चोक र गल्लीमा फोहोरको डंगुर : उम्मेदवारहरू काठमाडौं सफा र सुन्दर बनाउने नारा लगाउँदै प्रचारमा

हिमालय टाइम्स
Read Time = 6 mins

गोमा खड्का/हिटा
काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन आउन अब पाँच दिन मात्रै बाँकी छ । मुलुक निर्वाचनमय भएको छ । उम्मेदवारहरू मतदाता प्रभावित गर्न घरदैलो कार्यक्रम गरिरहेका छन् । विभिन्न मुद्दा र एजेण्डा बोकेर उनीहरू घरघर पुगेर मतदातालाई मनाउन व्यस्त छन् । ठाउँ, परिवेश र अवस्था अनुसारका व्यवस्था गर्ने उम्मेदवारका प्रतिबद्धता छन् । जस्तो तराईमा डुबान र नदी कटानको समस्या समाधान गर्ने सबैजसो उम्मेदवारका प्रतिबद्धता छन् । हिमाल तथा पहाडमा मोटरबाटो, सडक कालोपत्रेलगायत मुद्दा छुट्दैनन् । यस्तै, एउटा मुद्दा काठमाडौं महानगरका सबैजसो उम्मेदवारका प्रतिबद्धता पत्रमा छन् । एउटै समस्याका थरिथरि समाधान उम्मेदवारका आश्वासन पत्रमा छन् । लाग्छ त्यो एउटा मुद्दा नउठाई यहाँ कसैले चुनाव जित्दैनन् । यहाँका सबै दल र उम्मेदवारको नारा छ, स्वच्छ, सफा, सुन्दर सहर ।

दशकौँ देखिको फोहोरको समस्या झेलिरहेका काठमाडौंवासीका लागि यसलाई चुनावी मुद्दा बनाउने कुरा नयाँ र नौलो अवश्य होइन । किनकि यही मुद्दा गत निर्वाचनमा पनि उम्मेदवारले बनाएका थिए र त्योभन्दा पहिलेकाले पनि । उनीहरूको पाँच वर्षे कार्यकाल सकियो । समस्या ज्यूँका त्यूँ छ । उनीहरू फेरि फोहोर व्यवस्थापनका योजना लिएर जनतामाझआएका छन् ।

फोहोरको थुप्रोमाथि घरदैलो गर्दै उम्मेदवार
काठमाडौं उपत्यकामा फोहोर उठ्न छोडेको दुई साता भयो । पासाङल्हामु राजमार्ग स्तरोन्नतिमा ढिलासुस्ती र लापरबाही भएको भन्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएपछि फोहोर उठ्न छोडेको हो । नुवाकोटमा रहेको सिसडोल ल्यान्डफिल साइट जाने सडक क्षेत्रका स्थानीय बासिन्दा आन्दोलनमा छन् । उनीहरूले एक हप्तादेखि सडक बन्द गरेका छन् । मुख्य सडक, चोक र गल्ली-गल्लीमा फोहोरको डंगुर थुप्रिएको छ । थुपारिएका फोहोर सडेगलेर निस्केको दुर्गन्धबाट पैदलयात्री, बटुवा लगायतलाई मात्र समस्या भएको छैन, नजिकैका सडक पसलेदेखि ठूला व्यवसायीलाई पनि खपिनसक्नु भएको छ ।

फोहोर ल्यान्डफिल साइटमा लैजान नसकेपछि महानगरले घरमै फोहोर जम्मा गर्न र सडकमा जम्मा नगर्न भनेर सार्वजनिक अपिल गरे पनि सडक र गल्लीमा फोहोरको थुप्रो लाग्न छाडेको छैन । यसअघि पनि मंसिर २८ गतेदेखि त्यहाँका स्थानीयले करिब दुई साता सडक अवरुद्ध गरेका गरेका थिए ।

अहिले काठमाडौं उपत्यकाका दुई महानगरपालिकासहित १८ पालिकाको फोहोर नुवाकोटको सिसडोलमा विसर्जन हुँदै आएको छ । उपत्यकामा दैनिक एक हजार मेट्रिक टन फोहोर उत्पादन हुन्छ । महानगरका अनुसार काठमाडौंमा दैनिक एक हजारदेखि १२ सय टनसम्म फोहोर जम्मा हुने गरेको छ ।

यस्तो फोहोरमा पनि उम्मेदवारहरू दैनिक प्रचारमा निस्किएका छन् । फोहोरकै अघि उम्मेदवारहरू नारा लाउँछन्, ‘हामी बनाउँछौँ, सफा र सुन्दर काठमाडौं ।’ तर, उनीहरूकै अघि फोहोरले गिज्याइरहेको देख्दैनन् । उम्मेदवारहरू नाकमुख छोप्दै चुनावी प्रचार गरिरहेका छन् ।

होरका गाडी पठाउन तीन सय सुरक्षाकर्मी खटाइयो
सुरक्षाकर्मीको सहयोगमा शनिबारबाट काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको काम पुनः सुरु भएको छ । स्थानीयसँगको छलफलमा सहमति नजुटेपछि काठमाडौं महानगरपालिकाको पहलमा तीन सय सुरक्षाकर्मी खटाएर फोहोर व्यवस्थापन गर्न थालिएको हो । काठमाडौं महानगरले गृह मन्त्रालयको सहयोगमा मुड्कुखोलादेखि तीन पिप्लेसम्मको सडकखण्डमा सुरक्षाकर्मी खटाएको छ ।

लामो समयसम्म सडकमै फोहोर रहँदा समस्या भएकाले सुरक्षाकर्मीको सहयोगमा व्यवस्थापन कार्य गरिएको कामपा वातावरण विभागका प्रमुख सरिता राईले बताउनुभयो । हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहोर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहोर सिसडोल लैजाने गरिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?