आफ्नो दल बाहेकको झण्डा र चुनाव चिन्ह प्रयोग नगर्नू : आयोग

Read Time = 5 mins

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रचारप्रसारको क्रममा आफ्नोबाहेक अन्य दलको झण्डा र चुनाव चिन्ह प्रयोग गरेको पाइए कानुनी कारबाही हुने चेतावनी दिएको छ । स्थानीय तहका उम्मेदवारहरूले आफूसँग सम्बन्ध नभएको राजनीतिक दलको झण्डा र चुनाव चिन्ह प्रचारका क्रममा प्रयोग गरेको उजुरी परेको उल्लेख गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरेर आयोगको चेतावनीबारे जानकारी गराउनुभएको हो । ‘निर्वाचन प्रचारप्रसारको क्रममा निर्वाचन आचारसंहितामा उल्लेख भएभन्दा फरक ढंगले झण्डा र चिन्ह प्रयोग गरिएमा वा मतदातालाई भ्रम सिर्जना गर्ने गरी आफू उम्मेदवार भएको दलबाहेक अन्य दलको झण्डा तथा चिन्ह प्रयोग गरिएमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको मानी कानुनबमोजिम कारबाही तथा सजाय हुने हुँदा निर्वाचन आचारसंहिता विपरीतका कार्य नगर्न÷नगराउन आयोग सबैमा आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

अन्य दलको झण्डा र चुनाव चिन्ह प्रयोग गर्नु निर्वाचन आचारसंहिता विपरीतको कार्य हुने पनि आयोगले स्मरण गराएको छ । ‘स्थानीय तह सदस्य निर्वाचनको सन्दर्भमा सम्बन्धित दल तथा सम्बन्धित दलका उम्मेदवारबाहेक अन्य उम्मेदवारहरूले समेत निर्वाचन प्रचारप्रसारको सिलसिलामा अन्य दलको झण्डा प्रयोग गरेको भनी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत आएको समाचार तथा सो सम्बन्धमा परेको उजुरीको विषयमा निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ आयोगले भनेको छ, ‘अन्य दल तथा उम्मेदवारको झण्डा र चिन्ह प्रयोग गर्नु निर्वाचन आचारसंहिता विपरीत हुने देखिन्छ ।’

एक लाख ४५ हजार उम्मेदवार
निर्वाचन कार्यतालिका अनुसार यही वैशाख ११ र १२ गते भएको मनोनयनपत्र दर्तामाथि जाँचबुझ, फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशनको प्रक्रिया पूरा भएपछि १७ गते निर्वाचन चिन्ह प्रदान गरिएको थियो । कुल ७५३ स्थानीय तहका ३५ हजार २२१ पदका लागि लागि एक लाख ४५ हजार १३ को उम्मेदवारी परेको छ । निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् भने २१ हजार ९५५ मतदान केन्द्र र १० हजार ७४३ मतदानस्थल तोकिएको छ ।

आचारसंहितामा कडाइ राजनीतिक दल तथा उम्मेदवारले निर्वाचनका बेला गर्न पाउने र नपाउने कार्य स्पष्ट रूपमा निर्वाचन आयोगको आचारसंहितामा उल्लेख गरिएका छन् । आचारसंहिता विपरीत हुने गरी कुनै स्थानमा कुनै दलको झण्डा वा चिन्ह राखिएको भए सम्बन्धित दलले तत्काल हटाउन, राजनीतिक दल वा उम्मेदवारबाट हुने कुनै पनि आमसभा, जुलुस, र्‍याली भेला, बैठक, घरदैलो, उम्मेदवारी दर्ता कार्यक्रम आदिमा र निर्वाचन अधिकृतको अनुमतिमा उम्मेदवारले प्रयोग गर्ने सवारी साधनमा तीन बाइ तीन फिट साइजको दलको एउटा झण्डा र एउटा चुनाव चिन्ह तथा उम्मेदवारको पहिचान खुलेको एफोर साइजको एक रंगमा छापिएको विवरणबाहेक अन्य कुनै सामग्री प्रयोग नगर्न/नगराउन स्मरण गराउँदै उम्मेदवारी दर्ता भएपछि यस्ता चिन्ह भेटिएमा उम्मेदवारले राखेको ठानी आचारसंहिताको उल्लंघन भएको कसुरमा दलको उम्मेदवारलाई कारबाही हुने भएकाले सचेत रहन आयोगले भनेको छ ।

जुलुस, आमसभा, र्‍याली, बैठक आदिमा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले आचारसंहिताले तोकेकोभन्दा विपरीत हुने गरी सम्बन्धित दलको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाएमा वा झोला बोकेमा सम्बन्धित व्यक्ति नै कारबाहीको भागिदार हुने भएको हुँदा यस्तो कार्यबाट सजग रहन आयोगले सबै मतदातामा अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?