सुकीको सजाय पुनरवलोकनको अपिल खारेज

Read Time = 2 mins

यांगुन । म्यानमारको अदालतले भ्रष्टाचारविरुद्धको अभियोगमा सुनाइएको सजायबारे पुनर्विचार गर्न नेत्री आङ साङ सुकीले गरेको अपिल अस्वीकार गरेको छ । भ्रष्टाचारको आरोपमा गतसाता सुनाइएको पाँच वर्षको सजायविरुद्धमा सुकीले अपिल गर्नुभएको थियो । अदालतले सुकीलाई नगद र सुनको घुस स्वीकार गरेकोमा दोषी ठहर गर्दै गत हप्ता पाँच वर्षको जेल सजाय सुनाएको थियो ।

७६ वर्षीया सुकीलाई सेनाविरुद्ध उक्साहट दिएको अभियोगमा यसअघि नै ६ वर्षको जेल सजाय सुनाइसकिएको छ । उहाँले कोरोना भाइरस (कोभिड–१९) नियम उल्लंघन गर्दै दूरसञ्चार ऐन तोडफोड गरेको अदालतले ठहर गरेको थियो । यो अवधिमा सुकी राजधानी न्यापितस्थित कुनै अज्ञात स्थानमा नजरबन्दमा रहने पनि बताइएको छ ।

सुकीलाई अन्य थुप्रै मुद्दा लगाइएको छ, जसमा राज्यको गोपनीयता भंग गरेको, विभिन्न विषयमा भ्रष्टाचार गरेको र चुनावी धाँधली गरेकोलगायत थुप्रै आरोप लगाइएको छ । सबै आरोपमा सुकी दोषी पाइएमा उहाँलाई एक सय वर्षभन्दा बढी जेल सजाय हुनेछ ।
पत्रकारलाई अदालतको सुनुवाइमा उपस्थित हुन रोक लगाइएको थियो भने अहिले पनि सुकीका वकिललाई सञ्चारमाध्यमसँग कुरा गर्न प्रतिबन्ध लगाइएको छ ।

म्यानमारको मानव अधिकार अनुगमन समूहका अनुसार म्यानमारमा गत फेब्रुवरीमा सेनाले सत्ता नियन्त्रणमा लिएपछि भएका प्रदर्शन, विरोध र सरकारविरोधी अभियान सञ्चालनका क्रममा भएका झडपमा कम्तीमा एक हजार आठ सयभन्दा बढी मानिस मृत्यु भएको छ भने १३ हजारभन्दा बढी गिरफ्तार भएका छन् । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?