श्रीलंकामा फेरि आपतकाल घोषणा, अमेरिका र युरोपेली संघद्वारा आलोचना

Read Time = 4 mins

कोलम्बो । श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले फेरि आपतकाल घोषणा गर्नुभएको छ । सरकारविरोधी प्रदर्शनहरू चर्किरहेका बेला राजापाक्षेले पुनः आपतकाल घोषणा गर्नुभएको हो ।

सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानुनको आहृवान गरेको पनि उहाँका प्रवक्ताले बताएका छन् । देशको आर्थिक आर्थिक संकटलाई लिएर शुक्रबार विभिन्न ट्रेड युनियनहरूले राष्ट्रपतिको राजीनामा माग गर्दै देशव्यापी हड्ताल गरेका थिए । श्रीलंकाको संसदमा तोडफोड गर्न खोजेका विद्यार्थीमाथि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो ।

लामो लोडसेडिङ, खाद्यान्न, इन्धन र औषधिको तीव्र अभावले दुई करोड २० लाख जनसंख्या भएको श्रीलंकामा व्यापक पीडा निम्त्याएको छ । सन् १९४८ मा स्वतन्त्रपछि श्रीलंका अहिलेसम्मकै खराब आर्थिक संकटबाट गुज्रिरहेको छ ।

यता, श्रीलंकामा फेरि संकटकाल लगाइएपछि राष्ट्रपति गोटबाय राजपाक्षको निर्णयको शक्ति राष्ट्रहरूले आलोचना गरेका छन् । अमेरिका र युरोपेली संघले सरकारविरुद्ध भइरहेका प्रदर्शनका माझ दोस्रो पटक संकटकाल लगाउने राष्ट्रपतिको कदमको आलोचना गरेका हुन् । राजधानी कोलम्बोस्थित अमेरिकी राजदूत जुली चुङले मानिसहरूको आवाज सरकारले सुन्नुपर्ने बताउनुभयो । श्रीलंकालीले बेहोरिरहेको वास्तविक चुनौतीहरूसँग जुझ्न र देशमा सबैका लागि समृद्धि र अवसर रहने बाटोमा फर्काउन दीर्घकालीन समाधानको आवश्यकता पर्ने उहाँको भनाइ छ ।

यस्तै युरोपेली संघले संकटकालले श्रीलंकाका अप्ठेराहरू हल गर्न मद्दत नगर्ने भन्दै त्यो प्रत्युत्पादक हुनसक्ने चेतावनी दिएको छ ।
यसैबीच श्रीलंकाका प्रधानमन्त्री महेन्दा राजापाक्षले राजीनामा तयारी गर्नुभएको जनाइएको छ । देशभरमा आर्थिक तथा राजनीतिक संकट गहिरिँदै गएपछि उहाँले राजनीतिक निकासका लागि पदबाट राजीनामा दिन लाग्नु भएको उहाँ निकट स्रोतहरूले जनाएका छन् ।
राजनीतिक तथा आर्थिक संकटको मुख्य कारक राजापाक्ष नेतृत्वको सरकार नै भएको भन्दै आन्दोलन चर्किएपछि उहाँलाई राजीनामाका लागि अत्यधिक दवाव परेको छ ।

आन्दोलन चर्किँदै गएको र संकटकाल लागू भएको परिप्रेक्षमा आगामी कदमका बारेमा छलफल गर्न राष्ट्रपति निवासमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका बीचमा छलफल भएको थियो । छलफलका क्रममा प्रधानमन्त्री महेन्द्रा राजापाक्ष राजीनामा दिन सहमत हुनुभएको जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?