म्याग्दीमा ‘संगीतमय’ चुनावी सभा

हिमालय टाइम्स
Read Time = 4 mins

ध्रुवसागर शर्मा/हिटा
म्याग्दी । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन अब सात दिनमात्र बाँकी रहँदा म्याग्दीमा दलहरूले चुनाव प्रचार-प्रसारलाई तीव्र पारेका छन् । शहर-बजारदेखि ग्रामीण क्षेत्रसम्म निर्वाचनको रौनकता छाएको छ । दोस्रोपटक हुन लागेको स्थानीय तहको निर्वाचनको चुनावी अभियानलाई थप आकर्षित गर्न दलहरूले गीत-संगीतका माध्यमलाई समेत प्राथमिकता दिएका छन् ।

चुनावी आमसभामा मतदातालाई आकर्षित गर्न दलहरूले कलाकारहरूको टोली नै बोकेर हिँडेका छन् । आफ्नो पार्टीमा आस्थावान् कलाकारहरू बोकेर चुनावी सभामा पुगेपछि मतदाताको जमघटसमेत बढेको छ । आफ्नो पार्टीको गीतमा नृत्य प्रस्तुत गर्ने कलाकारहरूले गाउँठाउँको विकासमा केन्द्रित हुन पार्टीलाई भोट हाल्नसमेत आव्हान गर्ने गरेका छन् ।

नेकपा एमाले बेनी नगरपालिकाले गीतसंगीतसँगै अभियनलाई प्राथमिकता दिएको छ भने नेपाली कांग्रेस अन्नपूर्णले समेत हरेक वडामा हुने चुनावी सभामा कलाकारहरूलाई प्राथमिकतामा राखेको स्थानीय पत्रकार सुरेन गुरुङले बताउनुभयो । ‘भाषणले मात्रै मतदातालाई आकर्षित गर्न नसकेपछि दलहरूले सांगीतिक कार्यक्रममार्फत् चुनावी सभाको माहोल बनाएका छन्,’ गुरूङले भन्नुभयो । उहाँले अन्नपूर्णका हरेक वडामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको चुनावी आमसभामा कलाकारलाई प्राथमिकता दिएको बताउनुभयो । प्रमुख राजनीतिक दलसम्बद्ध सांस्कृतिक संगठन गीत-संगीतका माध्यमबाट स्थानीय निर्वाचनको पक्षमा वातावरण बनाउन थालेपछि उम्मेदवारसमेत उत्साहित भएका छन् ।

सत्तारुढ नेपाली कांग्रेसले स्थानीय कलाकारलाई पारिश्रमिकसमेत दिएर चुनावी अभियानमा सहभागी बनाइरहेको जनाएको छ भने नेकपा एमाले र माओवादी केन्द्रले चुनावी खर्चबाट समेट्ने बताएको छ । नेकपा एमाले बेनी नगरको कार्यक्रममा जिल्लामा स्थापित कलाकारहरू नै सहभागी छन् । नाटक र अन्य अभिनयबाट अन्य दललाई आरोप लगाउन नपाइने भएकाले अनुगमनसमेत गरिने निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ ले ‘कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न/नगराउन नहुने’ व्यवस्था गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?