बन्नुभएका सन्तोष थापा मगर पाल्पाको माथागढी गाउँपालिकाका मतदाताका निम्ति कुनै नौलो नाम होइन । स्थानीय सरकारको संस्थापक प्रमुख भएर माथागढी गाउँपालिकामा भिज्नुभएका थापा विकासका प्रेमी नेता हुनुहन्छ ।

२०५४ सालदेखि नेपाल विद्यार्थी संघको सदस्यबाट राजनीतिक यात्रा सुरु गर्नुभएका थापाले २०५६ मा नेपाली काँग्रेसको क्रियाशिल सदस्य लिनुभएको थियो । उहाँ नेपाली काँग्रेसको भातृ संगठन राष्ट्रिय मगर संघ पाल्पाको सचिव हुँदै १२ औं महाधिवेशनबाट नेपाली काँग्रेस क्षेत्र नं.१ पाल्पाको सभापति हुनुभयो । पार्टीमा क्रियाशिल भएकै कारण थापा १३ औ महाधिवेशनबाट पुनः क्षेत्रिय सभापति बन्नुभयो । सबैका प्रिय र प्रभावकारी युवा नेताका रुपमा छवि बनाउनुभएका थापा १४ औं महाधिवेशनमा नेपाली काँग्रेस पाल्पाको सचिवमा भारी मतले विजयी हुनुभयो ।

सबैलाई मिलाउन र मिल्न सक्ने क्षमता भएका थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा माथागढी गाउँपालिकाको अध्यक्षमा अत्याधिक मतका साथ निर्वाचित हुनुभएको थियो । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट समाजशास्त्र, मानवशास्त्र र ईपिएममा डबल डिग्री हासिल गर्नुभएको भए पनि उहाँ समाज सेवामै होमिनुभयो । उहाँका समकक्षीहरु जागीर खाई पेन्सन पकाएर राजनीतिमा होमिएको अवस्थामा थापा भने जागीरप्रति कुनै मोह नराखी निरन्तर राजनीति र सामाजिक सेवामा तल्लीन हुनुहुन्छ ।

शैक्षिक,बौद्धिक, राजनीतिक र सामाजिक क्षेत्रमा अब्बल थापाले ३४ वर्षको उमेरमा माथागढी गाउँ सरकारको प्रमुखको जिम्मेवारी लिनुभएको थियो । उहाँले आफ्नो ५ वर्षे कार्यकालमा माथागढीको मुहार फेर्नुभएको छ । मगर समुदायको बाहुल्यता रहेको माथागढी विकासको क्षेत्रमा अत्यन्त पछाडी रहेको अवस्थामा थापाले विकासमार्फत यहाँको मुहार फेर्नुभएको हो । उहाँले अध्यारोमा रहेका यहाँका नागरिकहरुलाई उज्यालो बनाउनेदेखि यातायातको अभावमा घण्टौं लगाएर सदरमुकाम जानुपर्ने बाध्यताको अन्त्य गर्न सफल हुनुभएको छ । थापाको नेतृत्वमा यहाँ विद्युत् , सडक र पुलको विस्तार,स्वच्छ खानेपानी,स्वास्थ्य र शिक्षामा जनताको सहज पहुँच र सर्वसुलभ बनाइएको छ ।

उहाँले कोरोना महामारीका बेला जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकता मा राखेर काम गर्नुभयो । आफुले प्रयोग गर्दै आएको सवारी साधान समेत संक्रमितहरुलाई अस्पताल पुर्याउने काम गर्नुभएका थापालाई जिल्लामै उदाहरणीय जनप्रतिनिधिका रुपमा लिइएको छ । जिल्लामै पहिलो पटक स्थानीय पाठ्यक्रम निर्माण गरेर लागु गर्नुभएका उहाँले शिक्षाको गुरुयोजना समेत निर्माण गर्नुभएको छ । थापाकै नेतृत्वमा ४ हजार विपन्न घरपरिवारका लागि ४० करोडको स्वास्थ्य बिमा समेत गरिएको छ । उहाँले पालिकाका कृषकलाई व्यवसायिक कृषिमा जोड्ने काम गर्नुभयो । थापाले ४० वटा ऐन तथा कानुनहरु समेत निर्माण गरेर कार्यान्वयनमा ल्याउन सफल हुनुभएको छ ।

भाषण भन्दा काममा बढी विश्वास गर्ने थापाले आफ्नो ५ वर्षे कार्यकालमा विकास, जन सरोकार र जनचासोका विषयलाई केन्द्रविन्दुमा राखेर काम गरेकै कारण जनताको विश्वासका पात्र बन्न सफल हुनुभएको हो भएको छ । निर्वाचनका बेला जनतासमक्ष गरेका अधिकांस वाचाहरु पुरा गर्न सफल हुनुभएका थापालाई पुनः माथागढीवासीले गाउँपालिकाको प्रमुखमा उभ्याएका छन् । जनताको सेवक बनेका थापाले जनताकै चाहाना अनुरुप पुनः पालिकाको अध्यक्षमा उम्मेदवारी दिनुभएको हो । ‘जनताले पुन जनप्रतिनिधि बन्न आग्रह गरेको र पाँच वर्ष पालिका अध्यक्ष हुँदा अधुरो रहेका कामलाई पूरा गर्न फेरि पालिका अध्यक्षमा उम्मेदवार बनेको हुँ’ हिटासँगको कुराकानीमा थापाले भन्नुभयो । उहाँले पाँच वर्षका महत्वपूर्ण काम गरेको र केही कामको सुरुवात गरेको बताउनुभयो । गर्न बाँकी रहेका काम पुरा गर्न र पालिकावासीको समृद्धिका लागि अध्यक्षमा पुनः उम्मेदवारी दिएको थापाको भनाइ छ ।

उहाँले विजयी भएमा निर्माण प्रक्रियामा रहेको प्रशासनिक भवनको निर्माण गर्ने, पालिका केन्द्र र दुई प्रदेश जोड्ने बाटो पिच गर्ने, समग्र पालिका एक विद्यालयको अवधारणा अनुरुप सबै विद्यालयमा समान गुणस्तर कायम गर्ने, कृषि र पशुपालनलाई जीविकोपार्जन तथा प्रमुख आयआर्जनको रुपमा रुपान्तरण गर्ने, सहज सेवा प्रवाह, सुशासन र नागरिक हितको रक्षा गर्ने, सर्वशुलभ स्वास्थ्य सेवा, घरदैलोमा स्वास्थ्यकर्मी कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?