अमेरिकाले ८० अर्ब दिने

Read Time = 2 mins

काठमाडौं । नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन अमेरिकाले झण्डै ८० अर्ब रुपैयाँ बराबरको सहयोग प्राप्त गर्ने भएको छ । अमेरिकाले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड) अन्तर्गत ७९ अर्ब ७१ करोड सहयोग प्रदान गर्ने भएको छ । उक्त सम्झौता अवधि योजना पाँच वर्षको हुनेछ ।

बिहीबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) का निर्देशक सेपिदेह केवंशद र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । प्राप्त सहयोग रकमलाई रातो किताबमा समावेश गरी पारदर्शीरूपमा कार्यान्वयन अघि बढाइने अर्थ मन्त्रालयले जनाएको छ ।

सो अवसरमा युएसएडकी निर्देशक केवंशदले पाँच वर्षसम्म सञ्चालन हुने सहायता सम्झौताले अमेरिका र नेपालबीचको सहयोग र सहकार्यको बृहत् विकास क्षेत्रको रूपरेखा प्रस्तुत गरेको भन्दै नेपालको सामाजिक-आर्थिक उन्नयनमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । अर्थ मन्त्रालयका सहसचिव अर्यालले अमेरिकी सहयोगबाट सुदृढ लोकतान्त्रिक शासन, उद्यमशील आर्थिक वृद्धि, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको जोखिममा रहेका समुदायको प्रतिरोधात्मक क्षमता बढाएर नेपालको दिगो विकासमा टेवा पुग्ने बताउनुभयो ।

अर्थ मन्त्रालयका अनुसार सहयोग रकम नागरिक समाज र निजी क्षेत्रसँगको साझेदारीमा गुणस्तरीय शिक्षा एवं स्वास्थ्य प्रणाली, दिगो ऊर्जा र कृषि विकासमा उपयोग गरिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?