स्थानीय तह निर्वाचन- २०७९ : सत्तारूढ गठबन्धन आक्रामक चुनावी प्रचारमा, गठबन्धन एकढिक्का रहेको सन्देश दिने प्रयास

हिमालय टाइम्स
Read Time = 16 mins

अनिल क्षेत्री/हिटा
काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मतदानको समय नजिकिएसँगै सत्तारूढ पाँच दलीय गठबन्धनले चुनावी प्रचार अभियानलाई आक्रामक बनाएको छ । बिहीबार चितवनको भरतपुरमा संयुक्त चुनावी सभा गरेको गठबन्धनले शुक्रबार काठमाडौंमा चुनावी सभा गरेको छ । गठबन्धन तर्फका उम्मेदवारलाई जिताउन शीर्ष नेताहरूले चुनावी आमसभाबाट अपिल गरेका छन् ।

गठबन्धनका दलहरूबीच अविश्वास बढेको टीका-टिप्पणी भइरहेको बेला काठमाडौंमा भएको संयुक्त चुनावी सभाबाट गठबन्धनका शीर्ष नेताहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, राजेन्द्र श्रेष्ठ र चित्रबहादुर केसीले एक-अर्कालाई धक फुकाएर मत माग्नुभएको छ । शीर्ष नेताहरूले एक-अर्का पार्टीका नेता कार्यकर्ताहरूलाई ढुक्क भएर गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन आग्रह गर्नुभएको छ ।

बिपीलाई फाँसी दिनुपर्छ भन्नेहरू गठबन्धनको खिलाफमा छन् : देउवा
सत्तारूढ पाँच दलीय गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धन कांग्रेस महाधिवेशनको म्यान्डेट नै भएको बताउनुभएको छ । भरतपुरमा रेनु दाहाल र काठमाडौं महानगर मेयरका उम्मेदवार सिर्जना सिंह सक्षम रहेको भन्दै देउवाले भन्नुभयो, ‘सिर्जनाले प्रकाशमानसँग बिहे गर्नु र रेनु प्रचण्डको छोरी हुनु के गल्ती हो, उहाँहरूसँग के को कमी छ ? महिला मेयर भएको ठाउँमा राम्रा कामहरू भएका छन् । सिंह र दाहाल मेयर भए अझ राम्रो काम गर्नुहुन्छ ।’

गठबन्धनको विरोध गर्नेहरूप्रति लक्षित गर्दै सभापति देउवाले बिपी कोइरालालाई फाँसीको सजाय दिनुपर्छ भन्नेहरूले गठबन्धनमा बखेडा खडा गरिरहेको टिप्पणी गर्नुभयो । सभापति देउवाले भन्नुभयो, ‘हिजो बिपी कोइरालालाई फाँसीको सजाय दिनुपर्छ भन्नेहरू आज गठबन्धनको खिलाफमा छन् । हामीलाई थाहा छैन ? बिपी कोइरालालाई फाँसीको सजाय दिनुपर्छ भन्नेहरू को को हुन् मलाई थाहा छ । अहिले बडा कांग्रेसका समर्थक भएर आएका छन् ।’

प्रधानमन्त्रीसमेत रहनुभएका देउवाले मुलुकको राजधानीको महानगरमा महिला उम्मेदवारलाई हराउँदा देशविदेशमा नराम्रो सन्देश जाने दाबी गर्दै भन्नुभयो, ‘बाबुआमाले विवाह प्रकाशमानसँग गरिदिए सिर्जनाको के दोष ? आमाबाबुले बिहे गरिदिए विचरीले के गरून्, राजधानीको उम्मेदवार महिला हुनु ठूलो कुरा हो । महिलालाई हराए दुनियाँले के भन्छन् ?’

सिर्जना सिंह र रेनु दाहाललाई आफूले नै मेयरको टिकट दिएको देउवाको भनाइ थियो । चितवनको भरतपुर महानगरमा रेनु दाहालले राम्रो काम गरेको र आफूले नै उम्मेदवार बनाउन माओवादी केन्द्रका अध्यक्ष दाहाललाई जोड दिएको बताउँदै सभापति देउवाले भन्नुभयो, ‘प्रचण्डजीको छोरी भएर जन्मनु अपराध होइन । कहाँ जन्मिने कुरा हातमा हुँदैन । प्रचण्डको छोरी हुनु गल्ती होइन, कति राम्रो काम गर्नुभएको छ ।’

