नवौँ राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक

Read Time = 5 mins

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौँ राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा शनिबार सार्वजनिक गरेको छ । राखेपका अध्यक्ष युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले लोगो, मस्कट र नारा राखेपमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गर्नुभएको होे ।

राखेपका बोर्ड एवं कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरको संयोजकत्वमा गठित पाँचसदस्यीय समितिले लोगो र मस्कट छनोट गरेको हो । छनोट भएको लोगो र मस्कट काठमाडौंको मैतीदेवी निवासी ६२ वर्षीय भोलानाथ पौड्यालले तयार पार्नुभएको हो । समितिका सदस्यमा प्राज्ञिक कलाकार रमेशनाथ खनाल, नोबेल एकेडेमी कला विभागका प्रमुख विपिनराज श्रेष्ठ र सिर्जना कलेज अफ फाइन आर्ट्सका प्रमुख प्रा. राधेश्याम मुल्मी तथा सदस्य–सचिवमा राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा हुनुहुन्थ्यो ।

लोगोमा माछापुच्छ्रे हिमाललाई रेखाकृतिमा राखिएको छ । आकाशे निलो रेखाले शान्तिको प्रतीक परेवालाई प्रतिबिम्बित गरेको छ भने रातो रंगको चार धर्साले परेवाको पखेटा र ट्र्याकलाई दर्शाएको छ । चार धर्साले साबिकको प्रदेश ४ लाई पनि दर्शाएको पौड्यालले जानकारी गराउनुभयो । चन्द्रसूर्यले राष्ट्रिय ध्वजालाई प्रतिबिम्बित गर्नुका साथै सबै टिमको प्रतिनिधित्व गरेको छ ।

मस्कटका रूपमा गण्डकी प्रदेशमा पनि पाइने लोपोन्मुख तथा संरक्षित प्राणी कस्तुरी मृग रहेको छ । सुयोग्यराज काफ्लेले तयार पारेको ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ नारा पारित भएको छ । लोगोलाई ५० हजार, मस्कटलाई २५ हजार र नारालाई १० हजार नगदबाट पुरस्कृत गरियो ।

कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइराला, खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेप बोर्ड तथा कार्यकारी समितिका सदस्यद्वय एकेन्द्र कुँवर र नन्दा बस्याल, ओलम्पियन दीपक विष्ट, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, छनोट समितिका पदाधिकारीलगायतको उपस्थिति थियो ।

नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म हुनेछ । विभिन्न ३६ खेलमा ११ टिम सहभागी हुनेछन् । नवौँ खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनको टोलीले भाग लिनेछन् । नवौँ राष्ट्रिय खेलकुदमा एनआरएनएको टोलीले १२ व्यक्तिगत र ६ टिम गरी १८ खेलमा भाग लिनेछ । राखेपले नवौँ खेलकुदका लागि खेलाडी छनोटको जिम्मा प्रदेशलाई नै दिएको छ ।

नवौँ खेलकुदमा भाग लिनका लागि जेठ १० गतेसम्म नाम दर्ता गरिसक्नुपर्ने मिति राखेपले तोकेको छ । नवौँ राष्ट्रिय खेलकुदका लागि संघीय सरकारले चालु आर्थिक वर्षमा १६ लाख रुपैयाँ बजेट विनियोजित गरेको थियो । यसमा केही बजेट गण्डकी प्रदेशले पनि थप्नेछ । अपुग रकमका लागि सरकारसँग माग गरिने सदस्य-सचिव टंकलाल घिसिङले बताउनुभयो ।

नवौँ राष्ट्रिय खेलकुदमा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, कबड्डी, भारोत्तोलन, सुटिङ, जिम्नास्टिक, पौडी, हृयान्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराँते, फुल कन्ट्याक्ट कराँते, आइटिएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाइडिङ, रग्बी सेभेन ए साइड, छेलो (प्रदर्शनी), क्यानोइङ (प्रदर्शनी) खेलहरू खेलाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?