ओलम्पियनहरूको पुनर्मिलन हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल ओलम्पियन संघले ओलम्पिक डेका अवसरमा ओलम्पियन पुनर्मिलन गर्ने भएको छ । शुक्रबार प्रेस सम्मेलनको आयोजना गर्दै संघले असार ७ गते अहिलेसम्म जो भौतिकरूपमा रहेका ओलम्पियनहरू छन् तिनको भेला गराई पुनर्मिलन गर्ने जनाएको हो ।

नेपालले १९६४ मा टोकियोमा आयोजना भएको ओलम्पिकबाट ओलम्पिकमा उपस्थिति जनाएको थियो । संघले सो बेलादेखि २०२० मा टोकियोमा आयोजना भएको ओलम्पिकसम्मका ओलम्पियनहरूको पुनर्मिलन गर्न लागेको हो । ओलम्पियनहरू आ-आफ्नो कार्य व्यस्तताका कारण सबै सधँै एकै ठाउँमा भेला हुन नसक्ने अवस्था रहेकाले भ्रातृत्व र आत्मीयता साटासाट गर्न पुनर्मिलनको आयोजना गर्न लागिएको संघका अध्यक्ष दीपक विष्टले जानकारी गराउनुभयो ।

विष्टले विदेशमा रहेका ओलम्पियनहरूलाई पनि उक्त कार्यक्रममा सहभागी गराउन प्रत्यक्ष प्रसारणमार्फत् समेट्ने प्रयास रहेको बताउनुभयो । सो अवसरमा अग्रजलाई सम्मान गर्ने र दिवंगत ओलम्पियनहरूलाई पनि उक्त दिन विशेष सम्झना गर्ने अध्यक्ष विष्टले बताउनुभयो ।

संघले ओलम्पिक डेका अवसरमा अन्य कार्यक्रम पनि अगाडि सारेको छ । जसमा २०७९ असार ५ गते ओलम्पियन संघ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघबीच टेबलटेनिस, ६ गते ओलम्पियन संघ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चबीच मैत्रीपूर्ण फुटबल, ८ गते स्कुल टु ओलम्पिक कार्यक्रमअन्तर्गत विभिन्न स्कुलका विद्यार्थी र ओलम्पियनबीच अन्तरक्रिया कार्यक्रम र ९ गते ओलम्पिक डे मनाउने कार्यक्रम रहेको जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?