हँसिया हथौडावालाले पनि खुसी र गर्वका साथ रूखमा भोट हाल्न सक्नुपर्छ : प्रचण्ड

चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा वाम गठबन्धन र पार्टी एकता गरेर समाजवादको सपना देखे पनि त्यो सपना तीन वर्ष नपुग्दै चकनाचुर भएको बताउनुभएको छ । समाजवादको सपना देखेर केपी ओलीलाई नायकका रूपमा अघि सारे पनि उनले धोका र षड्यन्त्रबाहेक केही नदिएको प्रचण्डको टिप्पणी छ । निषेधको निषेधबाट अहिलेको सत्ता गठबन्धन जन्मिएको भन्दै अध्यक्ष प्रचण्डले वर्तमान गठबन्धन विकसित गठबन्धन रहेको दाबी गर्दै भन्नुभयो, ‘वाम गठबन्धन गरेर स्थायित्व र पार्टी एकता गरेर समाजवादको देखेको सपना तीन वर्ष नपुग्दै चकनाचुर भयो, केपी ओलीलाई ठूलो संघर्षका रूपमा नायकका रूपमा लगेका थियौँ । तर, एकता गरेको दुई हप्ता नपुग्दै धोका जालझेल, षड्यन्त्र र धोकाबाहेक केही देखिएन ।’

हँसिया हथौडा र चारतारे झण्डा सँगै नफहराएको भए संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव नहुने भन्दै अध्यक्ष प्रचण्डले अब पनि रूखवालाले हँसिया हथौडा र हँसिया हथौडावालाले रूखमा छाप हान्नैपर्ने बताउनुभयो । विगतमा कांग्रेस र कम्युनिष्टबीच पानी बारबार गर्दा देशले केही नपाएको तर, अहिलेको गठबन्धन संविधान र गणतन्त्रका रक्षाका निम्ति भएको र गठबन्धन एकढिक्का हुनुका साथै धेरै परसम्म लानुपर्ने आवश्यकता रहेको भन्दै दाहालले भन्नुभयो, ‘रूखवालाले बडो खुसी र गर्वसाथ हँसिया हथौडामा छाप लगाउन सक्नैपर्छ । हँसिया हथौडावालाले गर्वका साथ रूखमा छाप हान्न सक्नैपर्छ, केही मानिस मर्न तयार रूखबाहेक भोट हाल्न नजाने र कतिपय मर्न तयार हँसिया हथौडाबाहेक अन्त भोट हाल्दिनँ भन्ने, लकिरको फकिरजस्तो भएर मुलुकको प्रगति हुन सक्दैन,परिवर्तन संस्थागत हुन सक्दैन ।’

आसन्न स्थानीय तह चुनाव अग्रगमनकारी र प्रतिगमनकारी बीचको लडाइँ : नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री माधवकुमार नेपालले अहिले एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । काठमाडौंमा शुक्रबार गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशमा दुईवटा गठबन्धन रहेको भन्दै कसैले एक्लै जाने भनेमा त्यो भ्रम हुने जिकिर गर्नुभयो । दुई गठबन्धनमध्ये प्रतिगामी तथा दक्षिणपन्थी गठबन्धनको नेतृत्व नेकपा एमाले र केपी ओलीले गरेको, उक्त गठबन्धनमा राजावादी र प्रतिगामी शक्तिहरू सामेल भएको र उक्त गठबन्धन संविधानविरोधी भएको आरोप लगाउँदै अध्यक्ष नेपालले भन्नुभयो, ‘केपी ओलीको नेतृत्वको सरकारले आधारहीन गफ र भाषण मात्रै दिएको तर काम गरेको थिएन । ओली सरकारले हास्यास्पद गतिविधि मात्र ग¥यो । कहीँ नहुने जात्रा केपी ओलीको पालामा देख्यौँ । एकैपटक सडक उद्घाटन गर्ने जस्तो हास्यास्पद काम भयो । संविधान च्यात्ने काम भयो । कहीँ नहुने जात्रा हामीले ओलीको पालामा देख्यौँ ।’

विगतमा पनि कांग्रेस र वापमन्थी शक्ति मिलेर अघि बढेको स्मरण गराउँदै अध्यक्ष नेपालले अहिले पनि मिलेर अघि बढ्नुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो । गठबन्धनलाई कमजोर बनाउने खेल नगर्न र कांग्रेसका गठबन्धनविरोधी नेताहरूलाई संकीर्ण सोच त्याग्न आग्रह गर्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘विगतमा पटक-पटक मिलेर सरकार बनायौँ । विगतमा २५ दलमध्ये २२ दल मिलेर पनि सरकारक बनेको थियो । अहिले कसैले एकताबद्ध भएर बढ्नुको विकल्प छैन । यदि कसैले एक्लै जाने भन्छ भने त्यो भ्रम हो ।’

गठबन्धन सफल भए मात्र नेपालको भाग्य सफल हुन्छ : पौडेल
पाँच दलीय गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन सफल भए मात्र नेपालको भाग्य सफल हुने जिकिर गर्नुभएको छ । सत्तारूढ गठबन्धनले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले भन्नुभयो, ‘गठबन्धन अहिलेको आवश्यकता हो । गठबन्धन अलिकति अप्ठ्यारो पनि हो । तर, सामना गरेर अगाडि बढ्नु बाध्यता छ । गठबन्धन सफल गरायो भने नेपालको भाग्य सफल हुन्छ, प्रजातन्त्र सफल हुन्छ, राष्ट्र प्रगतिमा अगाडि बढ्छ ।’

