लोकबाजा संरक्षणका लागि शेर बहादुरको महाकाली-मेची पैदल यात्रा

Read Time = 5 mins

गोपिकृष्ण चापागाईं/हिटा
काठमाडौं । नेपाली लोकबाजालाई संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले कलाकार शेरबहादुर आचार्यले नेपालको सुदूरपश्चिमको महाकालीदेखि पूर्व मेचीसम्मको पैदल यात्रा गर्नुभएको छ । नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा लामो समयदेखि गायनसँगै लेखन तथा सञ्चारकर्ममा लाग्नुभएका शेरबहादुरले गएको फागुन २४ गते महाकाली नदीको हरिहर घाटबाट पैदल यात्रा सुरु गरी मेचीसम्म पुग्नुभएको थियो । साथै उहाँले पश्चिमदेखि पूर्वको पैदल यात्रा सकिसकेपछि हेटौंडाबाट काठमाडौंसम्मको ९० किलोमिटरको पैदल यात्रा पनि गर्नुभयो । बिहीबार काठमाडौंको पशुपति मन्दिर परिसरमा बिहान ९ बजे शेरबहादुरले आफ्नो पैदल यात्रा टुंग्याउनुभएको हो ।

समापनमा वरिष्ठ लोकगायक तथा चलचित्र निर्देशक नारायण रायमाझी र वरिष्ठ लोकगायिका बिमाकुमारी दुराको उपस्थिति थियो । शेरबहादुरले आफ्नो गुरु भन्दै नारायण र बिमा कुमारीको खुट्टामै ढोग्नुभयो । साथै रायमाझीले शेरबहादुरको कामको प्रशंसा गर्नुभयो । उहाँले सरकारले गर्ने काम एक व्यक्तिले गरेको भन्दै सम्मान व्यक्त गर्नुभयो । ‘नेपाली लोकबाजा पछिल्लो समय हराउँदै गएको अवस्था छ । अझ गीतसंगीतमा विदेशी बाजाको प्रयोग भइरहेको अवस्थामा उहाँले नेपाली मौलिक बाजालाई संरक्षण गर्नुपर्छ भन्ने उद्देश्य बोकेर जुन साहसिक काम गर्नुभयो त्यसका लागि धेरै–धेरै धन्यवाद पनि दिन चाहन्छु,’ वरिष्ठ गायक रायमाझीले भन्नुभयो, ‘यो काम कुनै व्यक्तिले भन्दा पनि सरकारले नै गर्नुपर्ने हो । शेरबहादुरजीले एक्लैले यो आँट गर्नुभयो ।’

शेरबहादुरले भादगाउँले टोपी, नेपाली खुकुरीसँगै नेपाली लोकसंस्कृतिको बाजा सारंगी र मादलसँगै राष्ट्रिय झण्डा बोकेर यात्रा गर्नुभएको थियो । रायमाझीले पैदल यात्राका क्रममा बीचमा विभिन्न बाधा आएप नि यात्रा पूरा गर्नुभयो भन्दै खुलेर प्रशंसा गर्नुभयो । रायमाझीले अघि भन्नुभयो, ‘शेरबहादुर आफैंमा गायक तथा सञ्चारकर्मी पनि हुनुहुन्छ । तपाईंको सबैले प्रशंसा गरेकै छन् । तपाईंको यो दुई महिनाको पैदल यात्राले दिन खोजेको प्रेरणा, सन्देश संसारभरि पुगोस् । बधाई दिन चाहन्छु ।’

यस्तै वरिष्ठ गायिका बिमाकुमारी दुराले विशेषगरी एक व्यक्तिले भन्दा पनि लोकदोहोरीसँग सम्बन्धित संघसंस्थाले पनि लोकबाजाको संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले संघसंस्थाको ध्यान नगएकोमा दुःख व्यक्त गर्नुभयो । ‘शेरबहादुर भाइको यो साहसिक कामको खुलेर प्रशंसा गर्न चाहन्छु । आज उहाँले समापन गर्नुभयो तर समापनमा पनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका व्यक्तिहरू देखिनुभएन । उहाँ यहाँ उपस्थित हुनुपथ्र्यो जस्तो लाग्छ,’ दुराले भन्नुभयो, ‘शेरबहादुर भाइका धेरै गीत मैले गाएकी पनि छु । मैले गाउने गीतहरूमा पनि सारंगी अनिवार्य हुनुपर्छ भनेर धेरै गीतमा राख्न पनि लगाएकी हुन्छु । सबैले आ-आफ्ना ठाउँबाट यसरी नै लोकक्षेत्रका लागि गर्नुपर्छ ।’

पैदल यात्रा गर्नुभएका शेरबहादुरले ठूलो प्रचारबाजीभन्दा पनि नितान्त निस्वार्थ तरिकाले साधनाका रूपमा यात्रा सकेको बताउनुभयो । यात्राका क्रममा आफ्नो स्वास्थ्यमा कुनै पनि समस्या नआएको उहाँले जानकारी दिनुभयो । ‘मैले शाहाकारी खाना खाएर यात्रा गरेँ । दिनमा ६ लिटर पानी पिउँथे । दुई लिटर जीवनजल पानी पिएँ,’ उहाँले भन्नुभयो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?