‘जन्मभूमिमा आएर काम गर्न पाउँदा खुशी’

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका नवनियुक्त कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले प्रारम्भिक छनोटमा परेका खेलाडीलाई प्रशिक्षण सुरु गराउनुभएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा उहाँले एन्फाले दिएको अवसरलाई सहजै स्वीकार गरेर नेपाली फुटबल टोलीलाई प्रशिक्षण गराउन आएको बताउनुभयो ।

प्रशिक्षक हुमागाईंले कर्मभूमि थलोबाट जन्मभूमिमा आएर काम गर्न पाउँदा खुशी लागेको भन्दै बंगलादेशविरुद्धको खेलमा राम्रो नतिजा ल्याउने उद्देश्यका साथ काम गर्ने बताउनुभयो । प्रशिक्षक हुमागाईँ अमेरिका बस्दै आउनुभएको छ । उहाँ नेपालीमूलको अमेरिकी नागरिक हुनुहुन्छ । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको स्वास्थ्यमा समस्या देखिएकाले उहाँको अनुपस्थितिमा एन्फाले एक खेलका लागि हुमागाईँलाई कार्यवाहक मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

आगामी असोज ११ गते घरेलु मैदान दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुने मैत्रीपूर्ण एक खेलका लागि एन्फाले प्रशिक्षक हुमागाईंलाई नियुक्त गरेको हो । प्रारम्भिक चरणमा रहेका ४० खेलाडीलाई प्रशिक्षक हुमागाईँले प्रशिक्षण गराउनुहुनेछ । प्रशिक्षक हुमागाईंले यसपटकदेखि फुटबल खेलका समर्थकलाई पनि हप्तामा एक दिन खेलाडीले प्रशिक्षण गरेको स्थलमा प्रवेशको मौका दिने बताउनुभयो ।

उहाँले नेपालमा फुटबल फ्यानको संस्कृतिलाई विकास गर्न समर्थकलाई प्रशिक्षणस्थलमा भित्र्याउने योजना रहेको बताउनुभयो ।
यसैगरी एन्फाका प्रवक्ता सुरेश शाहले मुख्य प्रशिक्षक अलमुताइरीको स्वास्थ्यमा समस्या देखिएकाले उहाँको अनुपस्थितिमा प्रशिक्षक हुमागाईंलाई नियुक्त गरिएको बताउनुभयो । नेपाली टोलीले प्रारम्भिक चरणको गोलरक्षकमा किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की र विशाल श्रेष्ठलाई बोलाएको छ ।

यसैगरी डिफेण्डरमा अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, निशान खड्का र अमित तामाङ छन् भने मिडफिल्डरमा सञ्जोग राई, पुजन उपरकोटी, राजन गुरुङ, एरिक विष्ट, सेसेहाङ आङदाम्बे, सुदीप गुरुङ, सुरजज्यु ठकुरी, सुवास गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ र अञ्जन विष्ट छनोट हुनुभएको छ ।

त्यस्तै फरवार्डमा विमल घर्तीमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, रितिक खड्का, जर्ज प्रिन्स कार्की, आषिश चापागाईँ, अविशेष रिजाल र भरत खवास प्रारम्भिक चरणमा छनोट हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?