वरिष्ठ नेता पौडेलले गठबन्धन भित्रैबाट प्रतिगामी शक्ति नेकपा एमालेलाई बलियो बनाउने गतिविधि भइरहेको आरोप लगाउँदै यस्ता प्रवृत्ति प्रतिउत्पादक हुने चेतावनी दिनुभयो ।

गणतन्त्र जोगाउन हम्मे-हम्मे परेको छ : केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विगतमा प्रजातन्त्र मास्न खोज्नेहरूले अहिले पाँच दलीय गठबन्धनको विरोध गरिरहेको आरोप लगाउनुभएको छ । गणतन्त्र जोगाउन अहिले पनि हम्मे-हम्मे परेको र गठबन्धनभन्दा प्रतिगमन अहिले पनि बलियो रहेको जिकिर गर्दै अध्यक्ष केसीले भन्नुभयो, ‘हिजो वामपन्थी र प्रजातान्त्रिक शक्ति मिलेका भए । अब पनि वामपन्थी प्रजातान्त्रिक शक्ति प्रजातन्त्र बचाउनका लागि पाँच दल एक भएर एक ठाउँमा आएका छन् । हिजो प्रजातन्त्र मास्न खोज्नेहरूले यो गठबन्धनको विरोध गरेका छन् ।’

केपी ओलीबाट लोकतन्त्र बच्दैन : श्रेष्ठ
जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट लोकतन्त्रको सुरक्षा हुन नसक्ने टिप्पणी गर्नुभएको छ । ओलीबाट लोकतन्त्र र परिवर्तन खतरामा परेको आरोप लगाउँदै श्रेष्ठले भन्नुभयो, ‘उखान टुक्का सुनेर, राम्रा राम्रा हास्य व्यंग्य सुनेर स्थानीय निर्वाचनमा केपी ओलीको पार्टीलाई बहुमत दिलाए, संसदीय चुनावमा पनि बहुमत दिए, तर के भयो ? के देख्यौँ ? केपी ओलीबाट लोकतन्त्र बच्दैन ।’

एमाले अध्यक्ष ओलीलाई थारो गाईको संज्ञा दिँदै श्रेष्ठले भन्नुभयो, ‘अब केपी ओली आयो लोकतन्त्र बचाउला भनेर दाना खुवाएको छ । बेत लाग्ने गाई भए पो ब्याउँथ्यो, थारो गाई के ब्याउँथ्यो ।’ ओलीलाई लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी दिनु मकैबारीमा बाँदरलाई कुरुवा राखे जस्तै भएको श्रेष्ठको भनाइ छ ।

महानगरलाई ‘महान् घर’ बनाउँछु : मेयरका उम्मेदवार सिंह

सत्तारूढ गठबन्धनबाट काठमाडौं महानगरको मेयरकी साझा उम्मेदवार सिर्जना सिंहले आफूले जितेमा महानगरलाई सबैको अपनत्व हुने गरी चलाउने बताउनुभएको छ । महानगरलाई सबै जातजातिको, सबैलाई सम्मान गर्ने र सबैको अपनत्व महसुस हुने महानगर बनाउने प्रतिबद्धता व्यक्त गर्दै सिंहले भन्नुभयो, ‘कहिल्यै पनि मतदाताको शिर निहुरिन दिन्नँ, महानगरलाई महान् घर बनाउनेछु । म काठमाडौंलाई ‘महाघर’ जस्तो गरेर चलाउँछु ।’ महानगरमा सुशासन कायम गर्ने, सामुदायिक विद्यालयको अवस्था सुधार गर्ने, सम्पदा संरक्षण गर्ने, हरियाली बढाउनेलगायत आफ्ना एजेण्डा भएको उम्मेदवार सिंहले जानकारी दिनुभयो ।

काठमाडौं महानगरको नेतृत्व अक्षम भयो, अब हामी काम गर्छौं : उपमेयरका उम्मेदवार श्रेष्ठ
सत्तारूढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरको उपप्रमुखका उम्मेदवार रामेश्वर श्रेष्ठले यसअघिको महानगरको नेतृत्व अक्षम रहेको आरोप लगाउनुभएको छ । शुक्रबार काठमाडौको शान्तिबाटिका गठबन्धनले गरेको संयुक्त चुनावी सभामा श्रेष्ठले आफूहरूले काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । बितेका पाँच वर्षमा महानगरमा सुशासन नभएको भन्दै अब त्यो काम गरेर देखाउने दाबी गर्दै श्रेष्ठले भन्नुभयो, ‘अहिलेको नेतृत्व अक्षम भयो, नेतृत्वले काम गर्न सकेन, हामी काम गर्छौं भनेर आएका छौँ । अहिले महानगरभित्र कुनै सुशासन छैन, महानगरभित्र छिर्‍यो कि आजको कामलाई भोलि, भोलिको पर्सि भन्छ । घुसखोरीको अखडा बनेको छ महानगरपालिका । हामी महानगरभित्र सुशासन के हो भन्ने देखाइदिने छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?