स्थानीय चुनावको रौनक, घरदैलामा उम्मेदवारहरू

हिमालय टाइम्स
Read Time = 8 mins

विवेक खड्का/हिटा
दाङ । स्थानीय तहको निर्वाचन आउन आठ दिन मात्रै बाँकी छ । निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी रौनक गाउँदेखि सहरसम्म, सहरदेखि टोलसम्म बढिरहेको छ । राजनीतिक दल, दलका उम्मेदवार, स्वतन्त्र उम्मेदवारहरूलाई चुनावी चटारो छ । उम्मेदवारहरू चुनावी नतिजा कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने ध्याउन्नमा छन् । दल तथा स्वतन्त्र उम्मेदवारका चुनावी सभादेखि घर-घरमा मतदातालाई भेट्ने काम भइरहेका छन् । सबैले जित्ने दाबीसहित मतदातालाई भोट माग्दै हिँडेका छन् । कतिपय मतदाताहरू आफूनिकटका उम्मेदवारलाई जिताउन प्रचारप्रसारमा लागिरहेका छन् । दाङमा मुख्यगरी ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

केन्द्रको सहमतिअनुसार कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनामोर्चाको गठबन्धन हुने भनिए पनि दुई उपमहानगरका प्रमुख पदका लागि मात्रै गठबन्धन देखिएको छ । घोराहीमा नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र चुनावी तालमेल गरेर अघि बढेका छन् । तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा चुनावी तालमेलमा छन् । अन्य पालिकामा भने चुनावी तालमेलमा छैन । यद्यपि, गठबन्धन दलहरू मित्रवत प्रतिस्पर्धा भनेर अघि बढेका छन् ।

गठबन्धनभित्रका दलहरू कतै संयुक्त रूपमा प्रचारप्रसार गरिरहेका छन् भने कतै संयुक्त रूपमा घरदैलो अभियानलाई तीव्रता दिएका छन् । नेपाली कांग्रेसले दुई उपमहानगर-पालिकासहित दशवटै पालिकाका एक सय वडामा चुनावी सभासहित घरदैलो अभियानलाई तीव्रता दिएको नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगीले जानकारी दिनुभयो । ‘उपमहानगरमा गठबन्धनका उम्मेदवारलाई जिताऔँ अभियान चलिरहेको छ’ उहाँले भन्नुभयोे- ‘अन्य पालिकामा मित्रवत प्रतिस्पर्धामा छौँ, मतदाता उत्साहित हुनुहुन्छ, गठबन्धनको पक्षमा मत आउँछ भन्नेमा विश्वस्त छौँ ।’

उहाँले घरदैलो अभियान र चुनावी सभा सँगसँगै भइरहेको बताउनुभयो । ‘कांग्रेसका उम्मेदवारहरू अधिकांश घरदैलोमा पुगिसक्नु भएको छ’ उहाँले भन्नुभयोे- ‘कतिपय उम्मेदवार भने अहिले चुनावी सभामा व्यस्त देखिनुभएको छ ।’ घर-घरमा पुग्दा मतदाताले कांग्रेसका उम्मेदवारप्रति धेरै आशा र भरोसा रहेको बताएका छन् । वैशाख २५ गते तुलसीपुरमा कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताले चुनावी सभालाई सम्बोधन गर्ने उहाँले बताउनुभयो ।

गठबन्धनभित्रको दल नेकपा माओवादी केन्द्रले पनि चुनावी गतिविधिलाई तीव्र पारेको छ । केन्द्रका नेता तथा कार्यकतासहित उम्मेदवारहरू सहरदेखि गाउँसम्म तामझामका साथ मतदातासामु पुगिरहेका छन् । घरदैलोमा मतदातालाई भेट्नेदेखि चुनावी सभा गरिरहेको नेकपा माओवादी केन्द्र दाङका जिल्ला संयोजक सुवास पुनले बताउनुभयो । ‘माओवादी केन्द्रका उम्मेदवारको पक्षमा मत जुटाउनका लागि घर-घरमा मतदाता भेट्ने काम भइरहेको छ’ उहाँले भन्नुभयो- ‘म पनि बंगलाचुली गाउँपालिकाको अध्यक्षका लागि चुनावी प्रतिस्पर्धामा छु, हामीहरू पनि पालिकाको वडादेखि टोल-टोलमा पुग्न थालेका छौँ ।’

एक्लै प्रतिस्पर्धामा उत्रिएको नेकपा एमालेले पनि जनमत जुटाउन चुनावी सभालाई तीव्रता दिइरहेको छ । नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीले बुधबार चुनावी सभालाई केन्द्रीयस्तरका नेता युवराज ज्ञवालीले सम्बोधन गरको बताउनुभयो । ‘घोराही उपमहानगरपालिका वडा नम्बर ११, १२ र १३ मा बुधबार युवराज ज्ञवालीले सम्बोधन गर्नुभएको छ’ उहाँले भन्नुभयोे, ‘घरदैलोमा मतदातालाई पनि भेट्ने अभियान चलिरहेको छ ।’

गत चुनावमा घोराही र तुलसीपुरसहित ६ पालिकामा जित हात पारेको एमाले अहिले विरासत जोगाउने दाउमा छ भने नेपाली कांग्रेससहितका गठबन्धन दलहरू नतिजा उल्टयाउने दाउमा छन् । नेकपा एमालेले गत चुनावमा जस्तै मत परिणाम आफ्नो पक्षमा आउने दाबी गरिरहेको छ भने गठबन्धन दलहरू यसपटक आफ्नो पक्षमा मत आउने दाबी गरिरहेका छन् । गत चुनावको मत परिणामअनुसार गठबन्धन दलका उम्मेदवार बलियो देखिए पनि नेकपा एमालेका उम्मेदवार एक्लै प्रतिस्पर्धामा रहेका छन् ।

निर्वाचन मिति नजिकिँदै जाँदा गठबन्धनभित्रको दल नेकपा एकीकृत समाजवादीले पनि चुनावी गतिविधि बढाएका दाङ जिल्ला प्रचार विभाग प्रमुख दीपक कुमालले बताउनुभयो । ‘गठबन्धन भएका र नभएका सबै पालिकामा चुनावी गतिविधिलाई तीव्र पारेका छौँ’ उहाँले भन्नुभयोे- ‘चुनावी नतिजा गठबन्धनको पक्षमा आउँछ भन्नेमा कुनै दुविधा छैन ।’ उम्मेदवारहरू घरदैलोमा पुग्दा मतदाता पनि उत्साहित भएका छन् ।

शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकतामा राखेर तयार गरिएका प्रतिबद्धता पत्रसहित आफ्नै घरको आँगनमा उम्मेदवारलाई भेट्दा मतदाता उत्साही बन्नेको दृश्य रोमाञ्चक देखिन्छ । विशेष गरेर मुख्य पदका उम्मेदवार गाउँमा पुग्दा भोट मात्र माग्दैनन् । मतदाताको समस्या बुझ्दै डायरीमा नोट गर्दै आफूले जितेमा सबै काम गरिदिने प्रतिबद्धतासमेत जनाउने गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?