शिक्षा तथा स्वास्थ्य समितिमा जनक शिक्षाको स्पष्टीकरण : चुनाव र रुस-युक्रेन युद्धका कारण पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको बहाना

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले स्थानीय चुनाव र रुस-युक्रेन युद्धका कारण समयमै पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको बहाना बनाएको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बुधबारको बैठकमा केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले रुस–युक्रेन युद्धका कारण किताब छाप्ने कागज आइनपुगेकाले छाप्न ढिलाइ भएको बताउनुभएको हो । स्थानीय निर्वाचनमा होमिएकाले पाठ्यपुस्तक छाप्ने कागज ल्याउन ढिलाइ भएको उहाँको भनाइ थियो ।

यस शैक्षिक सत्रमा विद्यार्थीका लागि आवश्यक दुई करोड पाठ्यपुस्तकमध्ये ३५ लाख मात्र अब छाप्न बाँकी रहेको केन्द्रको दाबी छ । छापिएका पाठ्यपुस्तक भने जेठ ९ गते देशभरिका नौवटा डिपोबाट वितरण गर्न थालिएको प्रबन्ध निर्देशक झाले जानकारी गराउनुभयो । अबको एक हप्ताभित्र पाठ्यपुस्तक छापेर पहाडी तथा दुर्गममा किताब पुग्ने व्यवस्था मिलाएको उहाँको दाबी छ । पाठ्यपुस्तक पठाउन हिमाली र दुर्गम पहाडी जिल्लालाई प्राथमिकता दिएको उहाँको भनाइ थियो ।

कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक छाप्ने जिम्मा जनक शिक्षाले पाएको छ । त्योमध्ये कक्षा ५, ६ र ८ को पाठ्यपुस्तक अभाव देखिएको छ । छापिएका पुस्तक पनि पूरा सेटमा नहुँदा बिक्रेताले ढुवानी गरेका छैनन् । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले छापिएका पाठ्यपुस्तक तुरुन्तै विद्यार्थीको हातहातमा पुर्‍याउन निर्देशन दिनुभयो । समितिका तर्फबाट उहाँले बाँकी रहेका पाठ्यपुस्तक तुरुन्तै छाप्न केन्द्रलाई निर्देशन दिँदै केन्द्रबाट मात्रै सम्भव नभए अरू छापाखानाबाट पनि किताब छपाउन निर्देश गर्नुभएको थियो ।

यता, सांसदहरूले भने समयमै सरकारी विद्यालयहरूमा पाठ्यपुस्तकसमेत पुर्‍याउने व्यवस्था गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । पूर्व-शिक्षामन्त्रीसमेत रहनुभएका सत्तारूढ नेपाली कांग्रेसकी सांसद चित्रलेखा यादवले पाठ्यपुस्तक पु¥याउने काममा समेत गैरजिम्मेवार भएको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले सरकारी विद्यालयलाई पाठ्यपुस्तक नै समयमा दिन नसक्ने सरकारले कसरी शिक्षाको गुणस्तरमा सुधार गर्न सक्छ ? भनी प्रश्नसमेत गर्नुभयो ।

एमालेका सांसद योगेशकुमार भट्टराईले अनिवार्य र निःशुल्क शिक्षा दिने संवैधानिक व्यवस्थाको समेत धज्जी उडाउने गरी सरकारले सरकारी विद्यालयहरूमा पाठयपुस्तकसमेत समयमा पु¥याउन नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले अनेक बहाना बनाएर सरकारी निकायले पाठ्यपुस्तक विद्यालयहरूमा पु¥याउन नसकेको भनेर गैरजिम्मेवारीपन देखाउन नमिल्ने पनि स्पष्ट पार्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?