कहीँ नभएको जात्रा केपी ओलीको पालामा देखियो : माधव नेपाल

Read Time = 3 mins

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालले कहीँ नभएको जात्रा केपी ओलीको पालामा भएको बताउनु भएको छ । काठमाडौंमा शुक्रबार आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीको पालामा जात्रै जात्रा भएको बताउनु भयो ।

‘पाँच वर्षपछि सकिने आयोजनाको आजै उद्घाटन गर्ने । ३०० अस्पतालका भवन आजै उद्घाटन गरिदिने । कहीँ नभएको जात्रा जस्तो सबै एकैदिनमा गर्न खोज्ने । कहीँ नभएको जात्रा केपी ओलीको पालामा भयो,’ अध्यक्ष नेपालले भन्नुभयो ।

पाँच दलले उठाएका काठमाडौं महानगरका मेयर र उपमेयरले काठमाडौंको विकासका लागि उत्कृष्ट विचार अघि सारेको बताउनु भयो । ‘गठबन्धनका उम्मेदवार एकदमै राम्रो विचार भएका छन् । आफूले नसक्ने काम विज्ञमार्फत गर्छु भन्नुभएको छ । यो अत्यन्तै उत्कृष्ट विचार हो,’ अध्यक्ष नेपालले भन्नुभयो ।

सिंगो काठमाडौंलाई ध्यानमा राखेर स्मार्ट सिटी बनाउनुपर्ने उहाँको भनाइ छ । कतिपय कामहरू एउटै जिल्ला र पालिकाले मात्र गर्न नसक्ने भन्दै त्यसका लागि समन्वयकारी भूमिका निर्वाह गरेर अघि बढ्नुपर्ने बताउनु भयो ।

गफ नभएर काम गरेर जनताको मन जित्नुपर्नेमा जोड दिनुभयो। गठबन्धनतर्फका उम्मेदवारलाई इमान्दार भएर जनताको काममा समर्पित हुनसमेत आग्रह गर्नुभयो । दम्भले कहिल्यै पनि नहुने भन्दै गफ र दम्भका साथ अघि बढ्दा जनतालाई मुर्ख बनाउन मात्रै सकिने तर, काम गर्न नसकिने उहाँले बताउनुभयो ।

काठमाडौंको लागि योजना बनाउँदा ५० वर्षलाई ध्यानमा राखेर बनाउनुपर्ने बताउँदै उहाँले फिलिपिन्सको विकासको मोडल समेत स्मरण गराउनु भयो।

फोहोरमैला व्यवस्थापनको समस्या काठमाडौंको मात्र नभएको भन्दै उहाँले भन्नुभयो, ‘यो समस्या काठमाडौंको मात्र होइन । सबै सहरमा छ । यसलाई व्यवस्थापन गर्न कसरी सकिन्छ । त्यसका लागि अन्य देशमा के गरिरहेका छन् । त्यसलाई पनि अध्ययन गर्नुहोला ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?