अदुवाले बजार नपाउँदा किसान चिन्तित

हिमालय टाइम्स
Read Time = 2 mins

लमजुङ । लमजुङ राइनासका किसानहरू अदुवाले बजार नपाउँदा चिन्तामा परेका छन् । राइनास नगरपालिका–५ तिनपिप्लेका स्थानीयले सामूहिकरूपमा अदुवा खेती गरी उत्पादन गरेको करिब १० क्विन्टल अदुवाले बजार नपाएको हो ।

प्रगतिशील दलित बहुउद्देश्यीय कृषि समूहमा आबद्ध २५ जना किसानले गत वर्ष सामूहिक हलेदो र अदुवा खेती गरेका थिए । नगरपालिकाको सहयोगमा उनीहरूले करिब ५० रोपनी जग्गा भाडामा लिएर गत वर्ष लगाएको हलेदो र अदुवामध्ये अदुवा बिक्री हुन नसकेको हो ।

४० रोपनी बढी जग्गामा लगाएको हलेदो तत्कालै बिक्री भए पनि पाँच रोपनी जग्गामा लगाएको अदुवाले बजार नपाउँदा भने किसानले यस वर्ष अदुवा खेती नै नगरेको बताएका छन् ।  उत्पादित अदुवामध्ये करिब १५ सय किलो बिक्री गरे पनि अझै १० क्विन्टल बढी अदुवा स्टोर गरी राखेको प्रगतिशील दलित बहुउद्देश्यीय कृषि समूहका सल्लाहकार पूर्णबहादुर नेपालीले बताउनुभयो ।

प्रतिकेजी १५० रुपैयाँसम्म तिरेर सल्यानदेखि बिउ खरिद गरी अदुवा खेती गरेका किसानले अहिले प्रतिकेजी ५५ देखि ६० रुपैयाँसम्म दिँदा पनि अदुवाले बजार पाउन नसकेको समूहका उपाध्यक्ष रामशाली नेपालीको भनाइ छ ।

सामूहिक खेतीका लागि राइनास नगरपालिकाले गत वर्ष मसलाबाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत करिब आठ लाख बराबरको हाते ट्याक्टर, औजार उपकरण र अदुवा तथा हलेदोको बिउ सहयोग गरेको थियो । नगरपालिकाबाट सहयोग प्राप्त भएसँगै सामूहिक खेतीतर्फ उत्साहित बनेका किसानहरूले आलु खेतीसमेत गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?