प्रचण्ड नमान्दा नमान्दै आफ्नै करकापले रेणु दाहाललाई टिकट दिइएको देउवाको खुलासा

Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै जोडबलमा भरतपुर महानगरमा रेणु दाहाललाई टिकट दिइएको खुलासा गर्नुभएको छ ।

आज काठमाडौंमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो खुलासा गर्नुभएको हो ।

चितवनमा रेणुलाई टिकट दिँदा छोरीलाई टिकट दियो भन्ने गुनासो आउने गरेको भन्दै उहाँले भन्नुभयो, ‘रेणुलाई टिकट नदिउँ भन्दै हुनुहुन्थ्यो प्रचण्डजी त । तर, मैले राम्रो काम गरेकोलाई किन हटाउने भनेर मेरै करकापले टिकट पाएकी हुन् ।’ 'रेणुले भरतपुरमा राम्रो काम गरेका कारण किन हटाउनुहुन्छ ? भनेर मैले भनेको हो' उहाँले भन्नुभयो ।

भरतपुर महानगरको मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेणु दाहाल चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । केही समय अघि चितवन कांग्रेसले कुनै पनि हालतमा भरतपुरमा कांग्रेस बाहेकलाई गठबन्धनबाट उम्मेदवार नबनाउन दबाव दिँदै आएको थियो । भरतपुरमा कांग्रेसबाट बागी उम्मेदवारी समेत परेको छ । पूर्व सांसद तथा कांग्रेस नेता जगन्नाथ पौडेलले मेयरमा उम्मेदवारी दिनुभएको छ ।

यसैगरी सभापति देउवाले अर्को पिनि खुलासा गर्नुभएको छ । देउवाले आफ्नौ पार्टीभित्र गठबन्धनको विषयमा बखेडा झिकिरहेको समेत खुलासा गर्नुभयोे । प्रधानमन्त्री समेत रहनु भएको सभापति देउवाले गठबन्धनमार्फत चुनाव लड्न खोज्दा आफ्नै पार्टीभित्रका केहीले बखेडा झिकिरहेको बताउनु भयो ।

‘मलाई पार्टी सभापति बनाएर सर्वाधिकार दिएका छन् । केन्द्रीय सदस्यको बहुमतले पनि गठबन्धन गर्ने कुरामा सहमति जनाएको हो । अहिले किन गठबन्धन चाहिँदैन भनिरहेका छन् । हाम्रै साथीहरूले बखेडा झिकिरहेका छन्,’ देउवाले भन्नुभयो ।

काठमाडौं महानगर र चितवन महानगरमा महिला नै उम्मेदवार उठेको भन्दै उनीहरूलाई हराउने काम नगर्न सबैमा अनुरोध गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?