बाँकेमा बाढीको उच्च जोखिमबारे दलका घोषणापत्र मौन

Read Time = 6 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । बाँके जिल्ला बाढीको उच्च जोखिममा रहेको छ । अहिले सिंगो देश नै चुनावी सरगर्मीले तातेको छ । निर्वाचन आउन अब चार दिन बाँकी छ । चुनावी मैदानमा रहेका दल र उम्मेदवारले विकास र समृद्धिका ठूला नारासमेत समेटेका छन् । तर, बाढीको उच्च जोखिममा रहेको बाँकेमा कुनै पनि दलको घोषणापत्र र प्रतिबद्धतापत्रमा यसको तत्कालीन र दीर्घकालीन नियन्त्रणको योजना भने देखिँदैन ।

जिल्लाका आठवटै पालिकामा मुख्य तीन दलले उम्मेदवार बनाएका छन् । तर, उनीहरूको घोषणापत्र र प्रतिबद्धतापत्रमा बाढीबाट हुने क्षति कम गर्ने कुनै योजना छैन । बाढीबाट बच्न गर्नुपर्ने पूर्वयोजना नै छैन । जनताको जीवन र मरणसँग जोडिएको यस्तो गम्भीर विषयमा दलहरू चुकेका छन् । उनीहरूको मतदाता रिझाउन फरक चुनावी आस्वासन मात्रै बाँडिरहेको पाइन्छ ।

बाँकेमा बाढीको इतिहास हेर्ने हो भने २०७१ र २०७४ सालमा अहिलेसम्मकै ठूलो र क्षति बढी आएको तथ्यांक छ । २०७१, साउन २८ र २९ आएको बाढीमा २० जनाको मृत्यु भएको थियो । त्यतिबेलाको बाढीमा जिल्लाभर ६९,९३४ जनसंख्या प्रभावित भएको थियो । पूर्ण प्रभावित घर संख्या तीन हजार २१२ रहेको थियो भने नौ हजार १२८ घर आंशिक प्रभावित भएका थिए । यस्तै, १२ वटा विद्यालय र ६ हजार ४७९ जना विद्यार्थी गरी कुल ६९ हजार ९३४ जनसंख्या प्रभावित भएको थियो । यस्तै, जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार आठ जनाको मृत्यु हुने गरी आएको २०७४ साउन २९ गतेको बाढीबाट १६ हजार ८५९ घर संख्या गरी ९४ हजार २६२ जनसंख्या प्रभावित भएको थियो । सो बाढीमा एक हजार १२२ घर पूर्ण, १५ हजार ७३७ घर आंशिक प्रभावित भएका थिए भने कुल २१ विद्यालय र ११ हजार ३५० विद्यार्थी प्रभावित भएका थिए ।

यतिमात्र होइन जिल्ला विपद् पूर्व-तयारी तथा प्रतिकार्य योजना २०७८ (१५औँ अद्यावधिक) अनुसार बाँकेका आठ पालिकाका कुल ६२ हजार ८७३ जनसंख्या बाढीको उच्च (विनाशकारी) अवस्थामा छ । उच्च जोखिम घरधुरीको संख्या १३ हजार २२७ वटा र कुल २०८ बस्ती जुनसुकै बेलामा बाढी प्रभावित हुने अवस्थामा छन् । गृह मन्त्रालय, राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार १० हजार जनाभन्दा बढी मानिस प्रभावित वा एक हजार जनाभन्दा बढी मानिस विस्थापित वा पाँच अर्बभन्दा बढी आर्थिक क्षति हुनु उच्च (विनाशकारी) अवस्था हो ।
बाँकेमा जनसंख्याका हिसाबले राप्ती सोनारी र डुडुवा गाउँपालिका बाढीको उच्च जोखिममा रहेका छन् । यस्तै, उच्च जोखिम रहेका घरधुरीलाई आधार मान्ने हो भने, बैजनाथ र खजुरा गाउँपालिका बाढीको विनासकारी अवस्थामा छन् ।

वडागत जोखिमका आधारमा विश्लेषण गर्दा जानकीका चार, डुडुवा पाँच, खजुरा र बैजनाथका आठ/आठ (सबै), राप्ती सोनारीका नौ (सबै), नरैनापुरका ६ (सबै), कोहलपुर नगरपालिका कुल १५ मध्ये वडा नम्बर १, ३, ४, १४ र १५ बाहेक १० वटा वडा र नेपालगञ्जका कुल २३ वटा वडामध्ये वडा नम्बर १९ र २० का केही बस्ती उच्च जोखिममा छन् ।

सबैभन्दा धेरै राप्ती सोनारीमा ६५ बस्ती जोखिममा
एक उपमहानगर, एक पालिका र ६ पालिकामध्ये राप्ती सोनारीका सबैभन्दा धेरै ६५ बस्ती, डुडुवाका सबैभन्दा धेरै तीन हजार ६८२ घरधुरी र डुडुवाकै १९ हजार ८५२ जनसंख्या प्रभावित हुन सक्ने अवस्थामा छ । यसैगरी, नेपालगञ्जमा पाँचवटा बाढी प्रभावित बस्ती रहेका छन् । कुल ५१० घरधुरी बाढीको उच्च जोखिममा छन् । भने दुई हजार ५७० प्रभावित हुन सक्ने जनसंख्या रहेको छ । यस्तै, कोहलपुरमा ३१ बस्ती, दुई हजार ३४ घरधुरी र आठ हजार ८९२ जनसंख्या प्रभावित हुन सक्ने अवस्थामा छ ।

यसैगरी, बैजनाथमा कुल २२ बस्ती, एक हजार ५४० घरधुरी उच्च जोखिम र ६ हजार ९४२ जनसंख्या बाढीको विनाशकारी अवस्थामा छन् । जानकीमा कुल १८ वटा बस्ती, ३२६ घरधुरी उच्च जोखिम र दुई हजार ३१८ जनसंख्या प्रभावित हुन सक्ने अवस्थामा छ । यस्तै, खजुरामा कुल १७ वटा बस्ती, एक हजार ४६५ घरधुरी उच्च जोखिम र चार हजार ७८० जनसंख्या प्रभावित हुन सक्ने अवस्थामा रहेको प्रतिकार्य योजनामा छ । र, नरैनापुरमा कुल २४ वटा बस्ती, ३९१ घरधुरी उच्च जोखिम र दुई हजार ३९४ जनसंख्या बाढीबाट प्रभावित हुन सक्ने रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?